सिराज खान नेपालगञ्ज, जेठ २२ गते । डेढ दशक भन्दा अघि सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका छोटी भन्सार कार्यालयहरु अझै पुनःस्थापना नहुँदा बाँकेका विभिन्न नाकाहरुबाट अवैध आयातनिर्यात बढेकाले दैनिक ठूलो परिमाणमा राजस्व चुहावट भैरहेको छ । जिल्लाका विभिन्न नाकामा स्थापना गरिएको सात वटा छोटी भन्सार कार्यालयहरु सशस्त्र द्वन्द्वका बेला बन्द गरिएकोमा हालसम्म पनि पुनः सञ्चालनमा नल्याइएकाले ती नाकाहरु अवैध आयात निर्यातको केन्द्र बन्दै गएका छन् । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए । तर, लामो समयदेखि कार्यालय पुनःस्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचनाहरु काम नलाग्ने गरी जीर्ण भएका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ । गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ । छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठूलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्ष देखिएको उहाँहरुको भनाइ छ । बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । साइड नाकाहरुमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले भन्सार छली निकै हुने गरेको नरैनापुरका स्थानीय दिलसाद खाँले बताउनुभयो । उहाँले छोटी भन्सार नहुँदा अवैध आयात निर्यात लामो समयदेखि भैरहेको र राज्यलाई लाखौंको नोक्सानी भैरहेको बताउनुभयो । छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले पनि बताउनुभएको छ । उहाँले छोटी भन्सार पुनस्थापनाका लागि पटक पटक आग्रह गरिए पनि सुनुवाई नभएको बताउनुभयो । सरकारले नीति तथा कार्यक्रममा पनि छोटी भन्सार सञ्चालन गर्ने उल्लेख गरेको वर्षौं बिते पनि अझैसम्म कार्यान्वयनमा आएको छैन । विभिन्न कारणले चालू आर्थिक वर्षको १० महिनामा लक्ष्यभन्दा दुई अर्ब कम राजस्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको १० महिनामा २० अर्ब ७३ करोड ४४ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १८ अर्ब ८२ करोड ९४ लाख रुपियाँ मात्र संकलन भएको छ ।
विष्णुप्रसाद पोखरेलदमक, जेठ २२ गते । झापाको मेचीनगर नगरपालिकामा आइतबार विहान एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको न्यू पाथीभरा भेराइटिज स्टोरमा विहान १० बजेतिर शुरु भएको आगलागी मध्यान्ह १२ बजे नियण्त्रणमा आएको प्रहरीले जनाएको छ ।स्थानीय व्यवसायी ज्योति कोइराला सञ्चालन गर्नुभएको उक्त पसलमा विद्युत सर्ट भई आगलागी भएको र करिब एक करोडको क्षति भएको बताइएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीकाअनुसार आगलागी नियत्रणका लागि मेचीनगर, भद्रपुर, दमक र विर्तामोड नगरपालिकाको दमकल बोलाइएको थियो ।पसलमा रहेका फ्रिज, इन्डक्सन, राइस कुकर, प्रेसर कुकर, हिटर, कुलरलगायतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । बजारको बीच भागमा आगलागी भएका कारण स्थानीय व्यवसायीहरु त्रसित हुनुभएको थियो ।
