तनहुँ, चैत ८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडकखण्डमा पर्ने चार लेनको फराकिलो चिटिक्क कालोपत्रे सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य करिब ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । तस्बिरः रासस
मुस्ताङ, चैत ८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–४ पक्की पुलबाट देखिएका कालीगण्डकी नदी माथि पुनःनिर्माण पछिको व्यवस्थित काठेपुलसँगै जोमसोम बजार, हिउँसहितको धौलागिरि र निलगिरि हिमाल । तस्बिरः रासस
कर्णाली, चैत ८ गते । ‘दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्न बनेको विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको आजको बसेको २३औँ बैठकबाट उक्त विधेयक पारित भएको हो । सभामुख नन्दा गुरुङले विधेयक पारितका लागि सदनमा प्रस्ताव गर्न समय दिएपछि कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सामाजिक विकास समितिको प्रतिवेदनमा उल्लेख भएका संशोधन प्रस्तावहरू विधेयकको अङ्ग हुनेगरी समग्र विधेयक कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १३० बमोजिम सभाबाट पारित गर्न सभामा प्रस्ताव गर्नुभयो ।उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको थियो । दलित समुदायमाथि हुने छुवाछूत, असमानता, विभेद अन्त्य गर्न तथा सामाजिक न्याय, मौलिक हक, मानवअधिकारको सुनिश्चितता र जीवनस्तर प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशसभा आठ महिनाअघि सो विधेयक दर्ता भएको थियो । सभाको अर्को बैठक यही चैत ८ गते दिउँसो ३ः०० बजे बस्ने सभामुख सभामुख गुरुङले जानकारी दिनुभयो ।
काठमाडौँ, चैत ८ गते । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ ।बिहीबार मात्र प्रतिनिधिसभाले ‘निजीकरण ९पहिलो संशोधन विधेयक०, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । यी तीनवटै विधेयकले मुलुकको अर्थतन्त्रलाई थप लयमा लैजान मद्दत गर्ने सरकारको बुझाइ छ ।सरकारले ‘निजीकरण ऐन, २०५०’ लाई समयानुकूल बनाइएको छ । सो ऐनको पहिलो संशोधन गर्दै सरकारले विधेयक प्रस्तुत गरेको हो । यसमा सरकारी लगानी व्यवस्थापन तथा प्राथमिकता निर्धारण गर्ने विषयलाई महत्त्वका साथ समावेश गरिएको छ ।सरकारले यसअघि सङ्घीय संसद्को बैठक नबसेको समयमा सो विधेयकलाई अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको थियो । घाटामा रहेको, रूग्ण अवस्थामा भएका वा अन्य कुनै पनि कारणले समस्यामा परेको उद्योग प्रतिष्ठानलाई थप सबल बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरिएको अर्थ मन्त्रालयको भनाइ छ ।प्रतिनिधिसभाले पारित गरेसँगै अब सो विधेयक राष्ट्रियसभामा जानेछ । प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित राष्ट्रियसभाको शुक्रबारको बैठकमा टेबुल गर्ने कार्यसूची तय गरिएको छ । विधेयकले आवश्यक प्रक्रिया पूरा भएपछि ऐनका रूपमा कार्यान्वयन हुनेछ ।विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताहरूको प्रश्नको जवाफ दिँदै उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरणलाई निर्विकल्प बनाउन नहुने बताउनुभएको थियो । उहाँले कमजोर क्षमतामा चलेका, रूग्ण र बन्द रहेका सार्वजनिक प्रतिष्ठानहरूलाई प्रभावकारी ढङ्गमा सञ्चालन गर्नका लागि निजीकरणलाई एकमात्र विकल्पका रूपमा लिनु हँुदैन भन्ने संशोधनको मूल मर्म हो भन्नुभयो । प्रतिपक्षी दलका सांसदहरूले देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने टिप्पणी गर्नुभएको थियो । यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । सो विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउने सरकारको बुझाइ छ ।विधेयकले नेपालको संविधानको मर्म र सङ्घीयताको मर्मअनुरूप नै बजेट निर्माण गर्ने विषयलाई सूत्रबद्ध गरेको छ । राष्ट्रिय आवश्यकता र राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको छनोट गरी लगानीको स्रोत सुनिश्चितताका लागि विधेयकले मार्गप्रशस्त गरेको अर्थमन्त्री पौडेलले विश्वास व्यक्त गर्नुभएको थियो । प्रदेश र स्थानीय तहलाई के–कसरी बजेट परिचालन गर्ने, त्यसको आधार के–कस्ता रहने भन्ने विषय विधेयकमा समेटिएको छ । त्यस्तै प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पनि पारित गरेको छ । सो विधेयकले पनि आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।विभिन्न ऐनलाई सरकारले समयानुकूल र लगानीमैत्री बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरेको हो । सो विधेयकले विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९, राजस्व न्यायाधीकरण ऐन, २०१३, कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ का केही प्रावधान संशोधन गरेको छ । यसैगरी, मध्यस्थता ऐन, २०५५, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६ पनि सो विधेयकमार्फत संशोधन गरिएको छ ।विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्न विधेयक ल्याइएको बताउनुभएको थियो ।“राम्रो नियत र असल उद्देश्यले देशको आर्थिक समस्याको समाधान गर्दै आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा स्वदेशी र लगानी प्रवर्द्धनका लागि विधेयक ल्याइएको छ । यसको अहिले सकारात्मक प्रभाव देखिन थालेको छ”, उहाँले भन्नुभयो ।विधेयकमार्फत उपभोक्ताको हकहित सुनिश्चित गर्न उपभोक्ता अदालतको व्यवस्था गरिएको, कालोबजारी व्यवस्था ऐनलाई आवश्यक परिमार्जन गरी उपभोक्ता हितका लागि कानुन बनाइएको उहाँको भनाइ थियो ।विधेयकमा राजस्व चुहावट नियन्त्रण, हदभन्दा बढी जग्गाको व्यावसायिक प्रवर्द्धनका लागि उक्त जग्गाको ५० प्रतिशतसम्म धितो राख्न पाउने व्यवस्था गरिएको छ । सो धितोबापतको ऋण चुक्ता गर्ने दायित्वबाट उम्किन नसक्ने प्रावधान विधेयकमा छ ।
काठमाडौँ, चैत ८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ०४ पैसा र बिक्रीदर २० रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
मकवापुर, चैत ८ गते । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उहाँहरूले खेती गर्नुभएको हो । पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ । आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन् । आफ्नो जमिन नभएकी दलित समुदायकी चम्पामाया परियारले खेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया बिहान सबेरै घरको काम सकेर गोठका गाईवस्तुलाई घाँस पराल दिन सामुदायिक वनभित्रको हाइटेन्सनमुनि पुग्नुहुन्छ । जडीबुटी आयआर्जन समूह नै बनाएर उक्त समूहका सदस्यसहित गरिएको खेतीले उहाँलाई आत्मसन्तुष्टिसँगै आर्यआर्जनका लागि बाटो बनाइदिएको उहाँ बताउनुहुन्छ । घरमा पालिएका गाईबाख्रालाई पनि जडीबुटीखेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गर्नुहुन्छ । आयआर्जनका मुख्यस्रोत जडीबुटीखेती बनाउन कम्मर कसेर लाग्नुभएकी परियारलाई सामुदायिक वनको हाइटेन्सनमुनि गरिएको जडीबुटी र घाँसपातसँगको लगाव र झुकावले घर बस्नै नसक्ने बनाएको छ ।नौ वर्षअघिदेखि वनस्पति कार्यालयबाट उपलब्ध गराइएकोे सर्पगन्धाबाट सुरु गरिएको खेती पछि गएर उहाँले समूहसँग मिलेर बेसार र अदुवाखेतीको पनि विस्तार गर्नुभएको छ । उहाँहरूले उत्पादन गरेको जडीबुटी, अदुवा, बेसार बिक्री गर्न खासै समस्या नभए पनि बीउपुँजी बढाउन पाए हुने भन्ने उहाँलाई लागेको छ । पानी पर्दा ओत लाग्न र खेतीलाई अस्थायी रूपमा भित्र्याउन खेती भइरहेको स्थानमा नै टहरा निर्माण गर्नुभएको छ । उक्त टहरा निर्माणका लागि बागमती प्रदेशसभा सदस्य भारती पाठकको आर्थिक सहयोग, समूहको श्रमदानबाट सम्भव भएको चम्पामायाको भनाइ छ । चम्पामायालाई अहिलेको समूहकी अध्यक्ष चम्पा बन्नका लागि निकै सङ्घर्ष गर्नुपरेको थियो । सानो उमेरमा दमाई भनेर हेपिनुभएकी उहाँ अहिले समुदायकै प्रेरणा बन्नुभएको छ । समूहमा लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकास गर्नुभएकी उहाँको जीवन अहिले जति सुन्दर देखिन्छ उहाँले भोग्नुभएको दुःखको कथा पनि त्यत्तिकै कहालीलाग्दो छ । सानो छँदा उहाँलाई हेप्नेमात्र होइन, नागरिकता बनाउँदा पनि उहाँको थर दमाई लेखिएको सम्झँदै तत्कालीन नागरिकता वितरण गर्ने अधिकारीप्रति आक्रोश पोख्नुभयो । उहाँको मात्र होइन, उहाँका श्रीमान्को नागरिकतामा पनि थर दमाई उल्लेख गरिएको छ । सोही कारण आफ्ना छोराछोरीको नागरिकतामा पनि दमाई लेखिएको बताउँदै उक्त कारणले छोराछोरीमा हीनताबोध गराएको उहाँ सुनाउनुहुन्छ ।उक्त क्षेत्रका महिलाको आदर्श बन्नुभएकी उहाँले यही समाजमा रहन बस्न निकै सङ्घर्ष गर्नुपरेको सम्झनुहुन्छ । मकवानपुरको मकरीमा जन्मनुभएकी परियारको पारिवारिक तथा पुख्र्यौली काम भनेको कपडा सिलाउनु थियो । तर अन्य समुदायमा छोराछोरीबीच विभेद भएजस्तै उहाँको घरमा पनि उहाँलाई खाना बनाउन सिकाइन्थ्यो भने उहाँका दाजुभाइलाई कपडा सिलाउन सिकाउने गरेको उहाँ सम्झनुहुन्छ । खेत जोत्ने, किसानी गर्ने परिवारमा विवाह भएर गएपछि खेत जोत्ने, वन जाने, मेला जाने मेरो दैनिकी नै भयो । त्यही क्रममा गर्भवती हुँदा समेत रूखबाट लडेर थला परेँ, छोरासमेत गुमाएको उहाँले बताउनुभयो ।मकवानपुरको सरिखेतबाट मनहरीमा बसाइँ सरेर आएपछि उहाँ अनेमसङ्घमा आबद्ध हुनुभयो । उहाँले सोही समयबाट प्रौढ शिक्षा पढेर साधारण लेखपढ गर्न जान्ने भएको बताउनुभयो । सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरेको भए पनि दलित भनेर दयाको आधारमा सीमित हुन नचाहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दलित त मलाई समुदायले बनाएको हो म के बन्ने भन्ने त मेरो निर्णय हो जस्तो लाग्यो, त्यसपछि सिक्ने र गर्ने काम केही छोडिनँ । बोल्ने र काम गर्ने आँट भने यो सामुदायिक वनको सदस्य भएपछि बन्यो ।”बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेको चम्पामायाको भनाइ छ । सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो कार्यक्रमले हामीलाई परिवर्तन नै गरिदिएको छ ।” सानो लगानीबाट बाख्रापालन सुरू गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उहाँको भनाइ छ ।हाल सामुदायिक वनले ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम ल्याएको छभने यस कार्यक्रमले आफूहरूलाई जीवन निर्वाहका लागि निकै मद्दत पुगेको चम्पामायाको धारणा छ । पशुपति सामुदायिक वनमा जडीबुटी, डिपाट सामुदायिक वनमा प्राङ्गारिक मल र तेजपत्ता, सुनाचुरी सामुदायिक वनमा तेजपत्ता र कागतीखेती गरेर महिलाहरूले वनलाई आर्थिक स्रोतको माध्यम बनाइरहेका छन् ।
कञ्चनपुर, चैत ८ गते । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । “घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके”, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भन्नुभयो, “अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।” आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उहाँ बताउनुहुन्छ ।तीव्र रूपमा भइरहेको सहरीकरणलाई उहाँ भँगेरा विनासको कारण मान्नुहुन्छ । भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको उहाँको भनाइ छ । भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उहाँ बताउनुहुन्छ ।चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ । विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ । “ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ”, उहाँले भन्नुभयो, “खेतबारीमा किसानले विषादिको अत्यधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ ।”खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हँुदै गएको उहाँले बताउनुभयो । काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि सङ्ख्यामा कमी देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ । भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ । गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दाना र पानीको व्यवस्थाजस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सक्छौँ । भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने उहाँ सल्लाह दिनुहुन्छ । चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ । यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ [आइ लभ स्प्यारो] रहेको छ ।चरा संरक्षणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन् । चराप्रेमीले आआफ्नो घर वरिपरि २० मिनेट भँगेरा गणनाको काम गरेका छन् । कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रूखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताउनुभयो । विद्यार्थीमाझ छलफल, अन्तरक्रियालगायत कार्यक्रम पनि गरिएका छन् ।
काठमाडौँ, चैत ८ गते । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार, भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ । ती स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।
काठमाडौँ, चैत ८ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा पनि आंशिक बदली हुनेछ । कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।आगामी २४ घण्टामा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।
गायक विकास जङ्गबहादुर राणाको नयाँ गीत ‘जाले माले रुमाल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज चौलागाईंको शब्द तथा सङ्गीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गर्नुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैत ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।
आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको छ । विश्वभरिका कथाको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गर्नुभयो ।
औद्योगिक क्षेत्रमा भएको विद्युत् कटौतीलाई प्राधिकरणले गरेको लोडसेडिङ भन्दै निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाले औद्योगिक क्षेत्रमा ऊर्जाको आपूर्ति नियमित गर्न आग्रह गरेका छन् ।
पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दुका पर्यटन व्यवसायीले पोखरामा चिनियाँ पर्यटकलक्षित पूर्वाधार तयार पार्न सुझाव दिएका छन् ।
दुई वर्षदेखि खस्कँदो क्रममा रहेको अन्तर्राष्ट्रिय व्यापार केही महिनायता क्रमशः सुधारको लयमा आउन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्मको व्यापार तथ्याङ्कले विगत वर्षका तुलनामा व्यापारसम्बन्धी अधिकांश सूचक लयमा आउन थालेको देखाएको छ ।