नागरिकता विधेयक नयाँ ल्याइने
सरकारले चार वर्षदेखि संसद्मा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक संसद् लैजाने निर्णय गरेको हो । उक्त विधेयक सङ्घीय संसद्मा २०७५ साउन २२ गते दर्ता भएको थियो । २०७७ असारमा समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भएको थियो ।
हत्केलामा ज्यान, पढाइमा ध्यान
व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
राहदानी बनाउन साइबरमा कागज
सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थियो तर आफ्नो पालो आउन करिब एक साता लाग्ने भएपछि उहाँ कसरी छिटो बनाउने भन्ने ध्याउन्नमा दैनिकजसो नै त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आउन थाल्नुभयो ।
उपकुलपतिविहीन विश्वविद्यालयको तयारी
विश्वविद्यालयहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, सहकुलपति तथा उपकुलपति नहुने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयू) स्थापना गर्न लागेको छ । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक सोमबार सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भएको छ । अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपति कार्यालयले प्रमाणित गरेपछि विधेयकले कानुनी मान्यता प्राप्त गर्नेछ ।
अझै बन्न सकेन ‘होल्डिङ सेन्टर’
मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् ।कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन सकेको छैन । सरकारले निर्णय गरेका आठ ठाउँमध्ये अहिलेसम्म एउटाको जग्गा प्राप्ति नै हुन नसक्दा कार्यक्रम नै रद्द गरिएको छ भने बाँकीको निर्माण कार्य अझै चलिरहेको छ ।
हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा
नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार)देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस)अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो ।
मानसिक समस्या भएका महिला असुरक्षित
मानसिक अवस्था ठीक नहुँदा घर छाडेर हिँडेकी एक महिलाले बच्चा जन्माउनुभयो । बैतडीको मेलौली घर भएकी ती महिलालाई बच्चाको बाबु को हो थाहा छैन । ती महिलामा बलात्कार भएर गर्भ रही बच्चा जन्मेको शङ्का छ । स्वास्थ्य कार्यालय बैतडीको पहलमा ती महिला र बच्चाको उद्धार गरेर उपचार भइरहेको छ ।
विपत्तिमा सहारा
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेँसीमा रहेको पुल २०५१ साल साउनमा आएको बाढीले बगायो । राजधानीसँग जोड्ने मुख्य राजमार्ग नै ठप्प हुँदा आवतजावतसँगै अत्यावश्यक वस्तुको ढुवानीमा ठूलो समस्या भयो । निरन्तरको वर्षा र पहिरोले वैकल्पिक सडक तयार गरी सडक सुचारु गर्ने अवस्था भएन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अवरुद्ध राजमार्ग खुलाउन अनेक प्रयास ग-यो । कमजोर भूबनोटको कारण पहिरो झन् थपिन थाल्यो । नेपाली सेनाले भारतबाट बेलिब्रिज मगाएर हप्ता दिनपछि राजमार्ग सञ्चालनमा ल्यायो ।
नयाँ टर्मिनल भवन बन्दै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ ।२००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको छ ।