• ७ वैशाख २०८१, शुक्रबार

डेङ्गुको सङ्क्रमण वृद्धि

स्थानीय तहले सुरु गरे लार्भा मार्ने अभियान

blog

शालिग्राम नेपाल/चितवन 

अनिल पराजुली/हेटौँडा

चितवन, साउन १६ गते । चितवन, मकवानपुरलगायतका क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण वृद्धि भएपछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गरिएको छ। 

चितवनको स्थानीय तहमा सचेतना कार्यक्रमसँगै ‘लार्भा नष्ट गर’ अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो। “अहिले स्थानीय तहको बजेटले कार्यक्रम सञ्चालन भएको छ। डेङ्गुका लागि अहिलेको वातावरण सबभन्दा उपयुक्त छ। साउन, भदौदेखि असोजसम्म सङ्क्रमण वृद्धि हुने भएकाले पानी जम्ने स्थान सफा राख्नु पर्छ,” उहाँले भन्नुभयो। 

कार्यालयका अनुसार चितवन जिल्लामा तीन दिनअघि आठ जना डेङ्गु सङ्क्रमित रहेकामा आइतबारसम्ममा १३ पुगेका छन्। १२१ जनाको परीक्षण गरिएको थियो। सङ्क्रमितमध्ये चितवनका दुई जना र बाँकी बाहिरी जिल्लाबाट उपचार गर्न आएका स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिनुभयो। 

चितवनको खैरहनी नगरपालिका क्षेत्रमा लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियान आइतबारदेखि सुरु गरिएको हो। नगरभित्र केही व्यक्तिमा यो रोगको  सङ्क्रमण भएको पाइए पनि यसको जोखिम उच्च रहेकाले नगरको सबै वडामा लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्न सुरु गरिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो। 

चितवनकै रत्ननगर नगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

रत्ननगर नगरपालिकाले लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको जानकारी दिँदै जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घर वरपर रहेका टिनका डिब्बा, थोत्रा टायर, गमला, फुलदानीलगायतमा पानी जम्न नदिन आग्रह गर्नुभयो ।

भेक्टर कन्ट्रोल निरीक्षक राखिँदै

हेटौँडा उपमहानगरपालिकाले पनि डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ। अभियान सञ्चालन गर्न उपमहानगरपालिकाले अल्पकालीन रूपमा चार जना ‘भेक्टर कन्ट्रोल निरीक्षक’ नियुक्त गर्ने निर्णय गरेको हो। 

हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले रोगको सङ्क्रमण नियन्त्रणका लागि निरीक्षक नियुक्त गरेरै काम अघि बढाउने निर्णय गरेको थियो। उपमहानगरले नगरका १९ वटै वडामा डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि कर्मचारी नियुक्त गरेर काम अगाडि बढाउन लागेको हो। 

उपमहानगरभित्र भेक्टर कन्ट्रोल निरीक्षक डेङ्गुको सम्भावित स्थानको खोजी गर्ने र नष्ट गर्ने काममा परिचालन हुने हेटौँडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो। प्रवक्ता न्यौपानेले भन्नुभयो, “डेङ्गु नियन्त्रणका लागि प्राविधिक जनशक्ति आवश्यक छ। औषधी छर्न र प्रभावकारी रूपमा डेङ्गु नियन्त्रण अभियानलाई अगाडि बढाउन ‘भेक्टर निरीक्षक’ नियुक्त गर्न लागिएको हो।” 

फिल्डमा खटिएका निरीक्षकले सङ्क्रमणको आकलन गरेको स्थानमा औषधी छर्ने, बिरामीको परीक्षणका लागि किट खरिद गर्ने र सङ्क्रमणको खोज र नष्ट गर्न स्वास्थ्य स्वयम्सेविकासहित टोल विकास संस्थालाई परिचालन गरिने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। 

चालु आर्थिक वर्षको साउन महिनामा हेटाैँडा नगरभित्रै पाँच जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्ष मकवानपुर जिल्लामा पाँच हजार ८६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो जसमध्ये हेटौँडा उपमहानगरभित्र मात्रै ७४ प्रतिशत अर्थात् चार हजार ३४३ जनामा डेङ्गु पुष्टि भएको थियो। 

उपमहानगरले डेङ्गु नियन्त्रणका लागि काम गर्न स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने छ। रोगको नियन्त्रणका लागि नागरिक आफैँ सचेत हुन जरुरी रहेको भन्दै हिँडडुल गर्दा ध्यान दिन उपमहानगरले नगरवासीलाई आग्रह गरेको छ।