• १३ साउन २०८१, आइतबार

शैलुङ पुग्यो ‘एड्भेन्चर’ टोली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्धन गर्न स्पार्क कारले आयोजना गरेको स्पार्क एड्भेञ्चर २०२३ अन्तर्गत दुई सयजना बढी सहभागी शैलुङ पुगेका छन् । 

बिहीबार धुलिखेलबाट यात्रा सुरु गरेको शुक्रबार टोली शैलुङ पुगेको हो । सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्टकीय क्षेत्र समेत हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने स्थान पनि हो । 

शैलुङको पर्यटन प्रवर्धनका साथै त्यहाँको प्रकृति र विशेषतालाई उजागर गर्न यसपटक शैलुङलाई छानेको आयोजक स्पार्क गु्रपका महाप्रबन्धक पदम पराजुलीले बताउनुभयो । प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । 

शैलुङ पुगेको टोलीलाई संस्कृतिअनुसार स्वागत गरिएको थियो । चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको वाइल्ड स्टे विथ चौंरी राखिएको छ । 

कार्यक्रममा प्रसिद्ध कलाकार, लेखक तथा गायकको सहभागीता रहेको संयोजक अमर दीप भट्टराईले जानकारी दिनुभयो । त्यस्तै प्रशासनिक एवम् सुरक्षा निकायका अधिकारी समेत सहभागी रहेको उहाँले जानकारी दिनुभयो । 

गत वर्ष लमजुङको भुजुङमा भिरमौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।