गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ९ गते । नेपाली गीत/सङ्गीत तथा नाट्य क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने दिवङ्गत राष्ट्रिय व्यक्तित्वको सम्झनामा ‘सम्झनामा दिग्गज स्रष्टा’ साङ्गीतिक समर्पण कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक संस्थान नाचघरमा भएको कार्यक्रममा नौ जना दिग्गज स्रष्टाको गीतलाई संस्थानका विद्यार्थी तथा गायक–गायिकाले गाएर आआफ्नो प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा नृत्यशास्त्री, संस्कृतिविद् तथा नेपालको पहिलो नृत्य निर्देशक भैरवबहादुर थापाले दिग्गज स्रष्टालाई लिएर गरिएको यस्तो कार्यक्रम पहिलो पटक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म यो संस्थामा लोक सेवा आयोगबाट आएको पहिलो निर्देशक थिएँ र यहाँ नृत्यको कक्षा सञ्चालन गर्न खोज्दा जनताले विरोध गर्थे ।” “हाम्रा चेलीबेटी बिगार्न लाग्यो भन्ने आरोप लगाउने गर्थे,” उहाँले भन्नुभयो । यसै विभाग अन्तर्गत रहेर सांस्कृतिक पाठशाला सञ्चालन गरेको पनि उहाँले स्मरण गर्नुभयो ।
संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सांस्कृतिक संस्थानको अभिभारा, उद्देश्य जिम्मेवारीबारे बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको अस्तित्व र संस्कृतिको अस्तित्व जोगाउनका लागि राष्ट्रिय व्यक्तित्वले पु¥याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा जनार्दन सम र कोइली देवीको ‘गर्छिन् पुकार आमा’ बोलको गीतलाई सामूहिक रूपमा गाइएको थियो भने मेलवादेवी (गुरुङ) को ‘सवारी मेरै रेलैमा’ लाई गायिका राधिका भण्डारीले, हरिप्रसाद रिमालको ‘फगत एक नजरमा’ लाई शिला विष्टले गाउनुभएको थियो । यसै गरी वटुककृष्ण ज्वाला (सिलवाल) को ‘एक दुरका सितारा’ लाई विपिन घिमिरेले, सेतुराम श्रेष्ठको ‘राजमती कुमती’ लाई दीपेन्द्र वज्राचार्यले, चन्द्रराज शर्माको ‘च्वाट्टै चुँडी’ लाई तीर्थराज पोखरेलले र पुष्प नेपाली र तारादेवीको ‘बिदा हुने भैगयो बेला’ बोलको गीतलाई दीपेद्र व्रजाचार्य र राधिका भण्डारीले गाउनुभएको थियो । वाद्यवादकहरू नरसिंहलाल श्रेष्ठ, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति, रोहित सुवेदी, सुक्रिमाया मोक्तान र सीतामैया राजचलले गीतमा सङ्गीत दिनुभएको थियो ।