राज्यको सम्पूर्ण बजेटमध्ये दुई खर्बभन्दा बढी बजेट शिक्षा क्षेत्रमा मात्र खर्च हुने गरेको छ । शिक्षाको प्रमुख आधार नै विद्यालय शिक्षा हो भन्ने विषयमा दुई मत छैन तर २०८० सालको एसइईको परीक्षाको प्राप्त राष्ट्रिय नतिजाको लेखाजोखा र मूल्याङ्कन गर्दा शिक्षाको अवस्था ज्यादै खस्किएको देखिन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गुणस्तरीय शिक्षामा जोड दिएको छ तर शिक्षामा गुणस्तर कायम कसरी गर्न सकिन्छ ? भन्ने विषयमा शिक्षासँग सरोकारवाला जिम्मेवार पक्ष कोही कसैले आवाज उठाएको देखिँदैन ।
लगानीको प्रतिफललाई फर्केर हेर्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका सामान्य नागरिकले पनि आफ्ना बालबालिकाको सिकाइ उपलब्धिमा चिन्ता र गुनासो व्यक्त गरेको सुनिन्छ । गत वर्षको एसइईको परीक्षामा सबैभन्दा बढी विद्यार्थी गणित र विज्ञान विषयमा असफल भएका छन् । उक्त विषयमा के गाउँ र के सहर सबै क्षेत्रका विद्यार्थी बढी असफल भएका छन् । सहरी क्षेत्रमा गणित, विज्ञान र सामाजिक शिक्षामा बढी विद्यार्थी असफल भएका छन् तर ग्रामीण तथा दुर्गम जिल्लाका विद्यार्थी अङ्गे्रजी, गणित र विज्ञानमा बढी असफल भएका छन् ।
अनिवार्य विषय त विद्यार्थीलाई मन परे पनि नपरे पनि त्यही विषय पढ्न बाध्य पारिएको हुन्छ । उक्त विषयको विकल्पमा अर्को विषय रोज्ने अवसर दिएको नै हुँदैन । तोकिएको विषय नै विद्यार्थी जानी नजानी लिन बाध्य भएका हुन्छन् । ऐच्छिक विषयमा विद्यार्थीले विषय छनोट गर्ने अवसर पाउनुपर्ने थियो तर कतिपय विद्यालयमा विद्यार्थीले ऐच्छिक विषय छनोट गर्ने अवसर पाएका हुँदैनन् । जसको परिणाम ऐच्छिक विषयमा अत्यधिक परीक्षार्थी असफल भएका थिए । गणित र अर्थशास्त्रमध्ये कुनै एउटा ऐच्छिक विषय विद्यार्थीले छनोट गरेका हुन्छन् । गत वर्षको एसइई परीक्षामा बढी विद्यार्थी ऐच्छिक विषयमा पनि असफल भएका छन् ।
कतिपय विद्यालयले विद्यार्थीको हित, इच्छा, रुचि भन्दा पनि विद्यालयको स्वार्थ, शिक्षक र खर्चको बचाउमा ध्यान दिने गरेको बुझिन्छ । यसले विद्यार्थीको रुचि, चाहना र क्षमतालाई विद्यालयले कुण्ठित गरेको छ । प्रस्तुत विषयमा शिक्षा, प्रविधि तथा विज्ञान मन्त्रालयको सम्बन्धित निकायले खोज र अनुसन्धान गरी प्रमुख कारण पत्ता लगाई उपचार गर्नुपर्ने हुन्छ । प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई नर्सरीदेखि कक्षा १० सम्म पु¥याउँदा १३ वर्षसम्म लगानी गरेका हुन्छन् । एसइईमा असफल भएपछि लगानीको प्रतिफल शून्य हुन्छ । असफलताको घटनाले अभिभावक र विद्यार्थीमा पर्न गएको मानसिक र आर्थिक वेदना कसले बुझेको हुन्छ ? त्यस विषयमा विद्यालयदेखि स्थानीय र केन्द्रीय तहसम्म तिनै सरकारसमेतले किन र के कारणले लगानीको प्रतिफल सोचे अनुसार आउन सकेन ? जिल्लाका अधिकांश विद्यालयको नतिजा शून्य आउनाको प्रमुख कारण के हुन सक्छन् ? अनुसन्धान र खोजी गरी उपचार गर्न अति आवश्यक देखिन्छ ।
राज्यको आधारभूत विषय शिक्षामा नेपाल सरकारले लगभग दुई खर्ब बजेट खर्चेको छ । शिक्षामा लगानी प्रतिफलको लेखाजोखा र मूल्याङ्कन गर्दा चिन्ताजनक अवस्था छ । सरकारले बजेट खर्चेको छ तर त्यसबाट भएको उपलब्धिको लेखाजोखा गर्ने प्रचलन छैन । मूल्याङ्कन गरी राम्रो नतिजा दिने विद्यालयलाई पुरस्कृत गर्ने र खराब नतिजा दिने विद्यालयलाई दण्ड गर्नुपर्ने हुन्छ । जसले गर्दा शिक्षण सिकाइमा सुधार आउने र नतिजा राम्रो आउन सक्छ । विद्यालय शिक्षामा गुणस्तर कायम हुन सके मात्र विश्वविद्यालयको उत्पादनमा गुणस्तर कायम हुने देखिन्छ । दुर्गम जिल्लाका आधाभन्दा बढी विद्यालयको नतिजा शून्य आउँदा पनि सम्बन्धित विभाग र मन्त्रालय नै अनभिज्ञ जस्ता देखिन्छन् । विद्यालय शिक्षाको शिक्षण सिकाइ र मूल्याङ्कन प्रक्रियामा कुनै सुधार गर्ने सङ्केत देखिएको छैन ।
विद्यालय शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्याङ्कन र परीक्षा प्रणाली एउटै छ तापनि सामुदायिक र निजी विद्यालयमा अभिभावकको लगानीमा व्यापक फरक छ । संस्थागत सामुदायिक विद्यालयमा शिक्षण गर्ने र मूल्याङ्कन गर्ने परीक्षा प्रणाली एकै किसिमको छ । सामुदायिक विद्यालयका विद्यार्थीले निःशुल्क अध्ययन गर्ने अवसर पाएका हुन्छन् । शिक्षक पनि शिक्षा सेवा आयोगबाट छनोट भएर आएका तालिमप्राप्त योग्य मानिन्छन् । राज्यका अधिकांश जिल्लामा सुविधायुक्त विद्यालय भवन निर्माण भएका छन् । सामुदायिक विद्यालयका कक्षाकोठा पनि व्यवस्थित छन्, सहरी क्षेत्रमा स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा र पुस्तकालय पनि व्यवस्थित रूपमा सञ्चालनमा आएका छन् । कक्षामा शिक्षक र विद्यार्थी पनि नियमित उपस्थित भएका हुन्छन् र कक्षाका विद्यार्थी अनुशासित पनि देखिन्छन् । शिक्षक कक्षामा नियमित उपस्थित रहेका हुन्छन्, सिकाउँदा विद्यार्थीले ध्यान दिएर सुनेको भान हुन्छ तर सिकेका विषयमा प्रश्न गर्दा लिखित वा मौखिक कुनै उत्तर आउन सक्दैन । यसको अर्थ विद्यार्थीमा सिकाइ भएको देखिएन । सामुदायिक विद्यालयको शिक्षण सिकाइमा देखिएको प्रमुख समस्या नै यही हो ।
सिकाइमा शिक्षक सक्रिय देखिन्छन्, यद्यपि विद्यार्थी सक्रिय हुनुपर्ने थियो । कक्षा शिक्षणमा एकातर्पm मात्र व्याख्या भएको हुन्छ । शिक्षण गर्दा दुईतर्फी व्याख्या गर्ने रणनीति अपनाउन सकेको अवस्थामा केही सुधार हुने देखिन्छ । यसको अर्थ विद्यार्थीलाई बढीभन्दा बढी सक्रिय गराएको अवस्थामा अवश्य प्रतिफल राम्रो हुन्छ । सिक्ने/सिकाउने विषयमा शिक्षक एउटा कुशल सहजकर्ता भएको अवस्थामा विद्यार्थी बढीभन्दा बढी क्रियाशील भएका हुन्छन् । विद्यार्थीले कुन विषयवस्तु कसरी सिक्ने ? कोसँग सिक्ने ? शिक्षकसँग सिक्ने कि साथीसँग सिक्ने, छिमेकसँग सिक्ने वा अविभावक र अरू कोसँग सिक्न सजिलो हुन्छ ? जस्ता विषयमा शिक्षक प्रमुख निर्देशक हुनुपर्ने हुन्छ ।
नेपालका पहाडी र तराई क्षेत्रका सामुदायिक विद्यालयका नाममा प्रशस्त जग्गा रहेको हुन्छ । विद्यालयमा खेल मैदान, करेसाबारी, कृषि विषयको प्रयोगात्मक कक्षा सञ्चालन गर्न पनि जग्गाको अभाव हुँदैन तर आफ्नो विद्यालयको भूमि विद्यार्थीको प्रयोगात्मक कक्षामा प्रयोग हुन सकेको छैन । बढीभन्दा बढी विद्यालयमा ऐच्छिक विषय कृषि छनोट गर्ने अवसर विद्यार्थीले पाएका हुँदैनन् । विद्यालयको आफ्नो भूमिमा विभिन्न कृषिकर्म गर्न विद्यार्थीलाई सक्रिय गराउन सकेमा विद्यालयलाई आर्थिक लाभ हुने र विद्यार्थीले सिप हासिल गर्ने थिए । विद्यार्थीकै सक्रियतामा विभिन्न जातका बिरूवा उत्पादन गर्ने नर्सरी, फूलबारी र स्थानीय जातका सखरखण्ड, तरुल, हलेदो, अदुवा जस्ता तरकारी लगाउँदा विद्यालयलाई आर्थिक लाभ हुने र विद्यार्थीमा सिपको विकास हुने हुन्छ ।
सामुदायिक विद्यालयका शिक्षक तालिम प्राप्त छन् तर पनि सामुदायिक विद्यालयका विद्यार्थी नै बढीभन्दा बढी असफल भएका छन् । शिक्षकको तालिम पुरानो भयो, पुरानो सिप, क्षमता कक्षाकोठामा पुगेको छैन र पुगे पनि प्रभावकारी शिक्षण हुन सकेको छैन । पाठ्यक्रम परिमार्जन गरी नयाँ आएको छ तर कुनै तहका शिक्षकलाई पनि उक्त पाठ्यक्रम शिक्षण गर्ने हेतुले पुनर्ताजगी तालिमको आयोजना भएको छैन । कुन विषय शिक्षण गर्न के कस्तो शिक्षण रणनीति अपनाउनु पर्छ ? कस्ता शैक्षिक सामग्री प्रयोग गर्नु पर्छ ? भन्ने विषयमा शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ । वर्तमान अवस्थामा शिक्षाको सम्पूर्ण पक्ष स्थानीय सरकारले हेर्ने हुँदा शिक्षकको क्षमता वृद्धि गर्ने विषयमा कुनै योजना भएको देखिएन । कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिवा खाजाको व्यवस्था पनि छ । जे जति सुविधा दिए पनि शिक्षण सिकाइ र विद्यार्थीको उपलब्धिमा कुनै परिवर्तन आएको छैन ।
एउटा बालकलाई असल नागरिक बनाउन घरपरिवार, समाज र विद्यालयको प्रमुख भूमिका हुन्छ । बालकले कस्ता शब्द प्रगोग गर्ने र कस्ता शब्द प्रयोग नगर्ने भन्ने कुरा घरपरिवार, समाज र शिक्षकबाट सिकेको हुन्छ । बालकको पहिलो पाठशाला घर र पहिलो गुरु मातापिता हुन् । टोल, छिमेक र समुदायबाट बालकले असङ्ख्य अनुभव सँगालेको हुन्छ । राम्रा पक्ष ग्रहण गर्ने र नराम्रा पक्ष त्याग्न परिवार र समुदायले सिकाएको हुन्छ । विद्यालयमा विभिन्न समुदायका बालबालिकालाई साथी बनाएको हुन्छ । शिक्षामा गुणस्तर कायम गर्न कक्षामा राम्रो सिकाइ भएको हुनु पर्छ । सिकाइमा सक्षम हुन विद्यार्थी परिपक्व हुनु पर्छ । परिपक्व विद्यार्थीले मात्र राम्रो सिक्न सक्छ र परीक्षामा पनि राम्रो गर्न सक्छ । परीक्षा आउनुभन्दा केही समयअघि सम्बन्धित विषयविज्ञबाट विद्यार्थीलाई परामर्श दिने गर्नु पर्छ । परीक्षामा प्रयोग हुने जस्ता नमुना प्रश्न निर्माण गरी परीक्षार्थीलाई बारम्बार अभ्यास गराउँदा परीक्षामा राम्रो गर्ने सम्भावना बढी हुन्छ । विज्ञद्वारा बारम्बार परामर्श, परीक्षा र पुनः परीक्षा गरी अङ्कन गर्दा विद्यार्थीमा विश्वसनीयता कायम भएको हुन्छ । परीक्षार्थीको कमीकमजोरीलाई औल्याउँदा परीक्षामा गर्ने गल्ती कम हुन्छ ।