म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ [उत्तरी] आधार शिविरमा शरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको शरद्याममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।
मौरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका–३, जाबुनेमा खिमा पुनले मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको छ । परम्परागत रूपमा मुढे घारमा मौरी पाल्दै आउनुभएका पुनले केही वर्षअघिदेखि आधुनिक घारमा मौरीपालन गर्न थाल्नुभएको हो ।
जापानका कलाकार क्योयुको रिकोले चित्रकलामा अन्नको प्रयोगले रङ भर्नुभएको छ । जुन कला धेरैका लागि आकर्षणको केन्द्र बन्न पुग्यो । उहाँले धानका एकनासका दानालाई रङ्गाएर जापानी महिलाले प्रयोग गर्ने परम्परागत पहिरन, कुखुराको भाले, फुजी हिमाल बनाउनुभएको छ । त्यसै गरी सोही माध्यमबाट रिकोले जापानी गाउँको परम्परागत घर, प्राकृतिक सुन्दरताले सम्पन्न गाउँबस्तीको निक्कै आकर्षक चित्र बनाउनुभएको हो ।
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबारनै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्नु भएको चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहूर्त गरी छायाङ्कन सुरु भएको हो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन हुने छ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको हो ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गायक राजेश बर्देवा र गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रियकुमारको सङ्गीत रहेको गीतको एरेन्ज केशव बडूले गर्नुभएको हो । गीतको भिडियोमा अभिनेतृ प्रियङ्का कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ ।
दसैँको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकबाट एक करोड ८५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । असार १६ देखि असोज १६ सम्म निकुञ्ज प्रवेश रोक लगाएर खुलेलगत्तै जङ्गल सफारीबाट राजस्व सङ्कलन गर्न सफल भएको हो । दसैँमा निकुञ्ज प्रवेश गर्ने वृद्धि भएसँगै राजस्व बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म निकुञ्ज प्रवेश गर्नेबाट एक करोड ८५ लाख ४४ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको हो । विदेशी पर्यटकबाट मात्रै एक करोड २० लाख रुपियाँ सङ्कलन भएको छ । यस अवधिमा छ हजार ४८ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रमा सुधार आउँदै गरेको उल्लेख गर्नुभएको छ । नेपाल जनसम्पर्क समिति लन्डनले बेलायतमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रको सुधारसँगै लगानीको वातावरणमा समेत सुधार आएको बताउनुभएको हो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ ।
देशभरका ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ०.५ प्रतिशत घर एक सय वर्षभन्दा पुराना भएको पाइएको छ । देशभरमा रहेका पक्की र कच्चीसहितका उक्त घरमध्ये ३९ हजार ६७६ घर एक सय वर्षभन्दा बढीका रहेका छन् । ती घरलाई पुराना घरको रूपमा हेरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाउँघरमा घरायसी रूपमा उत्पादन हुने आयुर्वेदिक औषधीमा अत्यधिक सिसा (लिड) को प्रयोग हुने बताएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आयुर्वेदिक औषधी प्रयोग गर्ने बिरामीको रगतमा लिड (सिसा) को अत्यधिक मात्रा हुने सूचना प्रकाशित भएपछि आयुर्वेदतर्फका चिकित्सकले त्यसको विरोध गरेका थिए ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ ।
जिल्लाको बडीमालिका नगरपालिका –८ रापकमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको अवलोकन गर्नुभएको छ ।