ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् ।
बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ ।
इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।
जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको चिल्दा दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।
बाँकेको पसरपुर–गौघाट सडक खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ । सडक निर्माणको ठेक्का पाएको कनकाई–गणपति जेभिले सुरुवती चरणका काम सकिएको जानकारी गराएको हो ।
झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ देखि ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताउनु भयो ।
पर्वतको पैयुँ गाउँपालिकामा लगाइएको धान खेती वाला लागेसँगै ढलेर सोतर बनेपछि कृषक मर्कामा परेका छन् । कृषकले पालिकाले अनुदानमा उपलब्ध गराएको खुमल चार जातको धानको बिउँ करिब १५ हेक्टर जमिनमा रोपेका थिए ।
नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा रोजगारी नहुँदा युवा विदेश पलायन भइरहेको बताउनुभएको छ । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभएका खनालले आइतबार समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा पलायन हुनु मुलुकका लागि ठिक नभएको बताउनुभयो ।
चाडपर्वमा आवतजावत गर्ने यात्रुलाई सहयोग गर्नका लागि कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले शनिबारदेखि कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा र तौलिहवामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अनिष भण्डारीले दसैँतिहारमा घरमा आउने र जाने यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पु¥याउन र नागरिकमा पर्ने समस्यामा सहयोग गर्न कक्ष स्थापना गरिएको बताउनुभयो ।
भूमिसुधार तथा मालपोत कार्यालयमा जग्गाको मोही हक नामसारीसम्बन्धी उजुरी बढेका छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा एक हजार ५२८ उजुरीमध्ये ३०६ वटा फस्र्योट भएको जनाइएको छ । तीमध्ये एक हजार २२२ उजुरी बाँकी रहेका छन् । मोही बाँडफाँटमा पनि ३७० मुद्दा फस्र्योट गर्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै १०८ वटा मोही हक नामसारी मुद्दामा ३९ वटा फस्र्योट भएको देखिएको छ ।
पोखरा महानगरका मुख्य चोकमा यही वर्षभित्र ट्राफिक बत्ती बल्ने भएका छन् । मुख्य चोकमा हाइमास्ट बत्ती र बजार क्षेत्रमा स्मार्ट बत्ती राखिएको महानगरमा झन्डै दुई दशकपछि ट्राफिक बत्ती बल्न लागेका हुन् । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले पोखराका पाँच चोकमा ट्राफिक जडान गरेको छ । शाखाकी इन्जिनियर सिना अवालले जडानको काम करिब सकिएको र मङ्सिरभित्रै ट्राफिक बत्ती बल्ने बताउनुहुन्छ ।
पर्वतको बिहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठेगाईको संरक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिँदै आएको छ । घरमा पालेको स्थानीय गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिने गरिएको हो । गाई सुत्केरी हुँदा गाईपालक कृषकलाई दुई हजार पाँच सय रुपियाँ दिइने पालिकाको पशु शाखामा कार्यरत कर्मचारी मनोज बैठा बताउनुहुन्छ । उहाँका अनुसार बिहादी पालिकाभरिका किसानले पालेका काठेगाईलाई स्थानीय जातका साँढेबाट प्रजनन गराएर सुत्केरी बनाएमा सुत्केरी स्याहार भत्ताबापत उक्त रकम दिने गरिएको हो । पशु शाखाका अनुसार यस्ता गाईको सङ्ख्या ४५० छ ।
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् । हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
माथिल्लो मुस्ताङका स्थानीयवासीलाई चिनियाँ भूभागमा जानका लागि अनुमतिपत्र वितरण गर्न लागिएको छ । चीनको भूभाग कोरला नाकामा आवतजावतमा सहज बनाउन अनुमतिपत्र (पास) वितरण गर्न लागिएको हो । मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुमतिपत्र वितरण सुरु गर्ने भएको छ। कोरोना महामारीका कारण चीनले चार वर्षअघि नाका पूर्ण रूपमा बन्द गरेको थियो । अनुमतिपत्र लिएर सीमा क्षेत्रका दुई गाउँपालिकाका स्थानीय कोरला नाका आवतजावत गर्न पाउने भएका छन् । लोमान्थाङ र लो–घेकरदामोदरकुण्ड गाउँपालिकाका स्थानीयवासीले मात्रै जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको अनुमतिपत्र लिएर चीनतर्फको ३० किलोमिटरसम्म जान पाउने व्यवस्था गर्न लागिएको हो ।