मुलुकमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ असार मसान्तसम्म नेपालमा ५७ देशको दुई खर्ब ६४ अर्ब लगानी भित्रिएको छ । जसमा सबैभन्दा धेरै भारतको ८८ अर्ब ५९ करोड रहेको छ । दोस्रोमा चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एउटै व्यक्तिको कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरेको छ । सोमबारबाट सुरु गरिएको प्रत्यारोपण मङ्गलबार बिहान सम्पन्न भएको छ । अस्पतालका मेडिकल निर्देशक सुरज बज्राचार्यले १८ घण्टाभन्दा बढी समय लगाएर एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा यो शल्यक्रिया इतिहासमै पहिलो पटक र दुर्लभ भएको दाबी गर्नुभयो ।
इन्जिनियरिङमा स्नातक गरेका छ हजार २३ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेका छन् । नेपाल इन्जिनियरिङ परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स फाराम खुला गरेको थियो । परीक्षा आगामी मङ्सिरमा सञ्चालन गरिने छ । परिषद्का रजिष्ट्रार शिवमङ्गल गिरीले आवेदकको प्रमाणपत्र छानबिन गर्न बाँकी रहेको र अन्तिम नामावलीपछि प्रकाशित गरिने बताउनुभयो । विगतमा आवेदन दिएकाजतिलाई लाइसेन्स उपलब्ध गराउने गरिएकोमा गत वर्षदेखि परीक्षा नै सञ्चालन गर्न लागिएको हो । परिषद्ले यो तेस्रो पटक लिखित परीक्षा सञ्चालन गर्न लागेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत १० दिनदेखि विभिन्न माग राखी काठमाडौँमा आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्ता र संवादमा आउन आग्रह गरेको छ। स्थानीय तहका कर्मचारीको माग छलफल गरी निकास निकाल्न मन्त्रालय तयार रहेको मन्त्रालयद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र आन्दोलनरत कर्मचारीका प्रतिनिधिबिच कर्मचारीको माग र मुद्दाबारे अनौपचारिक रूपमा छलफल भएको भन्दै मन्त्रालयले स्थानीय तहका माग र मुद्दा सम्बोधन गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।
जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान ।
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र इजरायलका विदेश मामिला मन्त्री एली कोहेनबीच आज सम्पर्क टेलिफोन वार्ता भएको छ ।
यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ ।
दशैँ, तिहार, छठपर्वको आगमनसँगै देशको प्रमुख व्यापारीक केन्द्र महाबौद्धमा निकै चहलपहल बढेको छ ।
गुल्मीमा मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी महिला परेका छन् ।
कैलालीको टीकापुरमा आहारा खाएर एक किसानको खेतमा बसेको दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ ।
प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले नेपालगञ्जमा रहेको प्रहरीको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको अनुगमन गर्नुभएको छ ।
गोरखाको भिमेसन थापा गाउँपालिकामा स्वास्थ्यकर्मीले घर–घरमा गएर स्वास्थ्य परीक्षण गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने ज्येष्ठ नागरिक, अशक्त र अशक्त बालबालिकालाई निःशुल्क चेकजाँच सेवा सुरु गरेका हुन् ।
इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही काम हुन सकेको छैन ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपमा नेपालले मंगलबार आयोजक श्रीलङ्कासँग २६–२४, २५–१८ र २५–१६ ले पराजित भएको छ ।