ओखलढुङ्गामा चुनावी सुरक्षामा १२ सय सुरक्षाकर्मी
शेरबहादुर राईओखलढुङ्गा, वैशाख १० गते । ओखलढुङ्गामा चुनावी सुरक्षाका लागि बाह्रसय सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लाको आठ वटै स्थानीय तहमा हुने चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका हुन् । जिल्लामा चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरि १२ सय भन्दा बढी सुरक्षाकर्मी खटाइने निर्णय भएको जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मतदान केन्द्रहरुको अनुगमन गरी संवेदनशील केन्द्रहरुको पहिचान गरेको पनि प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिनुभयो ।सुरक्षाकर्मी अपुग भएमा प्रदेशबाट थप सुरक्षा व्यवस्था मिलाउन पहल भईरहेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
गोदावरी नपामा झण्डै तीन करोड हिनामिना सातजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं, वैशाख ८ गते । कैलाली जिल्लाको गोदावरी नगरपालिकाका सातजना कर्मचारीसहितको मिलोमतोमा झण्डै तीन करोड रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले बिहीबार सातजना कर्मचारीविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र ठेक्केदारले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको ठहर आयोगको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत सातजना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको छ । आयोगले तत्कालीन प्रशासकीय अधिकृत खेमराज भट्टविरुद्ध ३१ लाख ३७ हजार ८५३ रुपियाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । यसैगरी, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी २५ लाख ५२ हजार ८८६ रुपियाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४०, तत्कालीन सब इन्जिनियर ज्ञानेन्द्र बुढा ४३ लाख १७ हजार ६६६ र तत्कालीन सब इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४५९ रुपियाँ आर्थिक हिनामिना गरेको अभियोग लगाइएको छ । यसैगरी, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर बिष्टले ५३ लाख ५१ हजार २३४ हानि नोक्सानी गरेको र निर्माण व्यवसायी गणेश विष्टले ५० लाख ३१ हजार ५४ रुपियाँ हिनामिना गरेको आयोगको दाबी छ ।
सीआईबीबाट छानबिनकाे माग, पोष्टमार्टम रिपोर्टपछि मात्रै अन्त्येष्टि गरिने
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ५ गते । रुपन्देहीको तिलोत्तमा २ की २८ वर्षीया एक महिलाको शङ्कास्पद ज्यान गएपछि शुरु भएको आन्दोलन अझै रोकिएको छैन । अमृता खत्री टण्डनको रहस्यमय रुपमा मृत्यु भएको पाँच दिन बितिसके पनि घटनाको विवाद झन् चर्किरहेको छ । उहाँको चैत्र ३० गते राति मृत्यु भएको हो । अहिले दैनिक माइती पक्षले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।पछि माइती पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गराउन माग गरेका छन् ।आइतबार माइती पक्षले तिलोत्तमा २ जानकीनगरमा पत्रकार सम्मेलन गर्दै विष सेवन नभई हत्या नै भएको दाबी गर्दै अनुसन्धान फितलो नबनाउन खोजिएको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । ज्यान कसुरमा मुद्दा दर्ता गर्न जाँदा आलटाल गरेको मृतकका दाजु पुष्पक खत्रीको आरोप छ । ‘राति ९ः३२ सम्म मसँगै कुरा भएको छ, ९ः५० मा लुम्बिनी अस्पतालले मृत भनेको छ । ढोका खुल्लै छ, बेड जस्ताको तस्तै छ,’ पुष्पकले भन्नुभयो, ‘सरसर्ती हेर्दा पनि बहिनीको हत्या भएकै देखिन्छ ।’उहाँले आफूहरु अन्यायमा परेको बताउँदै प्रहरीबाट निष्पक्ष अनुसन्धानको चाहना राखेको बताउनुभयो । विष सेवन गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा उपचारका क्रममा मृत्यु भएको भनिए पनि घटना शङ्कास्पद देखिएपछि पीडितले हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । अमृताका दाजु खत्रीले दिएको जाहेरीपछि वैशाख १ गते प्रहरीले अमृताका श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासु दीपा टण्डनलाई पक्राउ गरेको छ । शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने माइती पक्षले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताउनुभयो । यतिबेला आन्दोलनभन्दा पनि आफूहरुलाई अनुसन्धानमा सघाउन उहाँले पीडित पक्षसँग आग्रह गर्नुभएको छ ।