• १४ वैशाख २०८१, शुक्रबार

पक्की पुलले जोड्यो दुर्गमका बस्ती

blog

मराङ खोलामा निर्माण गरिएको पक्की पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार १५ गते । मराङ खोलामा पक्की पुल निर्माण भएसँगै दुर्गमका बस्ती सडक सञ्जालसँग जोडिएका छन् । धवलागिरि गाउँपालिकाका दुई वडा मराङ र मल्कबाङलाई सडक सञ्जाल सँग जोड्न अर्कला स्थित मराङ खोलामा पक्की पुल निर्माण गरिएको हो । 

धवलागिरि र मालिका गाउँपालिकाको सिमाना स्थित मराङ खोलामा मोटरेवल पुल निर्माण सम्पन्न भएपछि दुर्गमका बस्तीका सर्वसाधारणहरूलाई आवतजावत गर्न सहज भएको छ । 

तिन गाउँपालिका जोड्ने गरी रिङ रोडको परिकल्पना गरेर ५ वर्ष अघि निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ,विम हुँदै मराङ–मल्कवाङ र रघुगंगा गाउँपालिकाको -८ नम्बर वडा कुइनेखानी जोड्ने सडक अन्तर्गत मराङ खोलामा मोटरेवल पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । 

पुल नहुँदा यी बस्तीमा बर्सातका समयमा यातायात अवरुद्ध हुँदै आएको थियो । पुल निर्माण भएपछि धवलागिरिको वडा नम्बर ५ मल्कबाङ,६ मराङ र रघुगंगा गाउँपालिकाको ८ कुइनेखानीका स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको धवलागिरि गाउँपालिका ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । 

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुई वर्षमा सक्ने गरी फेवा सावित्री पोखराको निर्माण कम्पनीसँग २ करोड ७२ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । कोरोना महामारीका कारण थपिएको समय अवधि भित्र पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार ७ मिटर चौडाइ रहेको उक्त पुल २५ मिटर लामो छ । पुल निर्माण सम्पन्न भई यातायातका साधनहरू आवतजावत भएको उहाँले बताउनुभयो । 

मराङ खोलामा पुल बनेसँगै बर्सातका समयमा आवतजावत गर्न, बिरामीलाई अस्पताल पुर्‍याउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुको निकासीमा सहज भएको  मराङका वडाध्यक्ष  सुवेदीले बताउनुभयो । बर्सातका समयमा मल्कवाङ सम्म नै यातायातका साधनलाई सहज बनाउन अन्य साना खोलानालाहरूमा गरी ४ ठाउँमा अझै पुलको आवश्यकता भएको उहाँले बताउनुभयो ।