• १३ असोज २०८१, आइतबार

भाषा र ध्वनिको पर्याय चित्रकला

blog

कला अभिव्यक्तिको एक सशक्त माध्यम हो । दृश्यको सुन्दरता होस् वा भावना र विचारको, कलाले दृश्यद्वारा विचार र भावनालाई सौन्दर्यपूर्ण ढङ्गबाट सहज रूपमा समाजसामु प्रस्तुत गर्छ । कला भावना तथा अभिव्यक्तिको एक सशक्त माध्यम हो । 

विश्वकला परिवेशमा कलालाई (चित्रकला, मूर्तिकला) अन्य कलाभन्दा जेठो, कलात्मक, वौद्धिकस्तर र गहन रूपमा रूपाकृति भएको भावमा बुझिन्छ । चित्रकला विश्व भाषा हो । यसलाई बुझ्न र बुझाउन भाषाको आवश्यकता पर्दैन । यो आफैँमा ध्वनि र भाषाको एकमुष्टता हो, जसको दृश्यावलोकनबाटै बाह्य र अन्तरमननिहित सुन्दरताको अभिव्यक्तिलाई विश्वका जुनसुकै कुनाका दर्शकलाई सहजै रूपमा बुझाउन सक्छ । कला धर्म, संस्कृति, संस्कार, प्रकृति, मनको भावना, प्रयोगवादी अवधारणा र विचारको उद्वेगसँग मुखरित हुन्छ । 

समष्टिगत रूपमा भन्नुपर्दा वा कला विधालाई वर्गीकरण गर्नुपर्दा, कलाका धेरै विधा पर्ने गर्दछन् । यस पङ्क्तिमा अन्य विधालाई थाती राखेर चित्रकला विधालाई मात्र बुझ्ने प्रयत्न गरिएको छ । चित्रकला भनेको के हो ? रेखाङ्कन विधिद्वारा मनको भावना र सुन्दरता पस्किएको कला नै चित्रकला हो । 

चित्रकलालाई विभिन्न समयका विद्वान् वा कलाकारहरूले परिभाषा दिएका छन् । यद्यपि यस विधाप्रति सबैको सार भन्नु नै रेखाङ्कन माध्यमको सुन्दर अभिव्यञ्जना हो । यस विधा अर्थात् चित्रकलाभित्र विविध शैली र मान्यताहरू विद्यमान छन् । यो विधाको इतिहासमा समय समयमा विश्वप्रसिद्ध कलाकारहरूले थुप्रै मान्यता स्थापित गराएका छन् । 

ऊ बेलाका कलाकारको प्रायोगिक भएको चित्र लय र शैलीहरू आज विश्वभरि छरिएको छ । उनीहरूकै मान्यतालाई आज विश्व कलाको भूगोलले आत्मसात् गरिरहेको छ । विश्वकलामा विकास भएका भाववाद, अभिव्यञ्जनावाद, दादावाद, पपवादलगायत पछिल्लो चरणमा विकास भएका प्रतिस्थापन कला र स्वर्मितवाद आजका कलाकारको हृदयमा विचरण भइरहेका आयामहरू हुन् । 

अहिले त झन् आआफ्ना देश, प्रकृति र स्वभाव अनुकूल तथा भूगोल अनुरूपका आधुनिक कलाहरूको जन्म भइरहेको देखिन्छ । नेपालमा पनि आधुनिक कलाको सन्दर्भमा विश्व परिवेशमा छुट्टै पहिचान बन्दै गइरहेको छ । परम्परागत कलाबाट फड्को मारेको हाम्रो नेपाली कलामा आधुनिक कलाको लेप मनग्गे लागिसकेको छ । यस्ता कला गर्ने कलाकारहरूको पनि मनग्गे जन्म भइरहेको छ ।

वास्तवमा भन्ने हो भने नेपालमा अचेल देखा पर्ने आधुनिक कलाको विकास अकस्मात भएको भने होइन । यो कलाले वर्तमान धरातलसम्म पाइला टेक्न निकै लामो समयचक्र पार गर्नु परेको इतिहास छ । र, थुप्रै कलाकार जन्माउनु परेको परिघटना छ ।

नेपालमा आधुनिक कलाको छाप राणाकालीन समयदेखि नै देखा परेको हो, जुन काललाई कलाको सन्दर्भमा आधुनिक कला विकासको प्रस्थान वा उठान काल भनिन्छ । इतिहास पल्टाएर हेर्दा नेपाली परम्परागत लोकशैली र प्रविधिमा नेपाली समाज रमाइरहेका बेला पहिलोपल्ट जङ्गबहादुरसँग भाजुमान चित्रकारले बेलायत जाने मौका पाएको र त्यहा“को प्रचलित कलाशैली, प्रविधि तथा प्रवृत्ति नेपाल ल्याएको घटना देखिन्छ । 

