• २० असोज २०८१, आइतबार

सातगाउँले जात्रा सुरु

blog

कीर्तिपुर, पुस ७ गते । राजधानीको दक्षिणपश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा सुरु भएको छ । 

कीर्तिपुरको इन्द्रायणी रथयात्राबाट सुरु भएको जात्रामा पाँगाको बालकुमारी र विष्णुदेवीको रथयात्रा हुँदै चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्तिपीठबाट रथयात्रा गराइन्छ । सिँगारिएको रथमा देवीदेवताको प्रतिमा राखिने र सबै गाउँलेबाट पूजा भएपछि सिन्दुरे जात्रासहित बल्खुमा लगिने चलन छ । जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँसम्म गर्ने चलन छ । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा ‘बखुमदः न्हय्गाँ’ जात्रा भनिन्छ ।

जात्रामा परम्परा अनुसार सात गाउँका शक्तिपीठमध्ये विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उहाँको सन्तान मानिने कीर्तिपुरका स्थानीय जगत मालीले जानकारी दिनुभयो । उहाँले आमालाई भेट्न हरेक वर्ष यही बेला सन्तानहरू आउने विश्वास अनुसार सबै गाउँको रथ विष्णुदेवी पीठमा ल्याइने बताउनुभयो । शुक्रबार कीर्तिपुरमा इन्द्रायणी जात्रा तथा पाँगाका दुई ठाउँमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गरेको मालीले जानकारी दिनुभयो । 

जात्राको प्रमुख स्थल बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बालाचतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकोमा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएको र पछि परेवा बसेको ठाउँलाई नै बखु भनिएको हो । यसरी परेवा उडी कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) तिर गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।