राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ केन्द्रबिन्दु बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।
नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै गएको छ । धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि कफ्र्यु लगाएको छ । अवस्थामा सुधार आए पनि बुधबार कफ्र्यु भने हटाइएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार अपराह्न ३ बजेसम्म केही छिटपुट घटना भए पनि त्यसयता कुनै पनि घटना नभएको र नगर शान्त तथा सामान्य अवस्थामा फर्कंदै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले नगरको अवस्था शान्त र सामान्य बन्दै गएको जनाउँदै कफ्र्युको पालना गर्न र घरमै बस्न आमनागरिकसँग आग्रह गरिएको बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागले आज [बिहीबार]देखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट सङ्कलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएको छ । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा जानुभएको बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँको स्वयम्भूबाट आज थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
राष्ट्रिय सुरक्षा परिषद बैठकले अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणसम्बन्धी समीक्षा गरेको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले सो समीक्षा गरेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सर्पले डसेका दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
रुपन्देहीको लुम्बिनीमा खर्चिलो उपचारका रूपमा रहेको घुँडाको निःशुल्क प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।
अग्निसाइर कृष्णासवरण गाउँपालिकाको आयोजनामा थारू महिलाले जितिया पर्वको अवसरमा बुधबार ओट्घन ( उपवास बस्ने महिलाले खाने दर) कार्यक्रम आयोजना गरेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सरकारले रोगगारीको अवस्था सिर्जना गर्न नसकेको बताउनुभएको छ ।
नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उहाँहरूले दुई देशबिचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्याइ आधिकारिकता दिनुपर्ने भनाइ राख्नुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जोसुकैलाई कारबाही गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङमा साढे चारसय कुकुर र बिरालोलाई रोविजविरुद्धको खोप र भिटामिन खुवाइएको छ । दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) को संरक्षण गर्न कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको हो ।