यस इतिहासलाई आधिकारिक मान्दा नेपाली कलाक्षेत्र विदेशी रङमा मुछिने क्रम यहीँबाट सुरु भएको हो भन्न पनि सकिन्छ । अर्को अर्थमा नेपाली कला भूगोलमा युरोपेली शैलीले हक जताउने क्रम यहीँबाट सुरु भएको हो । त्यसो त भाजुमानभन्दा ३० वर्षअघिदेखि नै राजमान भन्ने कलाकारले विदेशी शैली अनुरूप काम गरिसक्नुभएको थियो भन्ने भनाइ पनि छ । 

यस्तो ऐतिहासिक तथ्यको खुलासा केही वर्षअधि मात्र सार्वजनिक भएको हरिहर जोशी र ईन्दु जोशीद्वय अनुसन्धानमूलक पुस्तिका ‘द पायोनर आर्टिस्ट राजमान’ मा उल्लेख गरिएको छ । यदि यो खोजपुस्तिकाले लेखे जस्तै राजमानको समयलाई आधुनिकताको आरम्भकाल मान्ने हो भने नेपाली कलामा आधुनिकताको जग बसाल्ने काम भाजुमानकालअघिदेखि नै बनिसकेको हो भन्नु पर्छ । 

राणाकालीन युगमा कलामा कलाकार बखतमान, पूर्णमान, दीर्घमान आदि कलाकारको बर्चस्व थियो । उहाँहरू त्यस समयमा खारिएका र स्वअध्ययनबाटै पोख्त बनेका कलाकार हुनुहुन्थ्यो । उहाँहरूको कलामा घरेलु कलाप्रविधिको प्रयोग प्रचुर हुने गर्दथ्यो । 

उति बेला बनेका राजामहाराजा र राणाहरूका चित्रहरू अझै पनि कतिपय सङ्ग्रहालयमा सुरक्षित देख्न सकिन्छ । उहाँहरूपछिको समयले औपचारिक कला शिक्षाबाट विद्वत भई आउने कलाकार युगलाई जन्म गराएको थियो । त्यसताका कलाकार चन्द्रमान मास्के, तेजबहादुर चित्रकार, कालीदास श्रेष्ठ, सिद्धिमुनी शाक्य आदि नामुद कलाकार नेपाली कलामा छाउनुभएको थियो । 

विधिवत् कला शिक्षा हासिल गरेर नेपाली कलामा देखिनु नै उहाँहरूको महìवपूर्ण र युगान्तकारी विशेषण थियो । भारतमा औपचारिक कला शिक्षा हासिल गरेर फर्केका उहाँहरूले नेपालमा भारतीय कलाप्रभाव र प्रयोगलाई सर्लक्कै नेपाली कलामा डो-याएर ल्याउनुभएको थियो । त्यसताका भारतीय भूमि आधुनिक कलाको सन्दर्भमा उ“चो भइसकेको पाइन्छ । 

त्यहा“का कलाकार र जनमानसले आधुनिक कलालाई पूर्ण रूपमा आत्मसात् गर्दै विश्वासको जग मजबुत बनाइसकेको अवस्थामा भारतबाटै प्रशिक्षित भएर आएका नेपालका कलाकार भने राजा, राणा र सम्भ्रान्तहरूकै चित्र कोर्नमा धेरै कालसम्म व्यस्त बनिरहे । जसले गर्दा सम्भावना हुँदाहुँदै अन्तर्राष्ट्रिय जगत् र छिमेकी मुलुक भारतमा पछिल्लो समय मौलाएको आधुनिक कलाको ट्रेन्डहरूलाई नेपाली कला पृष्ठभूमिले बेलैदेखि सिँगार्न पाएन ।

यो कारणले पनि आज विदेशी मुलुकहरूको तुलनामा आधुनिक कलाक्षेत्रको विकासमा हामी पछाडि परेका हौ“ । राणाकालमा कलाकारले चित्र बनाई श्री ३ लाई खुसी पारे बकस मिल्थ्यो । र, विदेश जाने र पढ्ने मौका मिल्थ्यो । यो लालसाले पनि त्यसताका विदेशमा चल्दै गरेको नौलो कला मान्यता अर्थात् आधुनिक कलाप्रतिको कलाकार चासोले वस्तुगत रूप लिन नसकेको हो । 

राणाकालीन समयको नेपाली कला भाजुमान र राजमानको कलाज्ञानसम्ममा नै सीमित घुमिरह्यो । यसले अन्तर्राष्ट्रिय ट्रेन्डले विकास गरेको आधुनिक कलालाई आत्मसात् गर्ने चासो नै देखाएन । जसको फलस्वरूप हामी पछाडि पर्दै जाने क्रम त्यहीँदेखि सुरु भयो ।

