• १४ वैशाख २०८१, शुक्रबार

‘डाटा इन्ट्री’ गर्न अग्लो डाँडा

blog

बैतडी समाचारदाता 

बैतडी, चैत २३ गते । विद्यालयको परीक्षाफललगायतका तथ्याङ्क अनलाइन दर्ता गर्न बैतडीका शिक्षकहरू अग्लो डाँडामा पुग्ने गरेका छन्। 

इन्टरनेट र टेलिफोनले काम नगर्दा शिक्षकहरू ल्यापटप बोकेर कागजातसहित अग्लो डाँडामा पुग्ने गरेका हुन्। पाटन नगरपालिका–७, भुवनेश्वर आधारभूत विद्यालयका शिक्षक पुष्करसिंह साउद र उदयदेव मावि किम्तोलीका शिक्षक भानसिंह पेला इन्टरनेटको खोजी गर्दै नियमित अग्लो डाँडामा पुग्नुहुन्छ।

स्थानीय भगौती डाँडा पुगेर पनि नेपाल टेलिकमको इन्टरनेटले काम नगरेपछि एनसेलको सिमबाट इन्टरनेट चलाएर कक्षा ८ को परीक्षाफल अनलाइन प्रविष्ट गरेको उहाँहरूले बताउनुभयो। 

ल्यापटप र कागजात बोकेर अग्लो डाँडामा पुगे पनि नेपाल टेलिकमको फोरजी सेवा उपलब्ध नभएको शिक्षक साउदले बताउनुभयो। एनसेलको सिम कार्डमा पनि राम्रोसँग फोरजी नेटवर्क आउँदैन। 

पाटन नगरपालिका मात्रै होइन, सिगास गाउँपालिका–१, स्थित भूमिराजस्वामी आधारभूत विद्यालय आसपासका गाउँटोलमा पनि नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन। यहाँ फोरजी सेवा त परको कुरा बादल लागेका बेला फोनको नेटवर्कसमेत चल्दैन।  पाटन नगरपालिका–१०, ठाँटा बजारमा टेलिकमको टावर निर्माण हुन सकेमा सिगास, पाटन र डडेलधुराको नवदुर्गा गाउँपालिकासम्म इन्टरनेट सेवा पुग्ने देखिन्छ। 

पाटन नगरपालिका–१ र ७ नम्बर वडाका करिब १५ वटा गाउँमा नेपाल टेलिकमको नेटवर्क र फोरजी चल्दैन। इन्टरनेट र टेलिफोन सेवा नहुँदा यहाँका विद्यालयमा सञ्चालित सूचना प्रविधि कक्षासमेत प्रभावित हुँदै आएका छन्। 

नेपाल टेलिकमले दुई वर्षअघि पाटन नगरपालिका–१, मेलचौरमा निर्माण सुरु गरेको टावरको काम पूरा नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको पाटन नगरपालिका–१, का वडाध्यक्ष तर्क ठगुन्नाले बताउनुभयो। 

नेपाल टेलिकम बैतडीका प्रमुख अजित प्याकुरेलले यहाँका अधिकांश गाउँमा विद्युत् नहुँदा सोलारबाट टावर सञ्चालन गर्नु परेको बताउनुभयो। बादल लागेका दिन ब्याट्री चार्ज नहुँदा नेटवर्कमा समस्या आउने गरेको छ। 

नेपाल टेलिकमबाट ४२ हजार पाँच सय प्रिपेड सिम, ४९२ पोस्टपेड र ल्यान्डलाइनबाट इन्टरनेट सञ्चालन गर्ने करिब एक हजार ग्राहक रहेको टेलिकम बैतडीले जनाएको छ।