• १४ वैशाख २०८१, शुक्रबार

भन्सार छलेर ल्याइएका कपडा बरामद

blog

भन्सार छलेर ल्याइएकाे बरामद कपडा । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, साउन २५ गते । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्का ज्वालामाई गण भालुवाङले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ । राप्ती गाउँपालिका वडा १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सो कपडा बरामद गरेको हो ।

पूर्व–पश्चिम लोकमार्गस्थित पोखराबाट तुलसीपुरतर्फ जाँदैगरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार आठसय ९० रुपियाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ हेक्का ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार अवैध रूपमा भन्सार छली लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो । बरामद सामानमा पाइन्ट सुट ५१ थान, लेडिज दुईसय ३२ पिस, ब्लाउज सुट एकसय ६ थान र सुतिका कपडा एकसय १२ थान अवैध कपडा छन् । 

पक्राउ गरी नियन्त्रणमा ल्याइएको अवैध कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजस्व कार्यालय बुटवल पठाएको छ । चाडपर्व नजिकिएसँगै दाङमा चोरी–तस्करी बढ्दैगएको छ । सवारीसाधन तथा सीमावर्ती क्षेत्रमा दैनिकजसो भन्सार छलेर अवैध रूपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् । 

अन्य समयभन्दा चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडालगायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ । छोटो समयमा बढी कमाउने ध्याउन्नमा लागेका तस्करले चाडपर्वलाई कमाउने सिजनका रूपमा लिनेगरेका छन् । नियमनकारी निकायसँग साँठगाँठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कैयौँ गुणा बढी बनाइनेगरेको जानकारहरूको भनाइ छ ।  

चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिने गरेको गुनासो बढ्दैगएको छ । पसल दर्ता नगरेका स्थानीय खुद्रा व्यापारीले नाकासँग जोडिएका भारतीय बजारबाट अवैध सामान ल्याएर बेच्ने गरेका कारण सरकारलाई राजस्व तिर्ने ठुला व्यापारीहरू मारमा पर्दैगएका छन् ।

सीमामा कडाइ गर्न निर्देशन 

अवैध रूपमा भारतबाट भित्रिने कपडामा सशस्त्र प्रहरीले कडाइ गर्न थालेको छ । कपडा तस्करी बढेको भन्दै सशस्त्र प्रहरीले भन्सारमा कडाइ गरिरहेकाले भारतीय कपडा आउन बन्द हुने बित्तिकै नेपालका स्थानीय बजार प्रवर्धन हुने विश्वास गरिएको छ । 

भारतीय बजारबाट एकसय रुपियाँभन्दा बढीको सामानमा कर लाग्ने कानुनी व्यवस्थालाई कडाइपूर्वक कार्यान्वयन गर्दा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने नेपाली उपभोक्ताको सङ्ख्या घटेको छ । भन्सार कार्यालयले कानुनबमोजिम बाहेक कुनै पनि वस्तु ल्याउन नदिने र ल्याउन पाइने वस्तुमा अनिवार्य भन्सार लिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

भन्सारले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएपछि खटिएका सशस्त्र प्रहरी बलको टोलीले एकसय रुपियाँभन्दा बढी मूल्यको सामानमा अनिवार्य भन्सार तिराएर मात्र सर्वसाधारणलाई आउन दिइरहेको छ । भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा कडाइ गर्न निर्देशन दिइएको छ । 

चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिनसक्ने भन्दै जिल्लाका सबै खुला सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दवासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्काले बताउनुभयो ।