• १४ वैशाख २०८१, शुक्रबार

खोटाङका सिडिओ भोजराज खतिवडा निलम्बित

blog

राजकुमार भट्टराई 

खोटाङ, साउन ८  गते । खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । यस अघि ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् विस्तारमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।  

आर्थिक वर्ष २०७५-०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । विद्युत् विस्तारमा आवश्यक तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । उनीहरूले फर्जी बिल बनाएर ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ । 

खतिवडासँगै विद्युत् प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

भ्रष्टाचारको मुद्दा लागेपछि आइतबारबाटै खतिवडालाई निलम्बन गरेको गृह मन्त्रालयले जनाएको छ । खतिवडा निलम्बनमा परेपछि अर्का प्रजिअ पठाउने निर्णय भने भइसकेको छैन । हाललाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।