प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन नहुने स्पष्ट पार्नुभयो ।
मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले मधेश सरकारले कामकाजमा मैथिली, भोजपुरी र हिन्दी भाषालाई मान्यता दिने तयारी गरिरहेको बताउनुभएको छ। मधेश प्रज्ञा–प्रतिष्ठान मधेश प्रदेशले आइतबार आयोजना गरेको प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। “अहिले प्रदेश सरकारको कामकाजको भाषा नेपाली रहेको छ,” उहाँले भन्नुभयो, “अब मैथिली, भोजपुरी, हिन्दीसहित मधेशमा बोलिने भाषालाई कामकाज भाषाको मान्यता दिने निर्णय गरिन्छ। मधेशमा बोलिने भाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा प्रतिष्ठान अगाडि बढ्नुपर्छ।”
सामुदायिक विद्यालयका विद्यार्थीले यो वर्ष समयमै पाठ्यपुस्तक पाए पनि निजी (संस्थागत) विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक पाउनेमा अझै अन्योल छ। सप्तरीका सबैजसो सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाइसकेका छन् तर वर्षैपिच्छे विभिन्न बहानामा किताब बदलिरहने, थरीथरीका पब्लिकेसन फेरिरहने निजी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको राजविराज नगरपालिका–८ का अभिभावक लालकुमार यादवले बताउनुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिनुभएको छ ।
सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदारविरुद्ध सांसदको नेतृत्वमा चक्काजाम गरिएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङस्थित महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै कोशी प्रदेश सभा सदस्य पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय बासिन्दाले आइतबार बिहान चक्काजाम गरेका हुन्।
मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले सङ्घीय बजेटमा कृषि कार्यक्रम समावेश गराउनका लागि सङ्घको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आग्रह गर्नुभएको छ । मन्त्री कुशवाहाले आइतबार कृषिमन्त्री डा. वेदुराम भुसाललाई भेटेर सङ्घीय बजेटमा प्रदेशका लागि करिब ६.७ अर्ब रुपियाँको कार्यक्रम समावेश गर्न परियोजनासहितको विवरण बुझाउनुभएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबमोजिम कतिपय कार्यक्रम प्रदेश सरकारको बजेट सिलिङका कारण सङ्घीय कृषि मन्त्रालयको सहयोग आवश्यक रहेको मन्त्री कुशवाहाले बताउनुभयो । उहाँले करिब ६.७ अर्ब रुपियाँको कार्यक्रम सङ्घीय कृषि मन्त्रालयअन्तर्गत समावेश गर्न परियोजनाको विवरणसहित मन्त्री भुसाललाई बुझाएको बताउनुभयो ।
विश्वव्यापी समस्या बनेको जलवायु परिवर्तनको समस्या समाधानका लागि ऊर्जा रूपान्तरणमा जोड दिइएको छ। नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग जलवायु परिवर्तनमा देखिएको समस्या समाधानमा सहयोगी हुने भन्दै ऊर्जा रूपान्तरणमा जोड दिइएको हो। बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले प्रकृति रिसोर्सेज सेन्टर र डब्लूडब्लूएफको सहयोगमा आइतबार हेटौँडामा आयोजना गरेको नवीकरणीय ऊर्जासम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा खनिजजन्य इन्धनको बढ्दो प्रयोगबाट हरितगृह ग्यासको उत्सर्जनले जलवायु परिवर्तनमा प्रभाव पार्ने भन्दै नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाइएको थियो।
रामेछाप जिल्लाका दुईवटा नगरपालिका रामेछाप र मन्थली बालमैत्री नगरपालिका बनाउने लक्ष्य लिएर अगाडि बढेका छन्। जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले २०८१ जेठसम्ममा र रामेछाप नगरपालिकाले २०८१ चैतसम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य लिएका हुन्। बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ यी नगरपालिकाले ५१ वटा सूचक पूरा गर्न विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेका छन्।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल–पाकिस्तान बुद्धिस्ट रिलेसन’ नामक पुस्तक विमोचन गरिएको छ । विमोचन समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई मुलुकबीचको सम्बन्ध सुदृढ पार्न सांस्कृतिक सम्पदाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हसामीले नेपाल र पाकिस्तानबीच लामो समयदेखि सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भन्नुभयो, “श्रेष्ठको पुस्तकले यस सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु¥याएको छ ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा ९८ हजार क्विन्टलभन्दा बढी चामल ढुवानी भएको जनाएको छ । व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई लाख २३ हजार ८७१ क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि चैतसम्ममा ९८ हजार १६१ क्विन्टल मात्र ढुवानी गर्न सकेको छ । कम्पनीले २४ दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी गरेको हो ।
सङ्घीय संसद्को दुई सदनका सचिव सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आआफ्नो सदनको सचिव सिफारिस गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । संविधानको धारा १०६ मा सभामुखको सिफारिसमा प्रतिनिधि सभा र अध्यक्षको सिफारिसमा राष्ट्रिय सभा सचिव नियुक्तका लागि सिफारिस हुने व्यवस्था छ । सिफारिसअनुसार राष्ट्रपतिबाट सचिव नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा असन्तुष्टि देखिएको छ । बढुवा निष्पक्ष नभएको निष्कर्षसहित प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले राजीनामा दिनुभएको छ । अर्का प्रहरी उपरीक्षक नान्तिराम गुरुङले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाइल सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती दिनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एवं गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिका सदस्य सचिव सन्दीप भण्डारी नेतृत्वको समितिले वैशाख १५ गते १८ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गए राती [आइतबार] कम्बोडिया प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना दिनुभएको छ । श्रम अधिकार सुनिश्चितताको कामना गर्नुहुँदै उहाँले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।