अमरराज नहर्की तनहुँ, जेठ २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले, विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न ध्यान दिनुपर्ने बताउनुभयो । ‘जनताको माग र आवश्यकतालाई सर्वोपरी थानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाइहाइ हुने उहाँको भनाइ थियो । । ‘जनप्रतिनिधिहरु शासक हैन, जनताका सेवक बन्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । साथै, वरिष्ठ नेता पौडलेले जनताको आम्दानी वृद्धि हुने र रोजगारी सिर्जना हुने योजना बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्जुन काफ्ले स्याङ्जा, जेठ २२ गते । पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको स्याङजा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । पुतलीबजार नगरपालिकाको प्रारम्भिक आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा शाखाको पहलमा रक्तदान कार्यक्रम गरी केन्द्र स्थापना गरिएको हो । पुतलीबजार नगरपालिकाको पहिलो बैठकको अस्पतालमा मिगौला डायलासिस सेवालाई विस्तार र रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णयअनुसार केन्द्रको स्थापना गरिएको हो । नगरपालिकाले प्रारम्भिक कामको लागि १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेसँगै केन्द्रको स्थापना र डायलासिस सेवा विस्तारमा सहयोग पुगेको हो । १२० पिन्ट रगत भण्डारण क्षमताको केन्द्रको पूर्ण सञ्चालनमा करिब २६ लाख लाग्ने नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्यालले बताउनुभयो । रगत अभावका कारण यसअघि केन्द्र बन्द भएको स्मरण गर्दै रक्तदाता, सरोकारवाला र स्थानीय तहबाट सहयोग आवश्यक रहेको अर्यालले बताउनुभयो । रक्तसञ्चार केन्द्र स्थापनाका क्रममा गरिएको रक्तदातामा दिनेश अर्याल र महादेव श्रेष्ठले १९ औँ पटकसहित जम्मा १७ जनाले रक्तदान गर्नुभएको थियो । जिल्ला अस्पतालमा केन्द्र स्थापनासँगै रगतको अभावमा उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले रक्तदाता महादेब श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको थियो । स्वास्थ्य नागरिकको लागि महत्वपूर्ण पक्ष भएको र अस्पतालका विरामीले रक्त अभावका कारण भोग्नुपरेको समस्यालाई मध्यनजर गरी रक्तसञ्चार केन्द्र स्थापना गर्न पहल गरेको रेग्मीले बताउनुभयो । अस्पतालको समग्र विकासमा हातेमालो गर्ने बताउँदै रेग्मीले अस्पालको हरेक समस्यामा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
गोरखापत्र अनलाइन काठमाडौं, जेठ २२ गते । नेपाली सेनाले छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ गरेको छ । पोखराको विजयस्थित श्री मध्य कमाण्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।सो कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा सम्वाददाताहरुलाई समाचार सम्पे्रषण गर्न सहज होस् भनेर नेपाली सेनाको सांगठनिक स्वरुप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइनेछ । यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरुलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नारद कोहारतौलिहवा, जेठ २२ गते । कपिलबस्तुको विजयनगरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका १ का ४५ वर्षीय जोकबहादुर खन्गाहा रहेको कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । खन्गाहाको शनिबार साँझ माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खन्गाहाको शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज लगिएको छ ।