खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा ९८ हजार क्विन्टलभन्दा बढी चामल ढुवानी भएको जनाएको छ । व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई लाख २३ हजार ८७१ क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि चैतसम्ममा ९८ हजार १६१ क्विन्टल मात्र ढुवानी गर्न सकेको छ । कम्पनीले २४ दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी गरेको हो ।
सङ्घीय संसद्को दुई सदनका सचिव सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आआफ्नो सदनको सचिव सिफारिस गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । संविधानको धारा १०६ मा सभामुखको सिफारिसमा प्रतिनिधि सभा र अध्यक्षको सिफारिसमा राष्ट्रिय सभा सचिव नियुक्तका लागि सिफारिस हुने व्यवस्था छ । सिफारिसअनुसार राष्ट्रपतिबाट सचिव नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा असन्तुष्टि देखिएको छ । बढुवा निष्पक्ष नभएको निष्कर्षसहित प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले राजीनामा दिनुभएको छ । अर्का प्रहरी उपरीक्षक नान्तिराम गुरुङले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाइल सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती दिनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एवं गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिका सदस्य सचिव सन्दीप भण्डारी नेतृत्वको समितिले वैशाख १५ गते १८ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गए राती [आइतबार] कम्बोडिया प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना दिनुभएको छ । श्रम अधिकार सुनिश्चितताको कामना गर्नुहुँदै उहाँले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाले विद्यालयको चिह्न र नाममा एकरूपता नल्याए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले मौलिक र मापदण्डअनुरूप रहन सबै विद्यालयलाई आग्रह गर्दै नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने चेतावनी दिनुभएको हो ।
आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइका लागि आइतबार कागज खरिदका लागि टेन्डर आह्वान भएको छ । जनक शिक्षा सामग्री केन्द्रले पहिलो चरणमा तीन हजार मेट्रिक टन कागज खरिदका लागि टेन्डर आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले विगतमा नयाँ शैक्षिक सत्रका लागि साउन–भदौतिर मात्र कागज खरिदको प्रक्रिया थालिने गरेको बताउँदै भन्नुभयो, “२०८१ को शैक्षिक सत्रका लागि आगामी जेठदेखि पाठ्यपुस्तक छपाइ कार्य सुरु गर्दै छौँ । सरकारले कक्षा १–१२ कै छपाइको जिम्मा हामीलाई दिएमा त्यो अभिभारा पूरा गर्न सक्छौँ ।”
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हितको संवर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ ।
राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो।
लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा परेको हो। आयोगले दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्दै यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने भएको हो।
भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्कनु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका माग राज्यका लागि निकै हितकर भएको जनाउँदै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधिमाथि ह्याट्रिक गरेको हो ।