• १४ वैशाख २०८१, शुक्रबार

आकाशे पानीको भरमा कृषकको रोपाइँ सुरु (फोटो फिचर)

blog

रोपाइँ गर्दै धनगढीका किसान । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ११ गते । आकाशे पानीको भरमा रोपाइँ गर्दैआएका कैलालीका किसानले रोपाइँ सुरु गरेका छन् । वर्षा सुरु भएपछि कृषकहरुले धमाधम रोपाइँ थालेका हुन् । आइतबार र सोमबार विहान किसानलाई रोपाइँ गर्न पुग्नेगरी वर्षा भएपछि कृषकहरु खेतमा व्यस्त भएका छन् । 

वर्षाको पानीले साथ दिएपछि रोपाइँ थालेको धनगढी उपमहानगरपालिका –१० घुुइयाघाटका कृषक पुरन रानाले बताउनुभयो । “पानीले साथ दिएपछि रोपाइँ गर्न थालेका हौं” उहाँले भन्नुभयो, “खडेरीले गर्दा समस्या थियो । अहिले वर्षाको पानीले धेरै राहत मिलेको छ ।”

यसअघि कामदार नपाइने समस्याका कारण कतिपय किसानले खडेरीमै रोपाइँ गरेका थिए । तर सुख्खाका कारण धेरैजसो किसान पानीको पर्खाइमा बसेका थिए । पानी परेपछि धमाधम काम थालेको अर्का कृषक नरेश राना थारुले बताउनुभयो । “तयारी सबै भएको थियो” उहाँले थप्नुभयो, “पानी परेपछि काम सुरु गरिहाल्यौं ।”

पानी परेपछि किसानहरु परम्परागत र आधुनिक तरिकाले खेतीपातीको काम गर्नमा व्यस्त देखिएका छन् । कतिपय किसान अझै हलगोरुको भरमा खेतीपाती गर्दैआएका छन् भने कतिपय किसान आधुनिक मेसिन प्रयोग गरेर आधुनिक तरिकाले रोपाइँको काम गरिरहेका छन् । 

धनगढी उपमहानगरपालिकामा सिंचाइँ सुविधा छैन । यहाँका किसानले आकाशे पानी र बोरिङको भरमा रोपाइँ गर्दैआएका छन् । यसैगरी पानी परेपछि जिल्लाको अन्य क्षेत्रमा पानी किसानलाई रोपाइँ गर्न सहज भएको छ । 

कैलालीमा कुल ७६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइँ सुविधा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जसमध्ये ४८ हजार ७०० हेक्टर जमिनमा वर्षभरी सिंचाइँ हुन्छ भने २७ हजार ३०० हेक्टर जमिनमा मौसमी सिंचाइँ सुविधा पुगेको छ ।

यो जिल्लामा कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको छ । जसमध्ये ७० हजार ४०५ हेक्टर जमिनमा धान खेती हुनेगरेको छ । अघिल्लो वर्ष यो जिल्लामा प्रतिहेक्टरमा ४.७ टनको दरले धान उत्पादन भएको थियो ।