• १४ वैशाख २०८१, शुक्रबार

असिना पानीले गहुँबाली नष्ट

blog

खप्तड छेडेदह गाउँपालिका ७ मा असिना पानी नष्ट गरेको गहुँ खेती । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ ४ गते । बाजुरामा असिना पानीले गहुँबाली नष्ट पारेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो । पाकेको गहुँबाली घर भित्र्याउन नपाउँदै असिना पानीले सखाप पारेपछि यति बेला किसान निकै चिन्तित छन् ।


कात्तिकमा बेलुकी राम्रोसँग सुत्न नपाएर सिँचाइ गरेर लगाएको गहुँबाली पाकेर घर भित्र्याउने बेला असिनाले सबै नष्ट पारिदिएको खप्तड छेडेदह गाउँपालिका –७ पदमा नेपालीले बताउनुभयो । हिउँदमा दिन रात नभनी लगाएको गहुँ खेती यतिबेला असिना पानीले सबै नष्ट पारिदिएपछि के खाएर पेट पाल्ने भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो ।


असिना पानीले जिल्लाको बुढीगङ्गा, बडिमालिका गौमुल र खप्तड छेडेदह गाउँपालिकामा लगाएका गहुँबाली नष्ट पारेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । असिना पानीले बुढीगङ्गा, बडिमालिका गौमुल र खप्तड छेडेदह गाउँपालिकामा लगाएका गहुँ तथा वर्षे आलु बालीमा समेत ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘असिना पीडित किसानले कृषि विकास शाखा र वडा कार्यालयलाई तथ्याङ्क सङ्कलनमा आवश्यक समन्वय तथा सहजीकरण गरी दिनुपर्ने बताउनुभयो ।


विवरण सङ्कलन ढाँचा सबै कृषि शाखाको इमेलमा पठाइएकाले असिनापीडितले सोहीअनुसार तथ्याङ्क सङ्कलन गरी कृषि ज्ञान केन्द्रमा पठाउनुपर्ने उहाँले बताउनुभयो ।