सिराज खान
नेपालगन्ज, कात्तिक २७ गते । बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ ।
प्लाष्टिकका माला बिक्रीमा रोक लगाइए पनि अटेरी गरेर बिक्री गरिरहेको पाइएपछि प्रहरीले विभिन्न ठाउँमा छापा मारेर डेढ लाख रुपियाँभन्दा बढीको माला प्रहरीले जफत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले प्लाष्टिकका माला बिक्री नगर्न नगराउन रोक लगाइए पनि अनुगमन गर्दा बिक्री गरिएको पाइएपछि खजुरा र नेपालगन्जका विभिन्न स्थानबाट अवैध डेढ लाख बढीका प्लाष्टिकका माला जफत गरिएको बताउनुभयो ।
उहाँले कोहलपुरमा पनि खुला रुपमा बिक्री भइरहेको सूचना आएकोले त्यहाँबाट पनि प्रहरीले अवैध माला जफत गर्ने बताउनुभयो ।
स्थानीय रुपमा व्यवसायिक तरिकाले उत्पादन गरिएको विभिन्न फुलका माला प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सहजताका लागि प्लाष्टिकका मालाको प्रयोग बढ्दै गएपछि गाउँघरमा उत्पादन गरिएका प्राकृतिक फूलका मालाहरुको बिक्री कम हुँदै गएको थियो । सोही कारणले कृत्रिम मालाको विक्रिमा रोक लगाइएको हो ।
यसैबिच कोहलपुर नगरपालिकाभित्र पनि प्लाष्टिकका माला बिक्रीवितरणमा रोक लगाइएकोमा खुल्लमखुला बिक्री भइरहेको पाइएको स्थानीयले जनाएका छन् ।
कोहलपुर बजारका न्युरोड, एनटिभी रोड, साझा चोक, गोलपार्कलगायत गल्ली–गल्लीसम्म प्लास्टिक मालाहरू व्यापारीहरूले निर्बाध रूपमा बिक्री गरिरहेको कोहलपुर ११ का सुरेश थापाले बताउनुभयो । उहाँले प्लाष्टिकका माला विक्रि गर्न प्रतिबन्ध लगाएको सूचना मात्र निकालेर औपचरिकता पूरा गरिएकाले बजारमा विक्री नरोकिएको बताउनुभयो ।
उता, इलाका प्रहरी कार्यालय कोहलपुरले भने सो बारेमा अनुगमन गरिरहेको जनाउँदै प्लाष्टिकका माला जफत गरिने जनाएको छ ।