• १४ वैशाख २०८१, शुक्रबार

पत्रकारिता यथार्थपरक हुनुपर्छ : मुख्यमन्त्री

blog

रौतहट समाचारदाता

रौतहट, वैशाख २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारिता निष्पक्ष, विश्वसनीय र यथार्थपरक हुनुपर्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।  

मुख्यमन्त्री यादवले मधेश प्रदेशका पत्रकारको हक, हित, संरक्षण र पेसागत दक्षताका लागि मधेश सरकारले चाहेजति सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । आगामी बजेटबाट मधेश प्रदेशका पत्रकारको सहयोगमा एक करोड २५ लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने र जग्गा उपलब्ध भए मधेश प्रदेश सञ्चार भवन निर्माणका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराउने वचन उहाँले दिनुभयो । 

प्रदेशमा विकास र भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने विषयमा चिन्ता लागेको उहाँले बताउनुभयो । सङ्घीय सरकारबाट भ्रष्टाचार नियन्त्रण नहुने दाबी गर्दै उहाँले सङ्घीय सरकारले प्रहरी र कर्मचारी समायोजन गर्न दिएको खण्डमा २४ घण्टाभित्र भ्रष्टाचार नियन्त्रण गरेर देखाउने अठोट गर्नुभयो ।

कार्यक्रममा रौतहटका प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, रौतहट–४ का प्रदेश सभा सदस्य युवराज भट्टराई, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाललगायत मधेश प्रदेशका पत्रकारहरूको उपस्थिति थियो ।