मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
रसुवामा चोरीका घटना बढ्दै
रसुवामा शृङ्खलाबद्ध रुपमा चोरीका घटना भएका छन् । गत वैशाख पहिलो हप्तादेखि चोरीको घटनामा बढोत्तरी भएको देखिएको छ । जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतमा चोरी भएको छ ।
सवारी लाइसेन्सको नयाँ आवेदन आज साँझदेखि
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन प्रणाली सोमबार साँझदेखि सुरु गरिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी गराएको हो ।
लिमीको स्रोत केन्द्रमा ११४ चौरी थपिए
नाम्खा गाउँपालिका–६ को लिमीको चौरी स्रोत केन्द्रमा ११४ वटा चौरी थपिएका छन् । चौरी पालनको राम्रो सम्भावना भएको लिमीमा तीन वर्षअघि चौरी पालन स्रोत केन्द्र स्थापना गरेर चौरी थप्ने कार्य जारी रहेको हो ।
विमान दुर्घटना स्थलमा हेलिकोप्टर अवतरण, शव सङ्कलन सुरु
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका यात्रुको शव सङ्कलन सुरु गरिएको छ । जहाज भीरमा ठोक्किएर दुर्घटना भएपछि विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको सव छरपष्ट अवस्थामा रहेको र सङ्कलन कार्य सुरु भएको यार्चागुन्बु सङ्कलन गर्न पुगेका बाग्लुङका विसाल मगरले घटनास्थलबाट जानकारी दिनुभयो ।
मृगलाई हानेको गोली लागेर एकको मृत्यु
ऐरावती गाउँपालिका वडा नं. १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । दोबाटो सामुदायिक वनको डाँडाथरी भन्ने ठाउँमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खानेपानीका लागि ३७ अर्ब ३५ करोड
सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
चितवन जोड्न तीन द्रुतमार्ग
सरकारले चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्न तीनवटा द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्का दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत बजेटमा उक्त घोषणा गर्नुभएको हो । अर्थमन्त्री शर्माले चितवनसम्मको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन दु्रर्तमार्ग निर्माण गर्ने, त्यसैगरी, चितवन–रामपुर चितवन, चितवन–रामपुर–पोखरा दु्रतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड मार्फत प्रक्रिया अगाडि बढाइने बताउनुभयो । त्यसैगरी, सिरहाको मिर्चैया–लुक्ला–सगरमाथा दु्रतमार्ग समेत निजी क्षेत्रको लगानीमा निर्माण गर्ने प्रबन्ध मिलाइने बजेटमा उल्लेख छ ।
वन र वातावरण क्षेत्रमा १३ अर्ब ‘जनताको रहर : हरित सहर’
सरकारले आगामी वर्ष वन तथा वातावरणको क्षेत्रमा १३ अर्ब रुपियाँ खर्च गर्ने भएको छ । सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न आवश्यक बजेट छुुट्याइएको छ । आगामी वर्ष पहाडी र हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडिबुटीको प्रशोधन उद्योगलाई प्रोत्साहन दिई जडिबुटी खेतीको बीमा गरिने छ ।