शवलाई पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ २२ गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा विहान बसेको हो । बैठकमा समसामायिक विषयवस्तु, पार्टी सगंठन र केन्द्रीय कार्यालयको विस्तारबारे कुराकानी भएको माओवादी केन्द्रको बागमति प्रदेशका इञ्चार्ज हितमान शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
कैलाश लामा चरिकोट, जेठ २२ गते । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर–५ सुरी स्थित काप्ती विकड गाउँमा विगत नौँ वर्षदेखि यहाँका किसानहरुले मौरीपालन व्यवसाय गर्दै आएका छन् । भौगोलिक विकटताले सदरमुकाम चरिकोटबाट दुई दिनसम्म हिँडेर पुग्नुपर्ने यस गाउँमा हालसालै कच्ची सडक पुगेकाले महलाई बजारसम्म पु¥याउन सजिलो भएको छ ।अधिकांश गुरुङ बस्तीमा आयआर्जनका लागि गाई, भैंसी, बाख्रालगायतका पशुपालन गरेता पनि मुख्य रुपमा चौरी र भेडापालन गरिन्छ । तर सुरुसुरुम एकदुई वटा काठको डुडमा परम्परागत रुपमा मौरी पालन गरेता पनि हाल आधुनिक घारमा मौरीपालन गरिँदै आएको छ ।सिकर्मी काममा पोख्त रहेका काप्ती गाउँका विशाल खड्का (रामकुमार)ले मौरीको आधुनिक घार निर्माण गारी जंगलको रुखको टोड्कोमा बस्ने मौरीलाई घारमा राखेर मौरी उत्पादन गर्न थालेपछि हाल यस गाउँका अधिकांशले घरायसी प्रयोज मात्र नभएर व्यवसायिक रुपमा समेत मौरी पालन गर्न थालेका छन् ।वनजंगलको रुखको टोड्कोमा रहने मौरीलाई झोलामा ल्याएर घारमा राखी मौरी उत्पादन गर्न थालेका उहाँकोमा हाल एक सय २० घार मौरी छन् । हाल घारबाटै मौरी उत्पादन गरी बेच्ने गरेको उहाँले बताउनुभयो ।‘वार्षिक सात सयदेखि एक हजारसम्म मौरी घार बेच्ने गरेको छु ।’उहाँले भन्नुभयो, ‘एक घारमा एपि सेरेना जातको २५ हजारसम्म मौरी र एउटा रानी हुन्छ ।’ मौरी नभएको घारको तीन हजार पाँच सय र मौरीसहितको घारलाई दस हजार रुपियाँ लिने गरिन्छ ।मौरी घार निर्माणका लागि घर नजिकै फर्निचर स्थापना गरी एक जना सिकर्मीलाई मासिक तलबमा राखिएको छ भने, श्रीमती निरुता गुरुङ खड्का र आफूसमेत लागि परेको विशाल बताउनुहुन्छ ।मह उत्पादन भन्दा पनि मौरीसहितको घार नै विक्री गर्दा वार्षिक सातदेखि दस लाख रुपियाँसम्म आम्दानी हुने बताउँदै उहाँले भन्नुभयो ‘हाल मौरीको माग प्रशस्तै छ, तर पु¥याउन सकेको छैन ।’रोजगारीको सिलसिलामा २०६२ सालमा मलेसिया पुग्नुभएका विशालले करिब ४ वर्ष विदेशमा बिताउँदा पनि वार्षिक एक लाख बचाउन नसकेपछि गाउँमै फर्केर सिकर्मी काममा लाग्नुभएको थियो ।गाउँघरमा परम्परागत रुपमा मौरी पाल्ने तरिकालाई आधुनिक र व्यावसायिक बनाउँदा पनि फाइदा हुने विश्वासमा २०७० साल फागुनदेखि मौरीपालनमा लाग्नुभएका उहाँले जंगलको मौरी संकलन गरी मौरी उत्पादन थाल्नुभएको हो ।हाल जिल्लाका अधिकांश क्षेत्रका मौरीपालक किसानले मौरी घार किनेर लाने गरेको उहाँ बताउनुहुन्छ । त्यसैगरी काठमाडौंलगायत जिल्ला बाहिरबाट समेत मौरी घारको माग हुने गरेको छ । हालसम्म उहाँले पाँच पटकसम्म मौरीपालन तथा उत्पादनसम्बन्धी तालिम लिनुभएको छ ।उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०७७ साल असोजमा ४० औँ विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट मौरीपालन गर्ने कृषकतर्फ राष्ट्रिय स्तरमा द्वितीय भई नगद आठ हजार रुपियाँ पुरस्कार समेत पाउनुभएको थियो ।
मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि नेपाल आउने पर्यटक बढेका छन् ।सन् २०२० मा गरिएको सर्वेक्षणअनुसार ६५ प्रतिशत विदेशी पर्यटक मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि आउने गरेका थिए । हाल उक्त सङ्ख्या बढेर ६६.८ प्रतिशत पुगेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । शनिबार वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभाको उद्घाटन समारोहलाई वीरगञ्जमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना चलाउने भनेरै बजेटमा उल्लेख गरिएकोे बताउनुभयो । वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक
तारकेश्वर नगरपालिका–७, फुटुङ, नमुना टोलमा विविध कलात्मक सामग्री सङ्कलन गरी सङ्ग्रहालय सञ्चालन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि नेपाली कला÷संस्कृतिको पनि जानकारी दिने तथा ती सामग्रीको प्रवद्र्धनका लागि सो सङ्ग्रहालय सञ्चालनमा ल्याइएको हो ।
गुल्मीमा जंगली चितुवा मृत अबस्थामा फेला परेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को लूम्छामा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।
यातायात व्यवसायीले कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्ला–कवाडी र बाजुराको कोल्टीसम्मको निर्धारित भाडादरभन्दा तेब्बर बढी असुल्ने गरेका छन् । इन्धनको मूल्य वृद्धि भएको बहानामा व्यवसायीले सरकारीस्तरबाट निर्धारण गरिएको भाडादरभन्दा तेब्बर असुल्ने गरिएको हो । सरकारले डिजलको मूल्य घटाए पनि कर्णाली कोरिडोरमा यातायात सञ्चालन गर्ने व्यवसायीले मनोमानी रूपमा भाडा असुल्दा स्थानीय प्रशासन मौन रहने गरेको छ ।
दीपेन्द्र दोङ तामाङआमा बितेपछि सेकेन्ड धिमाल साँच्चिकै एक्लो भयो । छनलाई ऊभन्दा माथिका दुई दाजुहरू थिए तर उनीहरू भए पनि नभए सरह थिए । आफ्नै दाजुहरूलाई त कुनै मतलब थिएन, झन् भाउजू र भतिज भतिजाले के मतलब राख्थे र ? ऊ जहाँ जाओस्, जे खाओस् कसैलाई कुनै मतलव थिएन । कतिसम्म भने भर्खरै गएको न्वागीमा समेत दाजु, भाउजूले उसलाई सम्झेनन् । आमाले मर्नुअघि आफ्नो जिउनी जग्गा कान्छा छोरा अर्थात् उसको नाममा गराइदिएपछि त्यस घरमा ऊ सबैको आँखाको तारो बनेको थियो । तीन दिनको ज्वरो र पखलाले थलापरेकी उसकी आमाले चौथो दिनमा सधैँका लागि आँखा चिम्लेकी थिइन् । त्यस दिनदेखि ऊ अर्थात् सेकेन्ड धिमालका लागि यो दुनियाँ बिरानो बनेको थियो । उमेरले ३८ लागे पनि सेकेन्ड धिमाल गाउँका बच्चादेखि बूढापाका सबैका तिमी थियो । सबैले उसलाई तिमी नै भनेर बोलाउँथे । ऊ बोल्न त सक्थ्यो तर बोली प्रष्ट थिएन । दिमाग पनि अलि सुस्त थियो । त्यसैले बैंस ढल्नै लाग्दासमेत उसको घरजम