• १४ वैशाख २०८१, शुक्रबार

विपत् पूर्वतयारीमा सरकार उदासीन

blog

रजनी योगी 

सुर्खेत, चैत ११ गते । गर्मीयाम सुरु भएसँगै कर्णाली प्रदेशमा आगलागीका घटना हुन थालिसकेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर ६२ वटा आगलागीका घटना भएका छन्। यसबाट दुई पुरुष र एक बालिका गरी तीन जनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्। ४३ घरमा भौतिक क्षति पुगेको छ तर प्रदेशका स्थानीय सरकारले भने यसतर्फ चासो दिएका छैनन्। 

आगलागीबाट भौतिक तथा मानवीय नोक्सानी भइरहे पनि स्थानीय सरकार यसप्रति गम्भीर बनेका छैनन्। प्रतिकार्य योजनामा पालिकाले बेवास्ता गर्दै आएका छन्। विपत्पूर्वको तयारी र क्षति न्यूनीकरणमा अधिकांश पालिकाको कुनै योजना छैन। सुर्खेतका वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाले आवश्यकताका आधारमा दमकल सञ्चालनमा ल्याएका छन्। लेकबेँसी र पञ्चपुरी नगरपालिका तथा सिम्ता, वराहताल, चिङ्गाड र चौकुने गाउँपालिकामा दमकल छैन। 

यी स्थानीय तहले दमकल खरिदको योजनासमेत बनाएका छैनन्। लेकबेँसी र पञ्चपुरी नगर क्षेत्रभित्र थुप्रै बाक्ला बस्ती छन्। पर्याप्त बजेट नहुँदा दमकल खरिदको योजना नबनेको लेकबेँसी नगरपालिकाका नगरप्रमुख उमेशकुमार पौडेलले बताउनुभयो। पालिकामा आगलागीको जोखिम रहेका बस्ती छन्। हरेक वर्ष आगलागीजन्य घटना पनि भइरहन्छन्। बजेट अभावका कारण दमकल खरिद गर्ने योजना नबनाएको पौडेलले जानकारी दिनुभयो।

नगरपालिकामा दमकल आवश्यक रहे पनि आर्थिक अभावले खरिद गर्न सक्ने अवस्था नरहेको पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले बताउनुभयो। उहाँका अनुसार दमकल खरिद गर्ने योजनासमेत बनेको छैन। नगरपालिकामा नै दमकल नहुँदा आगलागीबाट क्षति बढी हुने गरेको स्थानीयवासीले बताएका छन्। सिम्ता, वराहताल, चिङ्गाड र चौकुने गाउँपालिकाका धेरैजसो बस्तीमा सडक पुगेको छैन। ती स्थानीय तहका बस्ती आगलागीको उस्तै जोखिममा छन्। सबै स्थानमा सडक नभएकै कारण दमकलको महसुस नगरिएको जनप्रतिनिधिको जिकिर छ। 

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले नागरिकका आधारभूत आवश्यकतासमेत परिपूर्ति नभएकाले दमकल प्राथमिकतामा नरहेको बताउनुभयो। बजेट अभावकै कारण दमकल खरिद गर्ने योजना नबनाएको उहाँ बताउनुहुन्छ।

वीरेन्द्रनगर नगरपालिकाले पाँच वर्षअघिदेखि दमकल सञ्चालन गरिरहेको छ। बढ्दो सहरीकरणको अवस्थालाई ध्यानमा राखी हुन सक्ने जोखिम न्यूनीकरण गर्न दमकल सञ्चालन गरिएको नगर उपप्रमुुख नीलकण्ठ खनालले जानकारी दिनुभयो। यद्यपि दमकलको क्षमता भने न्यून छ। नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुुख प्रकाश पौडेलका अनुसार नगरपालिकामा दमकलको क्षमता चार हजार लिटरसम्म छ। 

अग्ला घरहरूमा सेवा दिन कठिनाइ भइरहेको र पानीको समस्याका कारण पनि दमकल सेवा दिन चुनौती हुने गरेको पौडेलले बताउनुभयो। यसैगरी दैलेखमा गर्मीयाममा बर्सेनि आगलागीका घटना हुँदा जनधनको क्षति हुँदै आएको छ।