गोरखाको पालुङटार नगरपालिका –३ बोगटी गाउँका शङ्कर सुनारको कुटपिटबाट उनको श्रीमतीको मृत्यु भएको छ । श्रीमानको निर्घात कुटपिटबाट २१ ब्र्षिया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो ।
झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् ।
लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले लोकसेवा परीक्षामा कुनै किसिमको पक्षपात, विभेद र कसैमाथि अन्याय नहुने हुनाले जेहेन्दारले अवसर पाउनेगरेको बताउनुभएको छ । ‘लोकसेवामा पनि भनसुन हुन्छ कि ! भन्ने आशंका छ भने त्यो आशंका आजैबाट हटाइदिनुस्’ उहाँले आग्रह गर्नुभयो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव दिइएको छ । बिहीबार फुङ्लिङ बजारको अनुगमन गर्दै अनुगमन टोलीले व्यापार व्यवसाय गर्दा व्यावसायिक मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
नेपाली कांग्रेसका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । विशेष महाधिवेशनलाई लिएर जिल्लामा ध्रुवीकरण देखिएको छ ।
बाँके जिल्लाका दुई ठुला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समेत समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । हेटौँडा फुलकन्ट्याक्ट क्योकुसिन करातेका ८ खेलाडीलाई बिहीबार एक कार्यक्रमबिच बिदाइ गरिएको हो ।
कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी दर्ता प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । बिहीबार जिल्लाको बेदकोट नगरपालिकाका ९३ भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जग्गा धनी प्रमाणपत्र रातो पुर्जा वितरण गरिएको हो ।
सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।
जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो ।
म्याग्दीमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।