काठमाडौँ, असोज २४ गते । मुलुकमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ असार मसान्तसम्म नेपालमा ५७ देशको दुई खर्ब ६४ अर्ब लगानी भित्रिएको छ । जसमा सबैभन्दा धेरै भारतको ८८ अर्ब ५९ करोड रहेको छ । दोस्रोमा चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
आव २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको आधारमा राष्ट्र बैङ्कले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन तयार गरेको थियो ।
सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार नेपालमा आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई दुई खर्ब ६४ अर्ब ३३ करोड पुगेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चित ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।
नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्यौगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको सर्वेक्षणले देखाएको छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको छ । वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा ३२७ परियोजना मार्फत ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
आव २०७८/७९ मा २९३ परियोजनामार्फत ५३ अर्ब ९० करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष विश्वभर देखिएको आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको विभागले जनाएको छ ।
विभागका अनुसार सुरुदेखि हालसम्म चार खर्ब ५६ अर्ब ३८ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । वैदेशिक लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको बताइएको छ ।