देवराम यादव
सप्तरी, वैशाख २७ गते । तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार आगलागी हुँदा ६ परिवारका १३ घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको हो ।
शनिबार साँझ ७ बजे एक्कासि गोठबाट सल्किएको आगोले रामअवतार यादवका दुई घर र एक गोठ, जुगाई यादवका दुई घर र एक गोठ, अनिल यादव (गिरिजा) का दुई घर र एक गोठ, योगिन्द्र यादवको एक घर, राजकुमार यादवको एक घर तथा धिरेन्द्र यादवको एक घर जलेर पूर्ण रूपमा क्षति भएको स्थानीय रामनाथ यादवले बताउनुभयो ।
हनुमाननगर कंकालिनी नगरपालिका, मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको वारुणयन्त्र, को. बरसाइन प्रहरी चौकीका प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित ३० लाख रुपियाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सप्तरी प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।