• ७ वैशाख २०८१, शुक्रबार

घटनामा दुई बालबालिकाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, वैशाख ७ गते । सर्लाहीमा बिहीबार दिउँसोपख भएका बेग्लाबेग्लै घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालक र चन्द्रनगर गाउँपालिकाको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो । 

ईश्वरपुर नगरपालिका –१५, बस्ने श्याम दासका छोरा वर्ष १२ का आशिषकुमार दासको आफ्नै घरको पङ्खामा रहेको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो करिब १ः१५ बजे करेन्ट लागेर घाइते बालकलाई गाउँकै एक क्लिनिकमा सामानय उपचार गरी लालबन्दीस्थित मोडेल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

यस्तै, चन्द्रनगर गाउँपालिका –२, बबरगञ्जमा नुहाउनेक्रममा पोखरीमा डुबेर मामाघर आएकी एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर स्थानीय रामप्रसाद सिंह दनुवारको पोखरीमा डुबेर सर्लाहीकै गोडैता नगरपालिका –६, बगदह बस्ने अमरेश पटेलकी छोरी वर्ष ११ की गुञ्जन पटेलको मृत्यु भएको छ । 

गुञ्जन चन्द्रनगर गाउँपालिका–४ बस्ने अनुरोध पटेलको घरमा बस्दैआएकोमा आफ्नै हजुरबुवा दुःखा राउत र हजुरआमासँगै उक्त पोखरीमा कपडा धुन र नुहाउन गएका बेला डुबेर उनको मृत्यु भएको बताइएको छ । 

बालबालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्वा पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो । सर्लाहीमा आज बिहान मात्रै लालबन्दीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो ।