चलचित्र ‘कोसेढुङ्गा’ बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । देशभर १०३ सोसहित फिल्म रिलिज भएको हो । सरोज पौडेलको निर्देशन रहेको चलचित्रको कथावस्तु महिलाप्रधान रहेको जनाइएको छ ।
लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । भदौ २० देखि २२ गतेसम्म विभिन्न गतिविधि आयोजना गर्ने निर्णय गरिएको हो ।
‘डी एस ए स्टार २०२५ सिजन–१७’ को अन्तिम प्रतिस्पर्धा ‘मिनी डान्सिङ स्टार’ मा म्यारी तामाङ विजेता बन्नुभएको छ । शीतल तामाङ उपविजेता, ग्रेसिका अधिकारी तेस्रो र एमिया अधिकारी चौथो स्थानमा रहनुभयो । ‘जुनियर डान्सिङ स्टार’ तर्फ रित्रिशा लम्गादेले विजेता र अनुराधा कुलुङ उपविजेता बन्नुभयो ।
सर्वोच्च अदालतले गौतम बुद्धको जन्मस्थल लुम्बिनीआसपासका उद्योग सार्न जारी गरेको आदेशले ६० भन्दा बढी उद्योग स्थानान्तरण गर्नुपर्ने भएको छ । अदालतले दुई वर्षभित्र उद्योग स्थानान्तरण वा बन्दको आदेश गरेपछि एकै पटक त्यस क्षेत्रका सिमेन्ट, इँटा, स्टिललगायतका उद्योग सार्नुपर्ने भएको हो ।
उडान शून्य रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले उडान पुनः उडान सुरु गर्न लागेका छन् ।
प्याव्सन, सप्तरीले सङ्घीय संसदमा पेश गरिएको सङ्घीय शिक्षा विधेयकको केही प्रावधानप्रति आपत्ति जनाउँदै सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
दस ठुला वाणिज्य बैङ्कको अन्तर्राष्ट्रिय गुणस्तरको पूर्ण लेखा परीक्षण गर्न बिहीबार सम्झौता भएको छ । नेपाल राष्ट्र बैङ्कले १० ठुला वाणिज्य बैङ्कको सम्पत्ति गुणस्तर परीक्षण गर्न बङ्गलादेशको हउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई छनोट गरेको थियो । उक्त कम्पनी र राष्ट्र बैङ्कबिच बिहीबार सम्झौता भएको हो ।
नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादनको विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । बिहीबार लगानी बोर्डको कार्यालय र दक्षिण कोरियाली कम्पनी जी फिलोसले नेपालमा हरित हाइड्रोजन उत्पादन प्लान्ट तथा फ्युल सेल प्लान स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले बिहीबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलनमा उत्रेको महासङ्घले धर्नाको कार्यक्रम अन्तर्गत एमाले पार्टी कार्यालय पुगेको हो । बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पनि धर्ना दिइएको थियो । शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।
उत्तर कोरियाली नेता किम जोङ उन आउँदो साता बेइजिङमा आयोजना हुन लागेको सैन्य परेडमा सहभागी हुने चीनको विदेश मन्त्रालयले जनाएको छ । किम पहिलो पटक विभिन्न देशका नेताहरू पनि सहभागी हुने समारोहमा उपस्थित हुन लाग्नुभएको हो ।
नेपाल–भारत सीमावर्ती नाका बैरगनियाबाट अवैध रूपमा नेपाल भित्रिएको सात सय बोरा तस्करीको चिनी बरामद गरी भन्सारमा बुझाउने क्रममा गायब भएपछि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको छ । सशस्त्र प्रहरी मुख्यालयको कानुन महाशाखाले ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतलाई हेडक्वार्टर तानेर अनुसन्धान सुरु गरेको हो । बस्नेतसँगै सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामा र राजेन्द्र बस्नेतलाई जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको छ ।
देशकै पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा रहेको र निकट भविष्यमै सञ्चालन गर्ने तयारी भइरहेको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको सम्पूर्ण निर्माण असोजभित्रै सम्पन्न गरिने बताउनुभयो । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९४.५ प्रतिशत छ ।
भदौ २२ गते मनाइने २२ औँ निजामती सेवा दिवसका अवसरमा ४१ जना निजामती कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । सरकारले हरेक वर्ष निजामती सेवा दिवसका अवसरमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारबाट एक जना, उत्कृष्ट निजामती पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जनालाई गरी ४१ जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
नेपाल आदिवसी जनजाती महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभिने भन्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । विहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै महासंघले प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभ्ने भन्ने निर्णय सच्याई प्रतिष्ठानलाई यथावत राख्न माग गरेको हो ।