• १ जेठ २०८३, शुक्रबार

आर्थिक रूपान्तरणको नेतृत्व अब बेसले गर्छ : पूर्वमुख्यमन्त्री चौधरी

blog

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, जेठ १ गते ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अब समुदायको आर्थिक रूपान्तरणमा बेस (ब्याकवार्ड सोसाइटी एजुकेशन)ले नेतृत्व गर्ने बताउनुभएको छ ।

बिहीबार दाङको दंगीशरण गाउँपालिका–३ चखौरामा आयोजित बेस संस्थाको ३१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले बेसका कार्यक्रम समुदायको आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

बेसले संगठन विस्तार गरेका विभिन्न जिल्लाका करिब पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी साधारणसभामा बोल्दै बेसका संस्थापक अध्यक्षसमेत रहनुभएका चौधरीले शिक्षाको अन्धकारबाट थारू समुदायलाई उज्यालोतर्फ डोर्‍याउन जन्मिएको बेसले एउटा युग पार गरिसकेको बताउनुभयो । उहाँले अबको रणनीति समुदायको आर्थिक रूपान्तरण हुनुपर्ने धारणा राख्नुभयो ।

“बेस एउटा सामाजिक संस्थामात्र नभई शैक्षिक अभियानबाट जन्मिएको सामाजिक आन्दोलनको हिस्सा हो । शिक्षासँगै कमैया–कम्लहरी मुक्ति र बालश्रमविरुद्धको आन्दोलनबाट जन्मिएको बेसले एउटा युग पार गरिसकेको छ,” उहाँले भन्नुभयो, “अब समुदायको आर्थिक रूपान्तरणको समय आएको छ । बेस अब घरघरमा आर्थिक रूपान्तरणका कार्यक्रम र नारासहित पुग्नेछ ।”

उहाँले थारू समुदायको सभ्यता जोगाउँदै परम्परागत सीप, मौलिक कला, संस्कार र संस्कृतिलाई व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आदिवासी समुदायका परम्परागत सीपको विश्वबजारमा माग बढ्दै गएको उल्लेख गर्दै उहाँले नेपालका आदिवासी तथा थारू समुदायका सीप र कलालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्ने बेला आएको बताउनुभयो ।

“हामी अब थारूसहित नेपालका आदिवासी समुदायका परम्परागत सीप र कलालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीति बनाइरहेका छौँ,” उहाँले भन्नुभयो, “त्यसका लागि सरकारले पनि आवश्यक नीति निर्माण गर्नुपर्छ ।”

उहाँले समुदायका अगुवाले परम्परागत सीप र कलालाई कसरी व्यवसायिक बनाउने भन्ने विषयमा समुदायस्तरमै सचेतना फैलाउनुपर्नेमा पनि जोड दिनुभयो ।

त्यस्तै, कुनै समय बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय अभियानमा सक्रिय रहेको बेसको अबको अर्को दायित्व ‘बालविवाहमुक्त नेपाल’ निर्माण रहेको पनि उहाँले बताउनुभयो । सभ्य समाज निर्माणका लागि बेसले बालविवाहविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

“बालविवाह कुनै व्यक्तिको मात्रै नभई सिंगो देशकै भविष्यको विनाश हुन सक्छ । त्यसैले बालविवाह सामाजिक कलंकमात्र होइन, कानुनी अपराध पनि हो,” उहाँले भन्नुभयो, “नेपाललाई बालविवाहमुक्त बनाउन सबै समुदाय यो अभियानमा जोडिनुपर्छ ।”

त्यसैगरी, उहाँले मुक्त कमैयाको दिगो सामाजिक तथा आर्थिक पुनःस्थापनाको काम अझै अधुरो रहेको बताउनुभयो । “बेसको सुरुआती आन्दोलनको बाँकी कार्यमध्ये मुक्त कमैयाको दिगो सामाजिक र आर्थिक पुनःस्थापना पनि एक हो । यो काम अझै पूरा हुन बाँकी छ,” उहाँले भन्नुभयो, “राज्यले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । अब मुक्त कमैयाको दिगो व्यवस्थापन हुनैपर्छ र बेस यस अभियानमा अझ सशक्त रूपमा लाग्नेछ ।”

कार्यक्रममा बेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष यज्ञराज चौधरी, बेस पूर्वी रुकुम जिल्ला समितिका अध्यक्ष कृष्णबहादुर बुढा, पश्चिम रुकुमका अध्यक्ष दशरथ नेपाली, कञ्चनपुर जिल्ला समितिका अध्यक्ष हवल्दार चौधरी, कैलाली जिल्ला अध्यक्ष रामप्रसाद चौधरी, बर्दिया जिल्ला अध्यक्ष शालिकराम चौधरी, नेपालमा बालबालिकाका लागि अधिकार (जेआरसिएन) का अध्यक्ष चन्द्रबहादुर चौधरी, पत्रकार सुशील बस्नेत, थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरी, बेसका कार्यक्रम निर्देशक पिंकी डाँगी तथा मुक्त कमैया समाजका तर्फबाट भागीराम चौधरीलगायतले शुभकामना तथा सुझाव मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाले महासचिव लोकजन चौधरीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजेश चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो । बेसका उपाध्यक्ष डुफुलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले गर्नुभएको थियो ।