भएको थिएन । यसो भनौँ न घरजम हुन सकेको थिएन । ऊसँग लोभिन न आकर्षक शारीरिक बनोट थियो न त उसको व्यक्तित्व नै आहा भन्ने खालको थियो । योग्यताको नाममा माछा मार्ने पोही, चाउकी, डुङरी र सोल्टी जस्ता जाल निगालो या बाँसको चोयाबाट बुन्ने कला भने उसले गजबले सिकेको थियो । व्यक्तित्व जस्तोसुकै भए पनि उसको मन असाध्य सफा थियो । तर अहिलेको समयमा मनको मूल्य कसले पो तोकिदिएको छ र ? ऊ सोझो थियो तर अरूका लागि त्यो सोझोपन लठेब्रो लाग्थ्यो । सेकेन्ड धिमाल उसको न्वारान नाम थिएन । न्वारानको नाम त उसको लाले धिमाल थियो । तर उसकी आमाबाहेक कसैले उसलाई लाले भनेर बोलाउँदैन थियो । अरूका लागि त ऊ सेकेन्ड धिमाल थियो । राख्नेले खै किन सेकेन्ड नाम राखिदिए थाहा भएन । घडीका तीन सुईमध्ये सेकेन्ड सुई सबैभन्दा छिटो चल्छ । सायद उसको लठेब्रोपन र आवश्यकताभन्दा बढी सोझोपनलाई व्यङ्ग्य गरेर सेकेन्ड नाम राखिदिएका हुन् कि । अथवा फस्ट क्लास नागरिकमा पर्ने कुनै योग्यता नभएकाले उसलाई सेकेन्ड भन्न थालिएको पनि हुनसक्छ । कारण जे भए पनि उसको नाम सेकेन्ड धिमाल थियो । तर त्यो नाम उसका लागि कुनै दृष्टिबाट मिल्दो थिएन । त्यसो त उसलाई आफ्नो नामसँग कुनै लिनुदिनु पनि थिएन । आमा बितेको तीन महिना मात्र भएको थियो तर आज सेकेन्ड धिमाललाई आमाको साह्रै याद आइरहेको थियो । बिहानै दाजु र भाउजूको नमीठो शब्दले उसको मन भाँचिएको थियो । फुसको त्यो एककोठे सानो घर उसको मनजस्तै रित्तो थियो । तीन महिना अघिसम्म उसकी आमा र ऊ त्यही घरमा बस्थे । भारी मन बोकेर ऊ घरभित्र पस्यो । घरका भित्तामा आमाले टाँसेको बालक श्रीकृष्ण र आमा यशोदाको फोटो थियो । फोटोको यशोदा उसलाई आफ्नी आमा जस्तै लाग्यो । मन थाम्न साह्रै गाह्रो भयो उसलाई । छेउमा रित्तो पलङ थियो, सँगै चिसो चुल्हो र आमाले कपडा बुन्ने खाली खाली पेटाने देखेपछि उसलाई आमाको यादले मन अझ भारी बनायो । सेकेन्ड धिमाल । ओइ सेकेन्ड धिमाल । बाहिरबाट कसैले बोलाएको सुनेर उसले आफूलाई सम्हाल्यो । अनि झ्यालबाट मुन्टो बाहिर निकालेर हे-यो । बाहिर चेतन सर आएको रहेछ । ओइ सेकेन्ड धिमाल एक्लै घरमा के गरेर बसेको । आइजा जाऔँ रतुवामा माछा छोप्न । जाल थाप्न त तिमी खप्पिस छौ नि । उमेरले चेतन सर अर्थात् चेतन भण्डारी ऊभन्दा ३–४ वर्ष जत्तिको कान्छो थियो तर अरूले जस्तै उसले पनि सेकेन्ड धिमाललाई तिमी नै भनेर बोलाउँथ्यो । तर अरूभन्दा चेतनले सेकेन्ड धिमाललाई बेसी माया गथ्र्यो । यो कुरा सेकेन्ड आफैँले अरूलाई सुनाउँथ्यो । चेतन सर यहाँको रैथाने भने थिएन । यहाँको सरकारी विद्यालयमा शिक्षक बनेर आएको थियो । घर त पश्चिम पाल्पातिर हो भन्थ्यो । जागिरे उसलाई घरको सरसफाइदेखि, लुगाफाटा धोइदिने मान्छे चाहिएको थियो । त्यसैले सेकेन्ड धिमालसँग उसले मित्रता बढाएको थियो । चेतन सरले माछा मार्न जान गरेको प्रस्तावले ऊ पुलकित भयो । माछा मार्न भनेपछि सेकेन्ड धिमाललाई सानैदेखि रमाइलो लाग्थ्यो । अर्को कुरा माछा मार्न जाने त चेतन सरको बाहाना मात्र थियो । किनभने माछा मार्न जाने निहुँमा उसकै विद्यालयमा कक्षा १० मा पढ्ने सुनिता घिमिरेलाई यसरी नै बिदामा