• १५ वैशाख २०८१, शनिबार

तीन पालिकाले ल्याएनन् बजेट

blog

सर्लाही, असार ११ गते । जनप्रतिनिधिबिचको आपसी द्वन्द्वका कारण सर्लाहीका तीन वटा स्थानीय तह आइतबार बजेट ल्याउन असफल भएका छन्। स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । तर विवाद रहेको यहाँका हरिपूर्वा नगरपालिका, हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिकाले बजेट ल्याउन सकेनन्। देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा अन्य पालिकाले भने आआफ्नो गाउँ तथा नगर सभामा बजेट प्रस्तुत गरेका छन्। 

चक्रघट्टा गाउँपालिका र कौडेना गाउँपालिकाले यसअघि नै बजेट ल्याइसकेका थिए। बाँकी १५ वटा पालिकाले आइतबार एकसाथ बजेट सार्वजनिक गरेका हुन्। हरिपूर्वा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी रहेकोमा आइतबारबाट तालाबन्दी खुले पनि बजेट प्रस्तुत हुन सकेन। 

चन्द्रनगर गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलित छन्। हरिवन नगरपालिकामा पनि आपसी सहमति जुट्न नसक्दा नगर सभा हुन नसकेको बुझिएको छ।