बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले प्रहरी कर्मचारीहरू आफैँमा समस्या बन्न नहुने बताउनुभएको छ। प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन दिने क्रममा रुकुमपश्चिम आइपुग्नुभएका डिआइजी ढकालले राम्रो कामको फल राम्रै हुने भएकाले प्रहरीले असल नियतका साथ काम गर्न निर्देशन दिनुभयो।
बारेकोट गाउँपालिकाले यस पालिकाभित्रका गर्भवती महिलालाई निःशुल्क रूपमा अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। आर्थिक अभावका कारण अल्ट्रासाउन्ड सेवा नपाएका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेको हो। गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख रामबहादुर रोकायले महिलाको स्वास्थ्य तथा आर्थिक अवस्था हेरी निःशुल्क अल्ट्रासाउन्ड सेवा दिन थालेको बताउनुभयो।
तनहुँको भानु नगरपालिका–२ का बासिन्दा वर्षौंदेखि खानेपानीको अभाव भोगिरहेका छन्। खानेपानीको समस्या समाधान गरिदिन पटक पटक सरकारी निकाय धाएको भए पनि उनीहरूको माग पूरा भएको छैन। सो वडाका अम्बोटे, भकुन्थोक, कालीमाटी र बाह्रबिसेका बासिन्दा एक ग्राग्री पानी लिन एक घण्टा समय खर्च गर्नुपर्ने बाध्यतामा रहेका छन्।
कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
सेयर बजारले बुधबार पनि सुधारकै निरन्तरता पाएको छ । साढे दुई हजार पछ्याएको परिसूचकलाई साथ दिँदै कारोबार रकम पाँच अर्ब नाघेको छ । बुधबार सेयर बजारमापक नेप्से परिसूचक १६.४२ अङ्कले उकालो लागेर दुई हजार ३७.०६ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.८२ अङ्कले उकालो लागेर ३८३.६९ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा चौथो दिनको नेप्से ०.८१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले उकालो लागेको छ ।
तनहुँका सबै पालिकामा गाई, भैँसीमा फैलिएको ‘लम्पी स्किन’ रोग महामारीलाई नियन्त्रण गर्न पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो । रोगले महामारीको रूप लिन थालेपछि किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काम भइरहेको र तीन हजार एक सय पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइसकिएको केन्द्रले जनाएको छ । जिल्लाका १० वटा पालिकामध्ये आठ वटा पालिकामा पशुलाई खोप लगाइसकिएको छ । अन्य दुई वटा पालिकामा समेत खोप लगाउने काम तीव्र रूपमा भइरहेको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई अत्याधुनिक तरिकाले खेती गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कृषि उत्पादनलाई वृद्धि गर्ने अभियानका साथ किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता बिसीले संयुक्त रूपमा किसानलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गर्नुभयो ।
सप्तरीको विभिन्न सडकमा डिपो झैँ बालुवा, गिट्टी थुपारेपछि दुर्घटनाको जोखिम अत्यधिक रहेको स्थानीय बासिन्दा बताउँछन् । राजविराज नगरपालिकाको विभिन्न ठाउँका सडकमा बालुवा, गिट्टी डिपो झैँ थुपारिएपछि दुर्घटनाको जोखिम रहेको स्थानीय हरेराम यादवले बताउनुभयो । राजविराज नपा–१० स्थित बिरौल चोक, खाँडो पुल चोकको बिच सडकमै बालुवा, गिट्टीको डिपो सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहेको छ ।
सप्तरीको हुलाकी लोकमार्ग अन्तर्गत राजविराज–कन्चनपुर सडकखण्डको खाँडो नदीको पुल निर्माण सम्पन्न भएको पाँच वर्ष नबित्दै उप्किन सुरु भएको छ । नेपाल सरकारको कुल १० करोड रुपियाँको लागतमा अरुण लामा जेभी कन्स्ट्रक्सनले बनाएको पुल पाँच वर्ष नपुग्दै उप्किन सुरु भएको हो । निर्माण गरिएको पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आरोप छ । पुलको गुणस्तरहीन काम ढाकछोप गर्न ठाउँ ठाउँमा सिमेन्टको घोल हालेको स्थलगत रूपमा स्पष्टै देखिएको नेकपा (माओवादी केन्द्र) का नेता दीपेन्द्र माझीको आरोप छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बुधबार कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कोशी प्रदेश सभामा उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा सरकारले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिकमैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्ने तथा विपत् व्यवस्थापनका लागि अन्तरनिकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए ।
विश्व अर्थतन्त्रमा देखिएको सङ्कटको प्रभाव नेपाल भित्रिने वैदेशिक लगानीमा पनि देखिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्म नेपाल भित्रिने त्यस्तो लगानी करिब ११ अर्ब रुपियाँले घटेको पाइएको हो । बैङ्कको तथ्याङ्क अनुसार वैशाखसम्म नेपालले छ अर्ब १६ करोड २९ लाख रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेको छ । जब कि गत आर्थिक वर्षको वैशाखसम्म १७ अर्ब आठ करोड ८९ लाख रुपियाँ विदेशी लगानी भित्रिएको थियो ।
लामो समयपछि सोमबार र मङ्गलबार बिहान उज्यालो हुनुपूर्व भएको वर्षाले गर्मीबाट केही राहत मिले पनि कृषकका लागि भने यो ‘मरेपछिको औषधी’ जस्तै भएको छ । लामो समयको खडेरीले अन्नबाली विशेष गरी मकै खेती गर्ने चितवनका कृषक यति बेला चिन्तित छन् । मकैको बोट पूरै आगो लाग्ने गरी सुकेको अवस्थामा आएकाले यो पानीले उनीहरूलाई कुनै राहत दिन सकेन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गर्नुभएको छ । संसद्मा बजेटउपरको सैद्धान्तिक छलफलका क्रममा प्रतिपक्षले बजेटको छिद्रान्वेषण गर्नु स्वाभाविक हो । प्रतिपक्षले सरकारको नीति तथा कायक्रम र बजेटबिच तादात्म्य नरहेको औँल्यायो । यो उसको प्रतिपक्षी धर्म नै हो । सामान्यतः प्रतिपक्षका आलोचनात्मक टिप्पणीको प्रतिवाद सत्तापक्षबाट हुन्छ । यस पटक सत्ता गठबन्धनका साझेदार दलका केही सांसदले बजेटप्रति गुनासो पोख्नुभएको देखियो । यस्तो गुनासाप्रति मन्त्रीपरिषद् गम्भीर बनेको छ । यिनलाई सम्बोधन गरी बजेट पारित गर्ने समझदारी भएको छ ।