भेट्थ्यो चेतन सर । काँसघारीमा बसेर चेतन सर र सुनिताले घण्टौँ बात मारेको सेकेन्ड धिमाललाई पनि राम्रो लाग्थ्यो । त्यसैले माछा मारेको बाहानामा लुकी लुकी चोर नजरले चेतन र सुनिताको चियो गर्दा उसको मनमा अनौठो गुदगुदी हुन्थ्यो । ००००चेतन सर र सेकेन्ड धिमाल रतुवा खोला पुगे । उनीहरू अक्सर मान्छेको चहलपहल नहुने ठाउँमा जान्थे । धेरै मान्छे नआउने ठाउँमा माछा पर्ने सम्भावना बढी हुन्छ भन्थ्यो चेतन सर । तर चेतन सरले भनेको ठाउँमा दिनभरिमा मुस्किलले तीन, चारवटा माछा जालमा पथ्र्यो । चेतन सर सधैँझैँ काँसघारीमा बस्यो । अनि सेकेन्ड धिमाल चाहिँ माछालाई जाल थाप्न खोलामा पस्यो । उसले आज पोही र चाउकी गरी दुईथरीका जाल बोकेको थियो । ती जालहरू ऊ आफैँले बाँसको चोयाबाट बुनेको थियो । उसको अनुमान आज पनि सही ठहरियो । केही समयपछि सुनिता त्यही आइपुगिन् । साँढे पाँच फुट अग्ली सुनिताको ज्यान केही दुब्लो थियो । तर छाती उमेरभन्दा केही ठूलो । अनुहारको बनोट सामान्य भए पनि उनी गाउँकै गोरीमा पर्थिन् । झापाको उधुमको गर्मीमा उनको त्यो गोरोपन वरिपरिका ठिटाहरूका लागि बत्ती जस्तै थियो । बत्ती बल्दा कीरा झुम्मिए जसरी गोरी सुनिताको वरिपरि ठिटाहरूको लाम लाग्थ्यो । तर सुनिता भने चेतन सरमा फिदा थिइन् । यसको साक्षी सेकेन्ड धिमाल थियो । आज पनि सेकेन्ड धिमालले जालमा माछा छोपेजस्तो गरी चेतन सर र सुनिताको चर्तिकला चियो गरिरह्यो । तर आजको दृश्य पहिलेको जस्तो थिएन । सुनिता रुँदै थिइन् । कहिले उनीहरूबीच झगडा परे जस्तो देखिन्थ्यो । कहिले चेतन सरले सुनितालाई अँगालो मारे जस्तो पनि देखिन्थ्यो । खास के भइरहेको छ, सेकेन्ड धिमालले मेसो पाउन सकेन । तर मनमनै यति अनुमान चाहिँ लगायो– आज कुछ गडबड छ । साँझ पर्ने छाँट देखेपछि सुनिता छुटेर गइन् । यसको मतलब हो अब उसले पनि माछा मार्ने कार्यक्रम आजका लागि रोकिदिनुपर्छ । नभन्दै चेतन सरले सिट्टी बजाएर उसलाई बोलायो र जाने सङ्केत दियो । आज ख्याल ख्यालमा सेकेन्ड धिमालले सातवटा माछा छोप्न भ्याएछ, जानुअघि खुङ्गीमा हेर्दा बल्ल चाल पायो उसले । ०००बुझ्यौ सेकेन्ड, आज तिमी र म बसेर तिम्रै घरमा यो माछा र रक्सी खाने । तिमी चिन्ता नगर माछा तिमी पकाउ, रक्सी म किनेर ल्याउँछु । सेकेन्डको घरछेउ पुग्नै लाग्दा चेतनले भन्यो । सेकेन्डले नाइँ भन्ने आधार थिएन किनभने कुनै कारण पनि त ऊसँग थिएन । तर चेतन सरको प्रस्तावले अघि उसले भनेको कुछ त गडबड छ भन्ने कुरा साँचो ठहरियो । त्यसैले ऊ फिस्स हाँस्यो । उसले केही बोल्नुअघि ल म रक्सी लिएर आउँछु भनेर चेतन सर दोकानतिर लाग्यो । मुन्टो हल्लाउँदै सेकेन्ड धिमाल सरासर घर गयो र माछा केलाउन थाल्यो । माछा समात्न मात्र होइन, पकाउन पनि सिपालु थियो सेकेन्ड धिमाल । त्यो कला उसलाई आमाले सिकाएकी थिइन् । धेरै समयपछि चेतन सरसँग माछाको सितनसँग रक्सी खाने मेलो जुरेको थियो उसलाई । चेतन सरलाई मनका कुरा केही सुनाउनु प-यो भने यस्तो मेलो जुथ्र्यो । पछिल्लोपटक सुनिता र आफ्नो बारेमा सुनाउँदा यस्तै मेलो जुराएको थियो चेतन सरले । सेकेन्ड धिमालले आज माछा अझ मन लगाएर पकायो । मसला खासै नभए पनि