हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन १३ गते । यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मुस्ताङमा उम्मेदवारी दिएका सबै उम्मेदवार आआफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन सक्रिय देखिएका छन् । मुस्ताङका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सुरु गरेपछि चुनावी चहलपहल ह्वात्तै बढेको छ । गएको माघ ६ गते मनोनयन दर्ताको एक महिनापछि सुनसान बस्तीमा अहिले उम्मेदवार गाउँ गाउँ, टोल टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् । जाडो छल्न जिल्लाबाहिर गएका मतदातासमेत फर्किन थालेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले मतदातालाई अपूरो योजनाको पूर्णतासहित आफ्नो कार्यकालमा भएका विकासनिर्माणसहितका कामको विवरण मतदातासमक्ष सुनाइरहनुभएको छ । उम्मेदवार गौचनले कोरला नाकामा भौतिक पूर्वाधार, अन्तरदेशीय सहज आवतजावत, सडक, कृषि, पर्यटन तथा जलवायु परिवर्तनका कारण स्थानीयले भोग्नु परेको समस्यालाई चुनावी एजेन्डा बनाउनुभएको छ ।
नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा डाढु विष्टले उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका जोमसोम–कोरला ११० किलोमिटर सडकखण्डको बाँकी कालोपत्रेको ढिलासुस्तीलाई हटाउने, ल्होमन्थाङ दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत, जलवायु सङ्कट, धार्मिक र पर्यटनका लागि कोरला नाकाबाट तिब्बत यात्रालाई सहज बनाउने एजेन्डा मतदातासामु राख्दै आउनुभएको छ । त्यसै गरी उहाँले विदेशी पर्यटकलाई लिने शुल्क मिनाह तथा उपल्लो मुस्ताङमा रहेको निषेधित क्षेत्र हटाएर पर्यटकको आगमनलाई सहज बनाउनेलगायतका प्रतिबद्धतासहितका विषयलाई लिएर मतदाताको घरदैलोमा पुग्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितियचन्द्र थकालीले जेनजी आन्दोलनको जगमा सम्पन्न हुन लागेको निर्वाचनबाट पुराना शक्ति विस्थापित हुने दाबी गर्दै आउनुभएको छ । थकालीले यहाँको विकासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आउनुभएको छ ।
मुस्ताङमा आमजनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचनलगायतका उम्मेदवार जिल्लाको विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएर मतदाताको घरदैलोमा पुगिरहनुभएको छ ।
जिल्लाको लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकामा तीन हजार ५५३ मतदाता र तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सात हजार ७७५ गरी कुल ११ हजार ३२८ मतदाता रहेका छन् ।