• १४ वैशाख २०८१, शुक्रबार

मिटरब्याजी पीडित सहायता कक्ष सञ्चालनमा

blog

जिल्ला प्रशासन कार्यालय सप्तरीमा गठन भएको मिटरब्याजी पीडित सहायता कक्षको उद्घाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी थापासहित । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) वैशाख १९ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले मिटरब्याजी पीडितको समस्या सुन्न र आवेदन लिन छुट्टै सहायता कक्ष सञ्चालनमा ल्याएको छ । मिटरब्याजी पीडितका समस्यालाई प्राथमिकतामा राखेर हेर्ने उद्देश्यले सरकारले सहायता कक्ष ल्याएकोमा स्थानीय खुसी भएका छन् । 

सरकारले सहायता कक्ष ल्याएपछि पीडितले सहज र सुलभ तरिकाले सेवा पाउँछौं भन्ने विश्वास छ, सुरुङ्गा –७ का मिटरव्याजी पीडित सुरेखा चौधरीले विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले यसअघि नै मिटरब्याजी समस्या समाधानका निम्ति पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा प्रदेशस्तरीय आयोग गठन गरिसकेको छ । आयोगकै निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले मिटरब्याजी पीडित सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र थापाले जानकारी दिनुभयो ।

मिटरब्याजी पीडितहरूको सबैभन्दा बढी उजुरी पर्ने जिल्लामध्ये एक रहेको सप्तरीमा दैनिकजसो १२–१५ वटा मिटरब्याजी पीडितले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउँदैआएका छन् । हालसम्म सप्तरीमा दुई सय ९१ वटा मिटरब्याज पीडितको मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । जसमध्ये २१ वटा फरछ्यौट गरिसकेको र अन्य प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

सरकारले मिटरब्याजी पीडितहरूले आवेदन दिन समय थप गरेसँगै प्रहरी र प्रशासनलाई दैनिकजसो मिटरब्याजी पीडितको समस्या हेर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले यस्तो सहायताकक्षको माध्यमले उहाँहरूको समस्या बुझ्न सहज हुने र पीडितहरूले निःशुल्क रुपमा निवेदन दिन पाउने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।