• १० चैत २०८१, आइतबार

‘शाम्भाला’ को प्रदर्शनसँगै निफ सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ८ गते । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको छ । विश्वभरिका कथाको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गर्नुभयो । 

राष्ट्रिय सभाका अध्यक्ष दाहालले विश्व चलचित्रको बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई चिनाउन यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आठ वर्षदेखि अन्तर्राष्ट्रिय चलचित्रलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता हो । विश्व चलचित्रकर्मी र चलचित्रसँग सम्बन्धित पक्षलाई एकै ठाउँमा ल्याउन निफले महत्वपूर्ण भूमिका खेलेको छ ।” 

“डिजिटल प्रविधि एआईको प्रयोगले चलचित्रमा अवसर र चुनौती निम्ताएको छ,” उहाँले भन्नुभयो, “चुनौतीलाई अवसरमा परिणत गर्न चलचित्रकर्मी र निफले नयाँ प्रविधिलाई अपनाउने र नयाँ बजार खोज्न प्रेरित गरिरहेको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले नेपाली चलचित्र र नेपालको विविधतायुक्त संस्कृति पाकिस्तानीका लागि मात्र नभएर विश्वका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक आदानप्रदान गर्न पाकिस्तानी र नेपाली चलचित्र  निर्माता, कलाकारबिच सहकार्यको आवश्यक छ ।” 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले नेपाली चलचित्रलाई विश्व मञ्चमा जोड्ने माध्यमका रूपमा निफ भएको बताउनुभयो । पर्यटन र चलचित्र क्षेत्रको अन्तरसम्बन्धले नेपालमा विदेशी पर्यटक भित्र्याउन मद्दत पुग्ने उहाँको भनाइ छ । 

बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले बागमती प्रदेशले नेपाली चलचित्र क्षेत्रमा महत्वपूर्ण अवसर खोजिरहेको बताउनुभयो । समारोहको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्भाला’ प्रदर्शन भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएका छन् । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा प्रदर्शन भइसकेका छन् । आगामी शनिबार हुने रसियन फिल्म डेमा रुसका तीन वटा चलचित्र प्रदर्शन हुने छन् । यस पटक महोत्सवमा तीन वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप गरिएको छ । 

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई एक हजार पाँच सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने छ ।