नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नयाँ आर्थिक वर्षका लागि वडा तथा बस्ती स्तरबाट योजना छनोट प्रक्रियालाई स्थानीयवासीले कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन्। स्थानीय तहले नयाँ आर्थिक वर्षका लागि बस्ती, वडा हुँदै नगर स्तरबाट सुझाव सङ्कलन गरेको थियो। तर कतिपय पालिकाले बस्ती स्तरबाट आएका योजनाभन्दा जनप्रतिनिधि र राजनीतिक दलको पहुँचका आधारमा योजना हाल्ने गरेको स्थानीयको आरोप छ। गौरीगङ्गा नगरपालिका–९ का हरिप्रसाद तिवारीले जनताले योजना छनोटमा चासो दिन छाडेको बताउनुभयो। जनप्रतिनिधिले योजना छनोटको प्रक्रियालाई कर्मकाण्डी बनाएपछि यस्तो समस्या देखिएको भनाइ उहाँको छ।
सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा जुटेको छ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हो। सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ। आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ।
बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले प्रहरी कर्मचारीहरू आफैँमा समस्या बन्न नहुने बताउनुभएको छ। प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन दिने क्रममा रुकुमपश्चिम आइपुग्नुभएका डिआइजी ढकालले राम्रो कामको फल राम्रै हुने भएकाले प्रहरीले असल नियतका साथ काम गर्न निर्देशन दिनुभयो।
बारेकोट गाउँपालिकाले यस पालिकाभित्रका गर्भवती महिलालाई निःशुल्क रूपमा अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। आर्थिक अभावका कारण अल्ट्रासाउन्ड सेवा नपाएका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेको हो। गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख रामबहादुर रोकायले महिलाको स्वास्थ्य तथा आर्थिक अवस्था हेरी निःशुल्क अल्ट्रासाउन्ड सेवा दिन थालेको बताउनुभयो।
तनहुँको भानु नगरपालिका–२ का बासिन्दा वर्षौंदेखि खानेपानीको अभाव भोगिरहेका छन्। खानेपानीको समस्या समाधान गरिदिन पटक पटक सरकारी निकाय धाएको भए पनि उनीहरूको माग पूरा भएको छैन। सो वडाका अम्बोटे, भकुन्थोक, कालीमाटी र बाह्रबिसेका बासिन्दा एक ग्राग्री पानी लिन एक घण्टा समय खर्च गर्नुपर्ने बाध्यतामा रहेका छन्।
कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
सेयर बजारले बुधबार पनि सुधारकै निरन्तरता पाएको छ । साढे दुई हजार पछ्याएको परिसूचकलाई साथ दिँदै कारोबार रकम पाँच अर्ब नाघेको छ । बुधबार सेयर बजारमापक नेप्से परिसूचक १६.४२ अङ्कले उकालो लागेर दुई हजार ३७.०६ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.८२ अङ्कले उकालो लागेर ३८३.६९ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा चौथो दिनको नेप्से ०.८१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले उकालो लागेको छ ।
तनहुँका सबै पालिकामा गाई, भैँसीमा फैलिएको ‘लम्पी स्किन’ रोग महामारीलाई नियन्त्रण गर्न पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो । रोगले महामारीको रूप लिन थालेपछि किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काम भइरहेको र तीन हजार एक सय पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइसकिएको केन्द्रले जनाएको छ । जिल्लाका १० वटा पालिकामध्ये आठ वटा पालिकामा पशुलाई खोप लगाइसकिएको छ । अन्य दुई वटा पालिकामा समेत खोप लगाउने काम तीव्र रूपमा भइरहेको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई अत्याधुनिक तरिकाले खेती गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कृषि उत्पादनलाई वृद्धि गर्ने अभियानका साथ किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता बिसीले संयुक्त रूपमा किसानलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गर्नुभयो ।
सप्तरीको विभिन्न सडकमा डिपो झैँ बालुवा, गिट्टी थुपारेपछि दुर्घटनाको जोखिम अत्यधिक रहेको स्थानीय बासिन्दा बताउँछन् । राजविराज नगरपालिकाको विभिन्न ठाउँका सडकमा बालुवा, गिट्टी डिपो झैँ थुपारिएपछि दुर्घटनाको जोखिम रहेको स्थानीय हरेराम यादवले बताउनुभयो । राजविराज नपा–१० स्थित बिरौल चोक, खाँडो पुल चोकको बिच सडकमै बालुवा, गिट्टीको डिपो सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहेको छ ।
सप्तरीको हुलाकी लोकमार्ग अन्तर्गत राजविराज–कन्चनपुर सडकखण्डको खाँडो नदीको पुल निर्माण सम्पन्न भएको पाँच वर्ष नबित्दै उप्किन सुरु भएको छ । नेपाल सरकारको कुल १० करोड रुपियाँको लागतमा अरुण लामा जेभी कन्स्ट्रक्सनले बनाएको पुल पाँच वर्ष नपुग्दै उप्किन सुरु भएको हो । निर्माण गरिएको पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आरोप छ । पुलको गुणस्तरहीन काम ढाकछोप गर्न ठाउँ ठाउँमा सिमेन्टको घोल हालेको स्थलगत रूपमा स्पष्टै देखिएको नेकपा (माओवादी केन्द्र) का नेता दीपेन्द्र माझीको आरोप छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बुधबार कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कोशी प्रदेश सभामा उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा सरकारले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिकमैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्ने तथा विपत् व्यवस्थापनका लागि अन्तरनिकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए ।