• २ माघ २०८१, बुधबार

राष्ट्रिय चेसमा पुरुषोत्तमको एकल अग्रता

blog

काठमाडौँ, जेठ २० गते। १५ वर्षीय पुरुषोत्तम सिलवालले आइतबार राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सकिँदा एकल अग्रता बनाउनुभएको छ।

नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेण्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा युवा पुरुषोत्तमले पहिलो खेलमा दोलखाका राजीव कार्की, दोस्रो चरणमा काभ्रेका पूर्व नेपाल च्याम्पियन क्षितिज भण्डारी र तेस्रो चरणमा काठमाडौँका अर्का पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराउनुभयो।

२११२ रेटिङ्गवाट खेल सुरु गरेका पुरुषोत्तमले ३६ रेटिङ्ग वृद्धि गर्दै आफ्नो फिडे रेटिङ्ग २१४९ पुर्‍याउनुभएको छ। प्रतियोगितामा एकल अग्रता बनाएपछि पुरुषोत्तम हंगेरीमा हुने ४५ औँ ओलम्पियाडतर्फ पनि उन्मुख बन्नुभएको छ यस प्रतियोगिताबाट खुल्ला पुरुषतर्फ तीन र महिला चार जना हंगेरीको बुडापेष्टमा सेप्टेम्बर १०–२३ सम्म हुने ४५ औँ चेस ओलम्पियाडमा चयन हुने प्रावधान रहेको छ।

अर्का युवा खेलाडी एआईएम सुश्रुत दाहाल पनि दुई जित र एक खेल बराबर खेल्दै अपराजित यात्रासहित दोस्रो स्थानमा बनाउन सफल हुनुभएको छ। पहिलो चरणमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग बराबरी गर्नुभएका सुश्रुतले दोस्रो चरणमा झापाका राजन सुवेदी र तेस्रो चरणमा सिएम मिलन लामालाई पराजित गर्नुभयो।

११ चरणको राउण्ड रविन प्रतिस्पर्धापछि नयाँ नेपाल च्याम्पियन छानिने दौडमा मिलन लामा, क्षितिज भण्डारी, झापाका राजन सुवेदी र प्रकाशचन्द्र नेपाल दुई २ अङ्कका साथ संयुक्त रूपमा तेस्रो स्थानमा उभिनुभएको छ। काठमाडौँका प्रेमकृष्ण महर्जन, ललितपुरका सुरोज महर्जन, धनुषाका सुशील चौधरी र राजीव कार्कीले समान एक–एक अङ्क बनाउनुभएको छ।

वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल दोस्रो चरणमा राजीव कार्की र तेस्रो चरणको खेलमा क्षितिज भण्डारीसँग स्तब्ध हुनुभएको छ।  पूर्व च्याम्पियन केशव श्रेष्ठले अङ्कको खाता पनि खोल्न सक्नुभएको छैन।

यसैगरु नवौँ महिला नेशनल च्याम्पियनसिपमा पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, काठमाडौँका रिया श्रेष्ठ, मोरङ्गका शान्ति धिमाल र कास्कीका पूजा भण्डारी समान तीन–तीन अङ्कका साथ संयुक्त अग्रस्थानमा हुनुहुन्छ। झापाकी पुनम प्रसाईँ, कृतिसरा अधिकारी दुई–दुई अङ्कसहित संयुक्तरुस्पमा दोस्रो स्थानमा तथा विनीता कपाली र सुशीला गुरुङको एक–एक अङ्कसहित संयक्तरुपमा तेस्रो स्थानमा रहनुभएको छ।