पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाप्रति सरकारलाई संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले अनुरोध गरेको छ । आयोगले शुक्रबार वक्तव्य जारी गर्दै देशका विभिन्न स्थानमा केही दिनयता भएका घटना तथा प्रदर्शनका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र ती घटनाको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरिरहेको प्रस्ट पारेको छ ।
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सकारात्मक आत्मविश्वास जगाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार कार्यभार सम्हाल्दै उहाँले अहिलेको निराशालाई आशामा बदल्न सबै क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो । “अहिलेको निराशालाई आशामा बदल्न मौद्रिक र वित्त नीतिको समन्वयको भूमिका आवश्यक रहन्छ,” उहाँले भन्नुभयो ।
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्था र कर्मचारीविरुद्ध भइरहेका गतिविधिलाई नियालिरहेको बताउनुभएको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताप्रति पनि आफू गम्भीर रहेको बताउनुभयो ।
सरकारले आगामी वैशाख १ देखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहमा दिन सकिने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वैशाख १ देखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
शुक्रवार राती ७ः३० वजे फिदिमको मेचीमार्ग अन्तर्गत कान्छी दोकानमा कार दुर्घटना हुँदा झापा नगरपालिका–१ कि १८ वर्षीया रश्मि भुजेलको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना भएको हो ।
सरकार फेरबदल तथा अर्थमन्त्री नै नहुँदा अलमलमा परेको बजेट निर्माण प्रक्रियालाई गति दिन अर्थ मन्त्रालयले समय तालिकासहितको योजना बनाएको छ । आव २०८०/८१ को बजेट निर्माणका कतिपय प्रक्रियामा ढिलाइ भएकाले मन्त्रालयले नयाँ कार्यतालिका बनाएको हो ।
सरकारले ल्याएको सहुलियत, राहत तथा अनुदानका कार्यक्रमले पर्यटन क्षेत्रलाई माथि उठाउन नसकेको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रलाई गतिशील बनाउन विशेष कार्यक्रम आवश्यक रहेको उहाँहरूले बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले विभिन्न माग र सुझावसहित पर्यटन क्षेत्रलाई उठाउन आग्रह गरेको हो । परिषद्ले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को प्रभावले पर्यटन व्यवसायमा परेको असर विकराल बन्दै गरेको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा भुक्तानी तालिका अर्को असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्न माग गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाले सबै वडाका मुख्य सडकमा सडकबत्ती जडान गर्ने भएको छ । ‘मध्यपुर उज्यालो अभियान’अन्तर्गत नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको हो । रात्रिकालीन समयमा सहजतापूर्वक आवतजावत गर्न सकिने गरी नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । अहिले मध्यपुर थिमि नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सडकबत्ती जडान गर्ने कार्य सम्पन्न भइसकेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गरी मातहतका कार्यालयलाई चुस्तदुरुस्त बनाउने बताउनुभयो । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सचिव राउतले चुनौती चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयको कार्यपद्धति व्यवस्थित गर्ने, सूचना र सञ्चार प्रविधिमा सबैको पहुँच विस्तार गर्नेसहित काम थालनी गर्ने बताउनुभयो ।
शुक्रबार मन्त्रिपरिषद् विस्तारसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ ।
कपिल ज्ञवालीसिद्धार्थनगर, चैत १७ गते । संक्रमणकालीन न्यायलाई सबैको साझा एजेण्डा बनाएर समयमै टुंगो लगाउनु पर्ने विषयमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ‘लोकतन्त्रको १७ बर्ष ः संक्रमणकालीन न्याय अलपत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो । संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा लग्न संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन दबाब सिर्जना गर्नुपर्ने वक्ताहरुले बताउनुभएको छ । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुनेगरी संक्रमणकालीन न्यायलाई निष्कर्षमा लग्नुपर्ने बताउनुभयो । संसदमा हालै प्रस्तुत संसोधन विधेयकमा संसोधन गरी मानव अधिकारमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । संस्थापक सभापति पहाडीले माओवादीको हिंसात्मक जनयुद्ध शुरु भएको दिनलाई जनयुद्ध दिवस भनी राष्ट्रिय दिवसका रुपमा लाद्नु मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको सर्वकालिन मान्यता विपरित भएको धारणा राख्नुभयो । संयुक्त राष्ट्रसंघीय मिसन “अनमिन” ले बालसैन्य भनि प्रमाणित गरेका र अयोग्य घोषित गरेकालाई करोडौ रुपियाँ आर्थिक सहयोग गर्ने सरकारी निर्णयप्रति उहाँले आपत्ति जनाउनुभयो । शान्ति समाजका सल्लाहकार गोविन्द खनालले दण्डहिनताको अन्त्य तथा हिंसाको खारेजीका लागि केन्द्रित रही शान्ति समाजको अभियान निरन्तर गरिरहेको बताउनुभयो ।
हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको दुई वटा सडक स्तरोन्नतिको क्रममा सवारी साधन सञ्चालन आवागमन बन्दगरिएको छ ।
बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ ।
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।