• २९ वैशाख २०८१, शनिबार

स्थानीय तहले बुझेन दमकलको महत्त्व

blog

म्याग्दी समाचारदाता

म्याग्दी, फागुन १९ गते । नेपाली समाजमा एउटा उखान चर्चित छ, ‘काल बाजा बजाएर आउँदैन’ । यस्तो अवस्थामा बाजा नबजाई आएको कालसँग आत्मसमर्पण गर्नुबाहेक विकल्प नै छैन। विपत्का विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण छ। यस्तो विपत्ति भएको खण्डमा पूर्वतयारीस्वरूप चाहिने अत्यावश्यक दमकल यस जिल्लाका पाँचवटै स्थानीय तहसँग छैन। 

स्थानीय तहले दमकल खरिदका लागि चासोसमेत देखाएका छैनन्। पालिकाका लागि दमकल अनिवार्य हुन्छ। आगलागीका घटना भएको खण्डमा नियन्त्रणका लागि चाहिने दमकल अहिले जिल्लामा रहेको बेनी नगरपालिकासँग मात्रै छ।

जिल्लाभित्रका एक नगरपालिकासहित छवटामध्ये पाँचवटा स्थानीय तहमा दमकल छैन र किन्नका लागि केही पहलसम्म गरेको देखिँदैन। मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले दमकलका बारेमा केही नसोचिएको बताउनुभयो।

उहाँले जिल्लाको पश्चिमतर्फका मङ्गला, मालिका र धौलागिरि पालिकाहरू मिलेरै भए पनि दमकल व्यवस्था गरेको खण्डमा सडक सञ्जाल जोडिएको स्थानमा हुने आगलागी नियन्त्रण गर्न सकिने बताउनुभयो। गाउँपालिकामा दमकल जाने सडक सञ्जाल पुगे पनि जिल्ला सदरमुकामबाहेक अन्य स्थानमा दमकलको पहुँच पुग्न सकेको छैन। 

पश्चिम क्षेत्रको मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामध्ये कुनै एकले दमकल व्यवस्थापन गर्दा तीनवटै पालिका समेट्न सकिने मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजाको भनाइ छ। अग्नि नियन्त्रक दमकल अभाव भएको खण्डमा आगलागीबाट जनधनको क्षति हुने सम्भावना हुँदासमेत बेनी नगरपालिकाबाहेकका अन्य गाउँपालिकाले दमकलको आवश्यकता महसुस गर्न सकेका छैनन्। 

आगलागीका घटना भएको खण्डमा बेनी नगरपालिकाले अन्य स्थानीय तहहरूलाई समेत सहयोग गर्दै आएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो। “छिमेकी स्थानीय तहहरू आगलागी हुँदा प्रहरीको समन्वयमा दमकल पठाउने गरिएको छ,” उहाँले भन्नुभयो, “दूरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन हुने भए पनि पुलिसको समन्वयमा दमकल पुग्छ।”

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनले पहिलो चरणमा गाउँपालिकाको प्रशासकीय भवनका बारेमा ध्यान केन्द्रित भएकाले दोस्रो चरणमा दमकलको आवश्यकता पूर्ति हुने बताउनुभयो। सडक सुविधा भएको स्थानमा दमकल ठीक हुने भएकाले सडकको स्तरवृद्धि तथा सडक सञ्जालसँगै दमकल प्रभावकारी हुने उहाँको भनाइ छ।

सदरमुकाम बेनी बजारपछिको दोस्रो व्यापारिक केन्द्र दरवाङ, धौलागिरि गाउँपालिकाको ताकम, मङ्गला गाउँपालिकाको बाबियाचौर, अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, तातोपानी, दानालगायतका क्षेत्रमा पनि बस्ती बाक्लो हुँदै गर्दा दमकल खरिदका लागि प्रयास गरिएको छैन।