• ७ जेठ २०८१, सोमबार

आत्महत्याको डरलाग्दो तथ्याङ्क

blog

जलेश्वर, असार १८ गते । महोत्तरीमा आत्महत्याका घटना दिनानुदिन डरलाग्दो रूपमा वृद्धि हुँदै गएका छन् । गएको दुई महिनाकै अन्तरालमा आठ जनाले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । पछिल्लो दुई आर्थिक वर्षमा आत्महत्याको अवस्था झन् भयावह देखिएको छ । यस अवधिमा २२९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घटना दर्ता रहेको छ ।  

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार यही असार महिनाको बितेको दुई साताभित्र पाँच जनाले आत्महत्या गरेका छन् भने एक जनाले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । यस्तै गएको जेठ महिनामा तीन जनाले आत्महत्या गरेका थिए । 

असार १५ गते जलेश्वर नगरपालिका–४ घर भएका २१ वर्षीया नीभाकुमारी महतोले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धको कारण घरायसी विवाद भएको र सोही कारण महतोले आत्महत्या गरेको प्रहरीको बुझाइ छ । यस्तै असार १४ गते मटिहानी–२, बर्दाहा घर भएका ४५ वर्षीय नागेन्द्र यादवले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । यादवले आफ्नै घरदेखि एक किलोमिटर पूर्वमा रहेको आँपको रुखमा नाइलनको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

असार ६ गते पिपरा गाउँपालिका–७ बस्ने आशाराम दासले घरायसी विवादको कारण आफ्नै घरको छतमा फलामको डण्डीमा पासो लगाइ आत्महत्या गरेको थिए । दासले घरायसी विवादका कारण ४० वर्षीया श्रीमती रेखादेवीलाई बञ्चरो प्रहार गरी सख्त घाइते बनाइ आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क केलाउँदा सवारी दुर्घटना, अपराधिक घटना र भवितव्य ज्यानको घटनाको अनुपातमा आत्महत्याका घटना बढ्दो क्रममा रहेको देखिएको छ । 

वर्षैपिच्छै आत्महत्याको क्रम बढ्दै जानु डरलाग्दो अवस्था भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णबहादुर पंगेनीले बताउनुभयो । विगत दुई वर्षको प्रहरी तथ्याङ्कले जिल्लामा आत्महत्याको घटना झन् भयावह रूपमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा ९६ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ८० जनाले पासो लगाई झुण्डिएर र १६ जनाले विष सेवन गरी आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७८ /०७९ मा १३३ जनाले आत्महत्या गरेको घटना जिल्ला प्रहरी कार्यालय महोत्तरीको मुद्दा शाखामा दर्ता किताबमा उल्लेख छ ।

आत्महत्याका घटना बढ्नुको प्रमुख कारणमा दीर्घरोग लागेका मान्छे, उपचार हुन नसकेको मान्छे, आर्थिक रूपमा कमजोर, पढाइमा असफलता, प्रेम सम्बन्ध असफल, ऋणको बोझ, मानसिक रूपमा विक्षिप्त र रोगीरहेको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो । आत्महत्याका घटना न्यूनीकरणका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतना फैलाउने काम गर्दै आएको छ । पंगेनीले भन्नुभयो, “जिल्लाभरि नै सो कार्यक्रमअन्तर्गत आत्महत्याका विषयसमेत समेटेर जनचेतना फैलाउने काम गर्दै आएका छौँ ।”

जिल्लामा हुने आत्महत्याका घटना न्यूनीकरणका लागि प्रहरीले मात्र प्रयास गरेर सम्भव नहुने प्रहरी उपरीक्षक पंगेनी भन्नुहुन्छ, “पछिल्लो अवस्थामा वैदेशिक रोजगारीको कारण पुरुष घरमा नहुने र महिला एक्लै हुने कारणले बाहिरको मान्छेसँग सम्बन्ध गाँस्ने गरेको र त्यसको बारेमा घरपरिवार र समाजले थाहा पाउने डरले आत्महत्या गरेका घटना धेरैजसो प्रहरीमा आउने गरेको छ ।” 

महिला पुनस्र्थापन केन्द्र (ओरेक)का जिल्ला कार्यक्रम अधिकृत लीला दियालीका अनुसार हिंसा सहन नसकेर न्यायका लागि भौँतारिनु र घरभित्रै हुने हिंसाको अवस्था झन्झन् वृद्धि हुँदै जानुले पनि आत्महत्याका घटनामा वृद्धि भएको हो । धेरै जना डिप्रेसनमा जाने तर भलाकुसारी र गुनासो गर्ने ठाउँ नहुँदा आत्महत्याको घटनामा वृद्धि भएको दियालीले तर्क गर्नुभयो । समयको परिवर्तनसँगै अभिभावक, परिवार र समाज परिवर्तन हुनुपर्छ । 

सामाजिक सन्तुलन बिग्रँदा आत्महत्याको घटनामा वृद्धि भएको यहाँका बुद्धजीवीको भनाइ छ । परिवर्तन तीव्र गतिमा अघि बढे पनि परम्परागत सामाजिक संरचना र किशोर–किशोरीको आकाङ्क्षा बढेकाले सन्तुलन नमिल्दा आत्महत्या गर्ने चिकित्सक गिरेन्द्र झाको भनाइ छ ।