प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
नेकपा (एमाले) ले गण्डकी प्रदेश सभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको २ प्रस्ताव दर्ता गराएको छ । एमाले गण्डकीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र लम्पी स्किन महामारी नियन्त्रण गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको हो ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक अघि नेताहरू पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराही छलफलमा जुटेका छन् ।
डेंगी रोग सङ्क्रमणबाट हेटौँडा उपमहानगरपालिका–१२ का एक युवकको मृत्युभएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ती युवाको बिहीबार मृत्युभएको हो ।
झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा बिहीबार दिउँसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको मृत्युभएको छ ।
कर्णाली प्रदेशअन्तर्गतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उच्च मूल्य कृषि वस्तु विकासका तत्कालीन आयोजना प्रमुख तथा सचिव राजेन्द्रप्रसाद भारीविरुद्व ९२ लाख ४३ हजार २९८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गर्नुभएको छ ।
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले पदभार ग्रहण गर्नुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।
कपनमा यज्ञमती र चखुँचाखोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौँ महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ । बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाले डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो ।
चीनमा हुने आसन्न १९औँ एसियाली खेलकुदमा चयन हुनुभएका अमिर ब्लोन पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पराजित हुनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विविधता नै देशको सम्पत्ति भएको बताउनुभएको छ । नेपालमा राज्यतहबाटै अरूमाथि गरिने असमानता कलङ्क भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाइल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेसनबाट उद्धार गरिएको हो ।