• १४ वैशाख २०८१, शुक्रबार

लोकतान्त्रिक जनजाति महासङ्घको अध्यक्षमा शेर्पा

blog

महासंघको नवनिर्वाचित अध्यक्ष पासाङ शेर्पा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २१ गते । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासङ्घको दोस्रो महाधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो । महासङ्घको महासचिवमा पुनः पेम्बा गुरुङ भोटे दोहोरिनुभएको छ । 

अध्यक्षमा निर्वाचित शेर्पा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ । त्यस्तै उहाँ संविधान सभा सदस्यको पनि हुनुभएको थियो । महासचिवमा निर्वाचित पेम्बा पनि नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव तथा संविधान सभा सदस्यको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । त्यसैगरी महासङ्घको नवनिर्वाचित उपाध्यक्षमा मीना गुरुङ, विजय लोप्चन, देवनारायण चौधरी र ज्ञानेन्द्र पुन निर्वाचित हुनुभएको छ । त्यस्तै, उपमहासचिवमा देवराज राई र प्रेम श्रेष्ठ निर्वाचित हुनुभएको महासङ्घले जनाएको छ । 


आठ जना सचिवमा महिलाबाट हिरुसरा राना, मधेसबाट सर्लाहीकी शान्ति लामा पाख्रिन, बागमतीबाट मन्दिरा श्रेष्ठ, कर्णालीबाट सोना छिरिङ लामा, कोशीबाट श्याम तुमरोक, बागमतीबाट हर्कमान तामाङ, गण्डकीबाट हुम गुरुङ, लुम्बिनीबाट विवेक श्रेष्ठ निर्वाचित हुनुभएको छ । सोहीअनुसार कोषाध्यक्षमा ज्योति लामा चयन हुनुभएको छ । 

महाधिवेशनले २२१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको नवनिर्वाचित महासचिव पेम्बा भोटेले बताउनुभयो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पार्टी मुख्यालय च्यासलमा शपथग्रहण कार्यक्रम सम्पन्न भएको निवर्तमान अध्यक्ष गोकुल घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार एमाले नेता भानुभक्त ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।