छिमेकी मुलुक भारतले सीमानदी महाकाली किनारमा आफूखुसी संरचना निर्माण गर्दै नदीको बहाब नेपालतिर फर्काएको भन्दै दार्चुलाका राजनीतिक दल र नागरिक समाजले मङ्गलबार ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।
आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुरमा नयाँ मतदाता नामावली तथा अद्यावधिक कार्यमा युवाको उत्साहजनक सहभागिता देखिएको छ । जारी रहेको मतदाता नामावली सङ्कलन अभियानमा हालसम्म एक हजार सात सयभन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार असोज १० देखि कात्तिक २० सम्म जम्मा एक हजार ७६५ जनाको नामावली दर्ता भइसकेको छ ।
बाजुराको हिमाली गाउँपालिकाका विद्यालयमा शिक्षक नियमित आउने गर्छन् तर विद्यार्थी भने नआउने गरेको पाइएको छ । वडा नम्बर १ को बिच्छ्याबौडीमा कात्तिक सुरु भएदेखि यहाँ निकै चिसो बढ्न सुरु हुन्छ । यहाँ मङ्सिर, पुस र माघमा बाक्लो हिमपात हुन्छ ।
कैलालीको जानकी गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ ।
रुरुक्षेत्र गाउँपालिका गुल्मीले बजार क्षेत्रमा पर्ने घर टहरा तथा संरचना हटाउन सार्वजनिक सूचना मार्फत अपिल गरेको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले डेढ वर्षदेखि रिडी–तम्घास सडक स्तरोन्नतिको काम गरिरहेको छ ।
गत वर्ष रुकुमपश्चिमको चौरजहारी नगरपालिका–५ मा निर्माणाधीन खहरे मल्यासिम हुँदै सल्यानको नेटा जोड्ने सडकखण्डमा तीन विकासे कार्यालयले ठेक्का तथा कोटेसन लगाएका छन् । सङ्घीय सरकार मातहतको सहरी विकास तथा भवन निर्माण कार्यालयले २०८१ पुस १ गतेका दिन तीन करोड ९० लाख रुपियाँको लागतमा योसहित थप अर्को सडक स्तरोन्नतिका लागि ठेक्का लगाएको हो । यसै गरी सोही सडकमा स्थानीय पूर्वाधार विकास परियोजना कार्यालय सुर्खेतले २०८१ पुस १६ गतेका दिन ८५ लाख एक हजार ६७२ को लागतमा ठेक्का खोल्यो । सोही सडकमा कर्णाली प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय चौरजहारीले असारमा पनि दुई वटा कोटेसन वितरण गरेर काम ग¥यो ।
दंगीशरण गाउँपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरी व्यवसायिक तरकारी खेतीमा लाग्नुभएको छ । लामो समयसम्म गैरसरकारी संस्थामा कार्यरत रहनुभएका चौधरीले २०७४ सालको स्थानीय तह निर्वाचनमा एक गैरसरकारी संस्थाको निर्देशकको पद छोडेर नेकपा (एमाले)को तर्फबाट दंगीशरण गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
कर्णाली प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको सूचना व्यवस्थापन प्रणाली (पिआइएस पोर्टल) को पूर्ण अधिकार बुधबारदेखि औपचारिक रूपमा कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेश र स्थानीय तहका कर्मचारीको सूचनालाई एकीकृत र व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सञ्चालनमा ल्याइएको यो प्रणाली अब कर्णाली प्रदेश सरकारले आफ्नै स्तरबाट सञ्चालन गर्न सक्ने भएको हो ।
कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।
गिट्टी कुटेर हुम्लाका महिलाले आम्दानी गर्दै आएका छन् । अन्नबाली थन्क्याएर बेरोजगार बस्नुभन्दा अतिरिक्त आम्दानी हुने भएकाले महिलाले गिट्टी कुट्ने काम गरिरहेका हुन् । खार्पुनाथ गाउँपालिका–४ को छिप्रागाउँकी रुक्बिनी उपाध्यायले हाल दैनिक गिट्टी कुटेर आम्दानी गर्दै आएको बताउनुभयो । बिहान ९ बाट बेलुका ५ बजेसम्म गिट्टी कुटे कमाइ गर्दै आएको उहाँको भनाइ छ । अन्नबाली थन्क्याउने काम सम्पन्न भएपछि महिलाले दैनिक गिट्टी कुटेर आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य बिमा गरेकाहरूले समयमा औषधी नपाएको, बिमा कार्यक्रम लागुभएका अस्पतालको दिने सेवा गुणस्तर नभएको भन्नेलगायतका गुनासा निरन्तर आउने गरेका छन् तर त्यही स्वास्थ्य बिमाप्रति गाउँघरमा आकर्षण बढ्दो छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष बिमा गराउने र बिमाबाट उपचार सेवा पाउनेको सङ्ख्या बढीरहेको छ ।
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३६ जनालाई पक्राउ गरिएको छ ।
गुल्मीका स्थानीय तहका न्यायिक समितिमा एक वर्षमा एक सयभन्दा बढी उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका न्यायिक समितिमा १३६ उजुरी दर्ता भएका हुन् । जसमध्ये १२३ उजुरी फस्र्योट भएको न्यायिक समितिले जनाएका छन् । जिल्लाका प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी विवाद समाधानसमेत गरिएको छ । विशेष गरी मानाचामाल, अंशबन्डा, लेनदेन, ज्याला मजदुरी, साध सिमाना जस्ता मुद्दा प्रमुख रूपमा दर्ता हुने गरेका छन् । गाली बेइज्जती, सामान्य कुटपिट, घरेलु हिंसा, श्रीमान्श्रीमतीबिचको बेमेललगायतका उजुरी पनि आउने गरेका छन् ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनका लागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्वबारे तालिम आवश्यक पर्छ ।
लामो समयसम्म नारायणी नदी पार गर्न काठको डुङ्गामा निर्भर रहँदै आएको सुस्ता अहिले सुगम बन्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुस्ता गाउँपालिकाको नाम यसको ऐतिहासिक स्थल ‘सुस्ता’ बाट राखिएको हो तर यही सुस्ता गाउँ लामो समयसम्म आफ्नै गाउँपालिकाको मुकामसँग पनि टाढा रहँदै आएको थियो । एकातर्फ भारतीय अतिक्रमणको पीडा, अर्कातर्फ आधारभूत पूर्वाधारको अभावले सुस्तावासीको जीवन विगतमा निकै पीडादायी थियो ।