राणाकालको समाप्तिपश्चात् २००७ सालपछि मात्र नेपालमा आधुनिक कला भन्ने नामले अवतरण हुने मौका पायो । अवतरणपश्चात् युरोपेली र पाश्चात्य कलामा धेरै अगाडिदेखि नै स्थापित भइसकेका अभिव्यञ्जनावाद, प्रभाववाद, भाववाद, अमूर्तवाद, घनवाद तथा अन्य प्रयोगवादी अवधारणाहरूका काम नेपालमा देखा परे । 

यस अन्तर्गत मानवीय पीडा, द्वन्द्व, हिंसा र प्रयोगको फरक मत र भाव नेपाली कलामा झल्कन सुरु भए । यसै समयमा उदाउनुभएको थियो – परिवर्तनकामी नया“ अनुहार कलाकार गेहेन्द्रमान अमात्य, लैनसिंह बाङ्देल, उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, विजय थापा, ठाकुरप्रसाद मैनाली, उर्मिला गर्ग आदि । उहाँहरूको आगमनपश्चात् नै नेपाली कला समाजमा अमूर्त र आधुनिक प्रयोगवादी शैलीको मन्थन र प्रयोग सुरु हुन थालेको हो । 

नेपालमा २०१६ सालदेखि अमूर्तकलाको लक्षण देखिएको भएता पनि फ्रान्सको बसाइ र अध्ययनबाट लैनसिंहले २०१८ सालमा यो मान्यताको कलालाई नेपाल भित्र्याएदेखि अन्तर्राष्ट्रिय मान्यतानुरूपको अमूर्त शैलीले नेपाली कलामा पदार्पण हुने मौका पाएको हो । यस काललाई नेपाली कला संसारमा अत्याधुनिकताको शुभारम्भको काल भनिन्छ साथै यो कालका कलाले नेपाली समाजको कला बुझाइको क्रमिकतालाई भङ्ग गराएको थियो । जसले गर्दा जनमानसबिचबाट कला बुझिँदैन भन्ने अभिव्यक्ति आउन थालेको थियो । 

यो प्रतिव्रिmया आउनु स्वाभाविक पनि थियो, किनकि सुरुकालदेखि वस्तुवादी र यथार्थवादी कला हेर्ने बानी परेका नेपाली जनमानसमा एक्कासि अमूर्त शैली पस्कनु ठिक पनि थिएन । आधुनिक शैली वा अमूर्त शैलीलाई अधिल्लो वादको धारा क्रमशः जोड्दै आउनु पर्दथ्यो तर हामीले त्यसो नगरी विदेशमा प्रचलित वादको अन्धानुकरण ग-यौँ र यहीँनेर चुक्यौँ । 

यद्यपि पछिल्ला समयहरूले क्रमशः यसलाई स्विकार्दै गएको पनि देखियो । कलाको सौन्दर्य र भावलाई आत्मसात् गर्दै भारत र पाश्चात्य मूलबाट कला अध्ययन गरेर आएका नेपाली कलाकारले कला गतिविधिहरू प्रशस्तै सञ्चालन गर्दै गए र मानवीय कुण्ठा, विसङ्गति, विद्रोह र प्रयोगका विम्बहरू नेपाली आधुनिक कलाको विशेषता बनाउनुभयो । 

रामानन्द जोशी पानी रङको प्रभाव लिएर र डालीको प्रभावमा कलाकार शशी शाह घोडा लिएर मुम्बईबाट आउनुभयो । ‘झ्वाम्म’ प्रकृति बर्साउन थाल्नुभयो मुम्बई पढेका कृष्ण मानन्धरले । प्रतीक र दैवीय आहाट सर्लक्क क्यानभासमा उतार्न थाल्नुभयो त्यहीँका उत्पादन बत्सगोपाल बैध र ईन्द्र प्रधानले । पाकिस्तान, बनारसलगायत अन्य स्थानबाट अध्ययन सकेर आउनुभएका मनुजबाबु मिश्र, सुरेन्द्र भट्टराई, मदन चित्रकार, किरण मानन्धर, शशीकला तिवारी, राधेश्याम मुल्मी, रागिनी उपाध्यायलगायत धेरै कलाकारको प्रयत्नले नेपाली आधुनिक कलाको माहौल बन्यो । 

अचेल नेपालमा युवा आधुनिक कलाकार धेरै बनिसकेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय कला विश्वविद्यालयका कारण धेरै कलाकारको जन्म भइरहेको छ । र, उहाँहरू कलाको नौलो प्रयोगमा निरन्तर लागिरहनुभएको छ । नेपाली जनमानसमा पनि यसप्रति धेरै जागरुकता छाइसकेको छ । अचेल आधुनिक वा समसामयिक कला सबैको प्यारो बनिसकेको छ ।