• १५ वैशाख २०८१, शनिबार

छ लेन सडकको चोरी भएको रेलिङ कवाडी सङ्कलन केन्द्रमा फेला

blog

छ लेन सडकको चोरी भएको रेलिङ राखिएको कवाडी सङ्कलन केन्द्र । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख २१ गते। कैलालीको धनगढीस्थित मोहना पुल अत्तरिया छ लेन सडकबाट चोरी भएको रेलिङ कवाड सङ्कलन केन्द्रमा फेला परेको छ। 

चोरी भएको २१ वटा रेलिङ धनगढी उपमहानगरपालिका–४ शहीद गेट नजिक रहेको रामजानकी कवाड सङ्कलन केन्द्रमा फेला परेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो।

नगर प्रहरीले खोज अनुसन्धान गर्दा कवाड सङ्कलन केन्द्रमा रेलिङ फेला परेको उहाँले बताउनुभयो। रेलिङ चोरी गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्नका लागि धनगढी उपमहानगरपालिकाले प्रहरी प्रशासनलाई अनुरोध गरेको छ। 

भन्सारदेखि चटकपुर चौराहा क्षेत्रमा रेलिङहरु चोरी भएको थियो। उमहानगरपालिकाले छ लेन सडकमा हरियाली र सौन्दर्यीकरणका लागि सडकको मिडियनमा रोपेको बोटविरुवासमेत चोरी भइरहेका छन्। 

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा चोरी गर्न थालेपछि त्यस्ता कार्य गर्नेहरुको आलोचना भइरहेको छ। यसैगरी, छ लेन सडकको रेलिङ र बोटविरुवा चोरी हुनबाट जोगाउनका लागि ठाउँ ठाउँमा सीसी टिभी क्यामेरा जडान गर्न नगरबासीले उपमहानगरपालिकालाई सुझाव दिएका छन्।