बाहिरसम्मै बास्ना आइरहेको थियो । उसले पकाएको माछाको विशेषता भनेकै यही थियो । झन्डै एक घण्टापछि चेतन सर हातमा रक्सीको बोतल बोकेर आइपुग्यो । अनि ५० वाटको मधुरो चिमको उज्यालोमा उनीहरूको माछा पार्टी सुरु भयो । सेकेन्ड अब तिमी बिहे गर । म केटी मिलाइदिन्छु । रक्सी चढ्दै गएपछि चेतन सरले भन्यो । बिहेको कुरा अनि केटी पनि मिलाइदिन्छु भन्ने सरकारको कुरा सुनेर सेकेन्ड धिमाललाई अचानक करेन्ट लागेजस्तै भयो । उसले पनि बिहे गर्न नचाहेको कहाँ हो र ? केटी नमिलेरै विवाह हुन सकेको थिएन । त्यसैले उसले चेतन सरको कुरामा कुनै जबाफ फर्काएन, फिस्स हाँसिदियो मात्र । तिमीले नपत्याएको ? मैले साँच्चिकै भनेको के, तिमी र सुनिताको बिहे गराइदिन्छु म । चेतनले फेरि भन्यो । सुनिताको नाम सुनेर ट्वाल्ल प-यो सेकेन्ड । अघि बिहेको कुरा उठ्दा जागेको थोरै आशा पनि सेलायो उसको अब । सुनिताको कुरा झिकेर चेतनले आफूलाई उडाएको उसलाई कति पनि मन परेन ।तर चेतन सरले सुनिता र सेकेन्ड धिमालको विवाह गराइदिने कुरा रक्सीको सुरमा भनेको थिएन । उसले सम्झाउँदै र बुझाउँदै गएपछि रक्सीको मातसँगै सेकेन्ड धिमाललाई कता कता आफूमा बैँसको मात पनि चढ्दै गएको अनुभव हुँदै गयो । बीस वर्ष पनि नकटेकी रहरलाग्दो सुनितालाई पाउने भएपछि उसको मन उडेर अर्कै ग्रहमा पुगिसकेको थियो । सपना हो कि विपना छुट्याउन मुस्किल परिरहेको थियो उसलाई । ००००नभन्दै ३८ वर्षको उमेरमा सेकेन्ड धिमालको लगन जु¥यो । गाउँकै राम्रीमा पर्ने १९ वर्षकी गोरी सुनितालाई स्वास्नी बनाउन पाउँदा उसलाई अझै विपना नै हो भनेर पत्याउन गाह्रो परिरहेको थियो । गाउँका केटाहरू सेकेन्ड धिमालसँग आरिसले जल्न थालिसकेका थिए । उनीहरू भन्थे– घुसघुसे सेकेन्डले नपत्याउने गरेर सिक्सर मा¥यो यार । कतिपयले सुनिताले षड्यन्त्र गर्न विवाहको नाटक रचेको पनि भन्न भ्याए । तर जे भए पनि सुनिता उसकी स्वास्नी बनिसकेकी थिइन् । यसैमा मख्ख थियो ऊ । त्यसमाथि हिजोसम्म उसलाई सेकेन्ड भनेर उडाउनेहरूको मन डाहाले जलेको देख्दा उसको मनमा बेग्लै शीतल अनुभूति भइरहेको थियो । मानौँ संसारकै ठूलो युद्ध जिते जस्तो लागेको थियो उसलाई । आजभोलि भन्दाभन्दै सुनिताको जिउ फुल्दै जान थाल्यो । एक दिन सेकेन्ड धिमालले गाउँको अरूकै मुखबाट सुन्यो– सेकेन्ड धिमालकी स्वास्नी बच्चा पाउने भाकी छे । गोज्याङ्ग्रो भन्ने ठानेको त्यो मोरो सेकेन्ड त निकै फास्ट पो निक्लियो । यस मामिलामा सेकेन्ड मात्र होइन उसकी स्वास्नी सुनिता अझ फास्ट निस्किन् । किनभने उनले पाँच महिनामै घोर्ले छोरो पाएर सेकेन्डलाई मात्र छक्याएन दुनियाँलाई नै चकित पारिदिइन् । अरूले के भने त्यसमा सेकेन्डलाई कुनै चासो थिएन, ऊ त यति चाँडो बाउ बन्न पाएकोमा त्यसै त्यसै दङ्ग थियो । तर बच्चा जन्माएको तेस्रो दिनमै नाबालक छोरालाई छोडेर सुनिता एकाएक बेपत्ता भइन् । त्यही दिनबाट चेतन सर पनि गाउँबाट हरायो । आफन्त र गाउँलेले पुलिसमा नालिस हाल्न सुझाए सेकेन्डलाई तर उसले खै किन हो यसपटक कुनै चासो नै देखाएन । काभ्रे (तेमाल) हाल जोरपाटी, काठमाडौँ ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ ।