आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
मुलुकको आर्थिक मन्दीको मारमा कालीकोट पनि परेको छ । पछिल्लो समय कालीकोट सदरमुकाम मान्मको व्यापार घट्दा व्यापारीहरू भाडाका सटर छोड्न थालेका छन् । मुख्य बजारका सटरको भाडा मासिक १५ देखि २० हजारसम्म छन् । भाडा तिर्न नसकेर व्यापारीले सामान बोरामा थन्क्याएर सटर खाली गर्न थालेका छन् ।
बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेर बोटबाट झर्न थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन् । पुतलीबजारका मुक्ति अधिकारीले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गर्न तयार पारेका बेला औँसे किराका कारण बोटबाट झर्न थालेको बताउनुभयो । गत वर्ष राम्रो आम्दानी गरेको तर यसपालि कम फलेका छन्, त्यसमा पनि किरा लागेर बोटबाट झर्न थालेपछि चिन्ता बढेको उहाँले बताउनुभयो । उत्पादन लिने बेलामा पतेरोले समेत असर गरेको भन्दै यसअघि साउन र भदौमा विषादी प्रयोग गरेर जोगाइएको सुन्तला फेरि झर्न थालेको अर्का कृषक हुमकान्त अधिकारीले बताउनुभयो । उहाँले सुन्तलाको बिमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।
महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङका लागि कारखाना सञ्चालनको तयारी गरिरहेका बेला किसानहरू मूल्य वृद्धिको अडानमा रहेका छन् । एभरेस्टले आउँदो मङ्सिर २५ देखि उखु क्रसिङ गर्न प्राविधिक एवं प्रशासनिक तयारी गरेको जनाएको छ । मूल्य वृद्धिको अडानमा रहेका कृषकले भने निर्धारित समयमा मिल सञ्चालन हुनेमा आशङ्का गरेका छन् । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले मिलका तर्फबाट क्रसिङको औपचारिक जानकारी गराइए पनि कृषकले भने उखु दिने नदिने विषयमा निर्णय गरिनसकेको बताउनुभयो ।
कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ । नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष) को नाममा जमिनको स्वामित्व रहेका छन् तर यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य र सामरी उत्थान सेवाको आयोजनामा बिहीबारबाट ‘जातव्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ प्रदर्शनी सुरु भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
चलचित्र ‘रङ्गेली’ को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’ का रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागुु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १६० रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
ललितपुर महानगरपालिकाले महानगर उज्यालो अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्ने कार्य विस्तार गरेको छ । महानगरभरि नै रात्रिकालीन समयमा सहज रूपमा आवतजावत गर्न सकिने गरी महानगरपालिकाले सडक बत्ती विस्तार गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । बिहीबार महानगरपालिका वडा नं २५ स्थित भैँसेपाटीमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा सडक बत्तीको उद्घाटन गर्नुभयो । उक्त सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरेसँगै अब महानगरपालिकाभित्र स्मार्ट सडक बत्तीको सङ्ख्या दुई हजार ७९ वटा पुगेको महानगरपालिकाले जनाएको छ ।
चिसो बढेको र त्रिपालमुनि बसेका भूकम्पपीडितलाई साथ दिन विभिन्न राजनीतिक दलनिकट नेता, कार्यकर्ता प्रभावित क्षेत्रका गाउँमा केन्द्रित भएका छन् । स्वयम्सेवक बनेर गाउँ पुगेका उनीहरू यतिबेला भूकम्पले भत्काएका र चर्किएका घरको व्यवस्थापन गर्नेदेखि अस्थायी आवास निर्माणका काममा सक्रिय छन् । भूकम्पबाट प्रभावित रुकुमपश्चिमको आठबिसकोट, सानीभेरी र चौरजहारी क्षेत्रमा यतिबेला विभिन्न दलका सयौँ स्वयम्सेवक परिचालन भएका छन् ।
भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न महाराष्ट्र सरका तयार रहेको बताउनुभएको छ ।
भिरबाट लडेर घाइते हुनुभएको एक जनाको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ ।