काठमाडौं, असार १८ गते । नेपाली चलचित्र 'प्रसाद २' निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने चलचित्रकाे निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ। चलचित्र २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवास थापाले निर्माण गर्न लाग्नुभएको हो । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिबद्धता जनाउनुभयो । सञ्चारमाध्यममा पारिश्रमिक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागे पनि त्यो सत्य नभएको र अन्य फिल्महरुको समय र आउने फिल्मको समय एकैपटक हुँदा काम गर्न नसकेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले 'प्रसाद २' झनै राम्रो हुनेमा विश्वस्त रहेको बताउनुभयो । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मि पाण्डे, गीता अधिकारीलगायतको अभिनय रहनेछ ।
कैलालीमा सेतो भँगेरा फेला परेको छ । कैलारी गाउँपालिका–१ हसुलिया बजारमा आँखा बाहेक प्वाँख सेतो रहेको भँगेरा फेला परेको हो । फोटोग्राफर कुलराज चौधरीले शुक्रबार सो भङ्गेरा फेला पार्नुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने सङ्केत गर्नुभएको छ । नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुने बताउनुभएको हो ।
विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाब थेग्न आयात घटाउनुपर्ने अर्थविद्हरूले सुझाव दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नालिजम स्टडिजले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था विषयक’ छलफल कार्यक्रममा अर्थविज्ञहरूले मुलुकको आर्थिक अवस्था बिग्रिसकेको नभए पनि यसप्रति सजग रहन आग्रह गरेका हुन् । बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा कमी आएकाले अत्यावश्यक बस्तु र सेवाबाहेकका आयातमा कडाइ गर्नुपर्नेमा अर्थविज्ञहरूले जोड दिएका छन् ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुमगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली बारा पुग्नुभएको छ ।
हावाको वेग सरी फेसन पनि परिवर्तन भइरहेको हुन्छ । कहिले कुन फेसन आउँछ त कहिले कुन । अहिले युवतीमाझ बुट्टेदार स्कर्ट फेसनमा आएको छ । लामो स्कर्ट, चेक प्रिन्ट, बेल्ट र फूलबुट्टा डिजाइनमा निकै रुचाइएको व्यापारीहरूको भनाइ छ ।
विद्युतीय पोल भाडाको विवाद समाधानका लागि सरोकारवालाले सहकार्य र सहप्रयोगलाई जोड दिएका छन् । इन्टरनेट विस्तारमा विद्युतीय पूर्वाधारको योगदान सम्बन्धमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सहभागीले पोलभाडा विवाद नसुल्झिए त्यसको असर उपभोक्तालाई पर्ने भन्दै सामूहिक प्रयत्नको खाँचो आवश्यक रहेको बताएका हुन् ।
सिनेमा घरहरूमा भोजपुरी चलचित्र ‘रण’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।निर्देशक चन्द्र पन्तको निर्देशनमा रहेको भोजपुरी चलचित्रले तीन दर्जनभन्दा बढी हलबाट नेपालमा प्रदर्शनको सुरुवात गरेको हो । चलचित्रमा अभिनेता नरेन खड्का, आन्नद ओझा, काजल रघवानी, आएज खान, सीपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रलगायतको अभिनय छ ।
नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ । दक्षिण कोरियाको सिओलमा शुक्रबार भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत पदक जित्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरणले २८ दिनमा एक अर्ब ७२ करोड रुपियाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले विद्युत् खरिद बिक्री गर्ने भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)मा नेपालमा बचत भएको बिजुली बेचेर उक्त आय गरेको हो । यो अवधिमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसामा बिक्री गरेर प्राधिकरणले खुद आम्दानी गरेको हो । यो आम्दानीमा कमिसन, कर तथा ह्विलिङ चार्ज कटाइएको प्राधिकरणले जनाएको छ ।
महोत्तरीमा आत्महत्याका घटना दिनानुदिन डरलाग्दो रूपमा वृद्धि हुँदै गएका छन् । गएको दुई महिनाकै अन्तरालमा आठ जनाले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । पछिल्लो दुई आर्थिक वर्षमा आत्महत्याको अवस्था झन् भयावह देखिएको छ । यस अवधिमा २२९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घटना दर्ता रहेको छ ।
क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय ओन्टारियोविरुद्धको अभ्यास खेलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेपालले नेपालले ओन्टारियोलाई ६९ रनले हरायो ।
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । लेखक-निर्देशकका रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो ।
गुल्मीमा सहोदर बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।