उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा निजी क्षेत्रबाट निर्माण गरिएको बसपार्क नभत्काउन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले पूर्व अरनिको यातायात प्रालिद्वारा निर्माण गरिएको सो बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकालाई शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । “निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नू नगराउनू भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरूलाई दिनू,” अदालतको आदेशमा उल्लेख छ । त्यसैगरी, अदालतले १५ दिनभित्र जवाफ पेस गर्न काठमाडौँ महानगरपालिकालाई भनेको छ ।
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
अमेरिकी सरकारको अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउनुहुने भएको छ। नेपालमा परियोजनाको कार्यान्वयन सुरु भएसँगै त्यसको अवस्था बुझ्न उहाँ नेपाल आउन लाग्नुभएको हो। नेपालस्थित अमेरिकी दूतावासले पाँचदिने भ्रमणमा नेपाल आउन लाग्नुभएका कार्यकारी प्रमुख एलिसले एमसिसी सम्झौताको कार्यान्वयनका बारेमा जानकारी लिने बताएको छ। सम्झौता भएको झन्डै छ वर्षपछि गत भदौ १३ गते कार्यान्वयनमा गएको हो। दूतावासले भनेको छ, “एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस ब्राइटले नेपाल–अमेरिकाबिचको द्विपक्षीय साझेदारीको खुसी मनाउन र एमसिसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको अवसरमा अर्को साता भ्रमण गर्नुहुने भएको छ।”
एचआइभी सङ्क्रमितले संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाको पहुँचबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् । स्वास्थ्य लाइभले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् । रिकभरिङ नेपालका कार्यकारी निर्देशक विष्णु शर्माले एचआइभी सङ्क्रमित नागरिक मौलिक हकबाटै वञ्चित हुनु परेको बताउनुभयो । उहाँले एक लाख ३८ हजार जना कडा खालका लागुऔषध प्रयोगकर्ता भएको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कनुहुने भएको छ। आठ दिनको चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो। संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो। न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो।
शरद ऋतुमा जारी हिमाल आरोहण गर्न यस पटक नेपालसहित ५१ देशका नागरिकले अनुमति लिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार २६ वटा हिमाल आरोहण गर्न आइतबारसम्म ५१ देशका ४३६ जनाले आरोहण अनुमति लिएका हुन्। आरोहण अनुमति लिनेमा ५६ समूहका ९४ जना महिला र ३४२ जना पुरुष रहेका छन्।
दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्धन गर्न स्पार्क कारले आयोजना गरेको स्पार्क एड्भेञ्चर २०२३ अन्तर्गत दुई सयजना बढी सहभागी शैलुङ पुगेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुभएको छ ।
सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –५ तिर्थपोलेस्थित भित्रि कच्ची सडकमा जिप दुर्घटनामा परेको हो ।
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । सदरमुकाम तम्घास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएको हो ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्यवृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्नेगरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ ।
ताप्लेजुङमा शुक्रबार दिउँसो बोलेरो जिप र मोटरसाइकल एकापसमा ठोकिँदा एकजना सख्त घाइते हुनुभएको छ । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका –७ दोखुको ऐश्वर्यचोक सडक खण्डमा जिप र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार २८ वर्षीय अनिल शेर्पा गम्भीर घाइते हुनुभएको हो ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले महिला, दलित, जनजाति, बालबालिकालगायतका पछाडि परेका वर्गका लागि आफूहरु एकजुट भएर आवाज उठाउनु पर्ने बताउनुभएको छ ।
मानव अधिकारकर्मीले मानवअधिकार रक्षकसम्बन्धी छुट्टै कानुन बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । इन्सेकद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था तथा मानवअधिकारसम्बन्धी कानुनी प्रावधान विषयक कार्यक्रममा यस्तो बताएका हुन् ।
नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।