• १३ साउन २०८१, आइतबार

खस्कँदो प्याराग्लाइडिङ उडान सेवा

blog

सन्तोष सुवेदी

कास्की, चैत ११ गते  । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपछि सराङकोटबाट पाँच किलोमिटर टाढाको मान्द्रेढुङ्गा पुगेको प्याराग्लाइडिङप्रतिको आकर्षण खस्किएको छ। 

सिजनको बेलामा पनि प्याराग्लाइडिङ उतिसारो लय समाउन नसकेको स्थानीय व्यवसायी बताउँछन्। प्याराग्लाइडिङ व्यवसायको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले उडान सङ्ख्या घटेको बताउनुभयो।

उहाँले प्याराग्लाइडिङ उडानका लागि सिजन भए पनि सङ्ख्यात्मक हिसाबले कम रहेको बताउनुभयो। “अहिले पर्यटन क्षेत्रमै ह्रास छ। समग्र रूपमा कोभिडपछिको सिजन पनि सिजनेबलजस्तो हुन सकेको छैन। त्यसैमाथि उडान हुने स्थान कोल्टो पर्दा कम हुन पुग्यो,’’ उहाँले भन्नुभयो। 

सराङकोटबाट मान्द्रेढुङ्गामा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सारिएपछि फस्टाउन नसकेको उहाँको भनाइ छ। “मान्द्रेढुङ्गाको आकाश प्याराग्लाइडिङको एकल (सोलो) उडानका लागि उपयुक्त भए पनि व्यावसायिक उडानका लागि भने उपयुक्त हुन सकेको छैन।

“सराङकोटमा यो बेलामा निकै राम्रो हुने ठाउँ हो तर मान्द्रेढुङ्गाबाट एक तिहाइ मात्र उडान भएका छन्,’’ उहाँले भन्नुभयो। उहाँका अनुसार अहिले दैनिक एक सयदेखि डेढ सय हाराहारीमा प्याराग्लाइडिङ उडान हुने गरेका छन्।

“केही दिनयता पोखराको मौसम पनि ठीक छैन। ३/४ बजेपछि हावाहुरी र पानी आउँदा समस्या छ,” उहाँले भन्नुभयो। पोखरामा व्यावसायिक लाइसेन्स प्राप्त ३७५ जना पाइलट छन्। 

अहिले २५० जनाले मात्र उडान गरेका छन्। “उडान कम भए पनि आधाआधीजस्तो पाइलट खाली बस्नु परेको छ। पर्यटन क्षेत्र नै खस्किएकाले अहिले उडानमा पाहुना कम भएका छन्,” उहाँले भन्नुभयो। 

उहाँका अनुसार यसमा ५४ कम्पनी आबद्ध छन्। मान्द्रेढुङ्गाको आकाशको टेकअफ प्वाइन्ट समुद्री सतहदेखि करिब १७ सय मिटर (५७०८ फिट)मा रहेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले मान्द्रेढुङ्गामा छ हजार फिटभन्दा माथि उड्न नपाउने गरी उचाइ तोकिदिएको छ। 

मान्द्रेढुङ्गाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान पामे क्षेत्रमा अवतरण गर्छन्। टेकअफपछि पूर्वतर्फ (तोरिपानी–सराङकोट) र पश्चिम (पन्चासे)तर्फ पाँच/पाँच सय मिटरसम्म मात्र आउजाउ गर्न पाउँछन्। उत्तर (सुइखेत)तिर ५० मिटरसम्म मात्र जान पाउँछन्। दक्षिणतिर (पामे)मा भने साढे चार किलोमिटरसम्म आउन पाउँछन्।